आज शहीद रामबृक्ष यादवको स्मृति दिवस । कसरी स्मरण गरिरहनुभएको छ उहाँलाई ?

शहीद कमरेड रामबृक्ष यादवको स्मृति दिवस भव्य रुपमा हाम्रो पार्टीले मानाउनु पर्दथ्यो । तथापि हामीले ससाना विचार गोष्ठी र स्मृति सभाहरु देशैभर गरिरहेका छौं । उहाँको विचारसँग मिल्ने र उहाँको जे कारणबाट सहादत भयो, त्यो विचारसँग मेल खाने हाम्रै पार्टी मात्र हो । हामीले आज आकार र संख्याका हिसाबले ठूलो र भव्य कार्यक्रम गर्न सकेनौ, उहाँको स्मृतिमा । तथापि उहाँको स्मरणमा कार्यक्रम गरेका छौं ।

तराइबाट माओवादी आन्दोलनमा थुप्रैथुप्रै नेताहरु देखा पर्नु भयो । तर उहाँजस्तो वैचारिक रुपमा निख्खर र परिपक्वता पछिका नेताहरुमा देखिएन । अरु पार्टीमा पनि देखा पर्नुभयो, तर रामबृक्ष यादव जतिको गुणवत्ता नेता कोही पनि देखिएन । यो मेरो कुरा उहाँको सहादतपछिको प्रशंसा होइन, यथार्थ नै हो ।

उहाँ दृढ, स्पस्ट र विचारप्रति निकै नै इमान्दार नेता हुनुहुन्थ्यो । उहाँको स्मृतिमा आज भइरहेका यी कार्यक्रमहरुले आज हामीहरुलाई अझ दृढ भएर अघि बढ्न प्रेरणा दिइरहेको छ ।

आज त यस्ता पार्टीहरु पनि छन्, जसले शहीद यादवको सहादतलाई भजाएर आफ्ना जनविरोधी अनुहारहरु धुने र जनविरोधी पार्टीहरुका भविष्य बनाउनेतिर लागिरहेका छन् नि ?

संशोधनवादीहरुले गर्ने विजनेस भनेको त्यही हो । संशोधनवादीहरुले के गर्छन् भने बाँचुन्जेलसम्म त्यस्ता क्रान्तिकारी नेता र नेतृत्वहरुको विजोग गराउँछन्, नाकाबन्दी गर्छन् र सिध्याउनतिर लाग्छन् । तर शहादत प्राप्त भएपछि उनीहरुप्रति जनताको जुन अगाध श्रद्धा हुन्छ, त्यसबाट फाइदा लिन अघि सर्ने गर्दछन् । ती शहीदहरुको स्मृति दिवस मनाएको नौटंकी गर्दछन् ।

अहिले क. रामवृक्ष यादवको विषयमा त्यही भइरहेको छ । हिंजो मात्र रामेछापको दोरम्बामा पुगेर प्रचण्डले भाषण गरेको मैले थाह पाए । दोरम्बामा गएर उहाँले ती शहीद र शहीद परिवारलाई के भन्ने ? कसरी संबोधन गर्ने ? शहीदका सपनाहरु ध्वस्त पार्ने उहाँ नै हो । त्यो क्रान्तिप्रति धोखाधडी र विश्वासघात गर्ने त उहाँ नै हो । ती ठाउँहरुमा पुगेर, जनतालाई भ्रममा पारेर, आफ्नो भोटवैंक सुरक्षित गर्ने भन्दा उहाँहरुको मनसुवा अरु बढी नै के पो छ र ?

आज रामवृक्ष यादवको गाउँ बरमझियामा गएर प्रम ओली र प्रचण्डले संबोधन गर्ने भन्ने मैले सुनेको छु , त्यो भनेको स्थानीय जनतामा भ्रम पैदा गर्दै शहीद यादवप्रति रहेको त्यहाँका जनताको सहानुभूति बटुल्ने मात्र हो । तर उहाँहरुको यो कसरत क्षणिक मात्र हो ।

अर्को कुरा, राज्यको साधनस्रोत प्रयोग गरेर केही फूर्तिफार्ति त देखाउन खाजिएला, तर त्यो स्थानीय जनतासँग मिलेर हामीले साफ गरिदिने छौं ।

त्यसो भए शहीद यादवको विचार र बाटो अरु कसैले पनि लिएर जान सक्दैनन् ?

जहाँसम्म क. रामबृक्ष यादवको कुरा हो, उहाँसँग मैले लामो सहकार्य गरे । अढाई तीनवर्षसम्म सँगै जेलमा पनि बस्यौं । पार्टीको भूमिगत जीवनमा पनि हामी सँगै थियौं । सिन्धुली र धनुषा जिल्ला नजिक भएका कारणले पनि हामी एउटै पार्टी व्युरोमा रहेर काम गर्यौं ।

उहाँको उद्देश्य नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु थियो । त्यो पनि नयाँ जनवादी क्रान्ति मार्फत् । उहाँमा कतै र कहीं पनि विचलन थिएन । उहाँको ठीक त्यस्तो बेलामा सहादत भयो, जतिबेला हामीले जनयुद्ध गर्नका लागि तयारी गरिरहेका थियौं ।

जनयुद्धको तयारीको सिलसिलामा उहाँ जनमोर्चाको एक जिम्मेवार नेता हुनुहुन्थ्यो । उहाँले जनकपुरमा एक सभालाई संबोधन गरेर आउँदै गर्दा उहाँको घर नजिकैको गाउँमा केही दलालहरुले उहाँको हत्याको षडयन्त्र गरे । उहाँमाथि आक्रमण भएको त्यो स्थानमा शहादत भयो । उहाँ निकै निष्ठावान र संझौता नै नगर्ने नेता हुनुहुन्थ्यो ।

आज उहाँको स्मृति दिवसमा संशोधनवादी नेताहरु, जसले नेपालमा नयाँ जनवादी क्रान्ति नै आवश्यक छैन भनेका छन्, तिनीहरुले शहीद क. रामबृक्ष यादवको स्मृति दिवस मनाइरहँदा अनौठो लागिरहेको छ । उहाँ जीवित भएको भए यही हाम्रो पार्टीमा हुनुहुने थियो । यसमा शंका नै छैन । उहाँको जीवन संगिनीको पनि एक दुर्घटनामा मृत्यु हुन पुग्यो । उहाँ र उहाँका छोराले जे सपना देखेर सहादत प्राप्त गर्नुभयो, त्यो बाटोमा अविचल भएर हिंड्नु नै उहाँप्रतिको वास्तविक सम्मान र श्रद्धा हुनजान्छ ।

अन्त्यमा, केही कुरा राखिदिनु हुन्छ कि ?

उहाँको स्मृति दिवस मनाउने सिलसलामा थुप्रो भ्रम सिर्जना गर्ने जुन क्रियााकलापहरु भइरहेका छन्, यी सबै योजनाबद्धतामा भरइरहेका छन् । जनतालाई भ्रमित पार्ने प्रयत्न भइरहेको छ । धनुषा र बरमझियाका जनताहरु सचेत छन् । त्यो सचेतना धेरै वर्षअघिदेखि शहीद क. रामबृक्ष यादवले दिइराख्नु भएको हो । क्रान्तिकारी जनताहरु क्रान्तिकारी पार्टीकै पक्षमा उभिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर