रामवृक्ष यादव अर्थात् मास्टरसाहेव भन्ने गर्नुहुन्थ्यो….

सन्दर्भ : महान सहिद रामवृक्ष यादवको २४ औं स्मृति दिवस

प्रकाशित मिति : २०७५ भाद्र २

- शक्ति लम्साल

रामवृक्ष यादवको सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित भई भागेको पाइनँ । उहाँलाई राजनीतिभित्रको सबै कुराको राम्रो ज्ञान र अनुभव थियो । त्यसै हुनाले उहाँ राजनीतिमा सँधै दिन दुई गुना रात चौगुना गरी हिंडिरहनु हुन्थ्यो, काममा क्रियाशील रहिरहनु हुन्थ्यो । उहाँ सर्वसाधारण जनमानसका सामु जति सिधासादा र सरल हुनुहुन्थ्यो, त्यति नै आफ्ना विपक्षी र दुश्मनहरुका सामु कठोर । त्यसै हुनाले त देशका सम्पूर्ण भागका क्रान्तिकारी, न्यायप्रेमी जनताले उहाँले गह्रुंगो सहादत प्राप्त गर्नुभएको यति लामो समय वितिसक्दा पनि उहाँप्रति भावपूर्ण क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दैछन्, उहाँप्रति अत्यधिक माया, स्नेह, श्रद्धा राख्छन् र भावपूर्ण श्रद्धाञ्जलीहरु अर्पण गर्दै आइरहेका छन् ।

कमरेड रामवृक्ष यादवलाई आफ्नो जीवनसँग अत्यधिक माया थियो । तर, जहाँ क्रान्तिको मैदानमा आगो फुक्ने र वर्गयुद्धमा आफूलाई लाने प्रश्न उठ्दथ्यो, त्यस बेला उहाँले आफ्नो परिवार, घर, भौतिक सम्पत्ति, छोराछोरी, बुढीआमा, स्वास्नी आदि गौण सम्झिनु हुन्थ्यो । मैले उहाँसँगको छोटो सम्पर्क र चिनारीबाट बुझेको र पाएको हृदयस्पर्शी कुरा के थियो भने, “हामी जहिले पनि राज्यसत्ता र प्रतिक्रियावादीहरुको षड्यन्त्रमा परी आफ्नो ज्यान गुमाउन नपर्ला भन्ने स्थिति कसैले नसोचे पनि हुन्छ । हामी राजनीतिमा पर्सिएका व्यक्ति हौं । आज हामी सबै सँगसँगै छौं, उठबस, खानपिन, गम्भीर छलफल, मनोरञ्जन गरिराखेका छौं । हुन सक्दछ हामीमध्ये कोही पनि कहिले पनि स्वाभाविक मृत्यु, दुर्घटना र हत्याको शिकार हुन सक्दछौं । मृत्यु सामान्य मान्छेका लागि अशुभ संकेत हो, तर हाम्रो मृत्यु भनेको तपाईं हामी राजनीतिक कार्यकर्ताहरुका लागि क्रान्तिको आगो बाल्ने एउटा सुकेको सलाइएको काँटी हो । एउटा स्प्रिट र उर्जा हो ।” कमरेड यादवले यो कुरा आफ्नो हत्या हुनुभन्दा २० दिनअघि एकरातसँगै विताउँदा कुराको सिलसिलामा भन्नुभएको थियो । उहाँको यो कुरा सुनेपछि हामी सँगै रहनु भएका क.मातृकाप्रसाद यादवले मुस्कुराउँदै, आँखाका नानीहरुलाई चारैतिर दौडाउँदै आफ्नो मैथली भाषामा भन्नुभएको थियो– “कमरेड ! मास्टरसाहेवले ठीक कुरा गर्नुभयो । अब केही वर्षपछि नभन्दै हामीमध्ये कैयौंले आउने वर्गयुद्धको रापिलो मैदानमा आफूलाई आहुती दिनुपर्ने दिन नजिकिंदै आइराखेको म टड्कारो रुपमा देखिराखेको छु । त्यसो हुनाले हामीले आफूलाई मानसिक र भौतिक रुपले तयार राख्नुपर्दछ ।” ‘ठीक कहिल छी कमरेड मास्टरसाहेव’ भनेको २२ दिनपछि नेपाली र भारतीय पेशेवर गुन्डा, हत्याराहरुको हातबाट क.रामवृक्षले सहादत प्राप्त गर्नुभयो ।

‘आफ्नो स्वतन्त्रता र स्वाभिमानको लागि रुस, चीन, भारत, कोरिया, भियतनाम, अमेरिका, टर्की, फ्रान्स, मिश्रका असंख्य जनता र क्रान्तिकारीहरुले लडेको, ठूल्ठूलो आहुती प्राप्त गरेको, त्याग र बलिदानको उच्चतम उदाहरणहरु प्रस्तुत गर्न सफल भएको पढ्दा, कुराकानीहरु सुन्दा प्रारम्भमा मलाई पनि यसको नक्कल गर्नु पर्दछ, अनुकरण गर्नुपर्दछ भन्ने राष्ट्रिय भावना जागेर आयो । तर, त्यतिखेर म आफ्नो मास्टरी पेसामा लागेको, घरपरिवार हेरिराखेको, चलाइराखेको हुनाले सिर्फ नककल गर्ने भन्ने कुराले मात्र आफूलाई छुन पुग्यो । तर, आफ्नै देशमा यसको झण्डालाई मजबुतिका साथ कसरी गाड्न सकिन्छ भन्ने कुरा सोच्न सकिन ।’ क.रामवृक्ष यादवले यो कुरा अयोध्यामा पहिलोपल्ट परिचय भई उठबस हुँदा क्रान्तिकारीहरु कसरी के गरी वामपन्थी राजनीतितिर आकर्षित हुन्छन् र स्थापित हुन पुग्छन् भनी कुरा चल्दा उहाँले ‘म त सुरुको नकल्ली हुँ’ भनी भन्नुभयो । अनि त्यसको प्रत्युत्तरमा मैले भनेँ– ‘सुरुमा त जसले पनि नक्कलै गरेर सिकेका हुन्छन् । जुनसुकै क्षेत्र पनि प्रारम्भिक अवस्थामा नक्कलै सेम्बुलिक हुन्छ । पछि जबजब उनीहरुको अध्ययन र अनुभव तिखारिंदै जान्छ, बुझ्दै, सिक्दै, ठक्कर खाँदै जान्छन् किशोरहरु पनि बुढा परिपक्व हुन पुग्छन् ।’ उहाँ कुशल गायक तथा संगीतकार पनि हुनुहुन्थ्यो । मैले उहाँलाई ‘तपाई त राम्रो गायक, वाद्यवादक पनि हुनुहुँदोरहेछ । तपाईंको यो पक्ष यति सवल, प्रभावशाली होला भनी मैले चिताएको पनि थिइनँ । तपाईंको मधुर गलाबाट निस्केको गीतको धुन र शब्द सुन्दा, ढोलकको आवाज र हार्मोनियमको कर्णप्रिय औंलाको चालले उत्पन्न गरेको ध्वनी–तरंग सुन्दा तपाईंले त राजनीतिलाई आफ्नो सामान्य कार्यशैली मात्र बनाएर यो संगीतकै क्षेत्रमा तल्लीन भएर हिंडेको भए पनि अन्ततोगत्वा संगीत, साँस्कृतिक क्षेत्रको तपाईं पनि गैरी कपुर, विथोविन, पाल राब्सन आदि हुन सक्नुहुन्थ्यो होला’ भन्दा उहाँले मेरो कुराको तुरुन्तै प्रतिउत्तर दिंदै भन्नुभयो, ‘मलाई गाना बजाना र संगीतप्रतिको अत्यधिक आकर्षण, प्रेम र स्नेह सुरुदेखि नै थियो । तर, जसरी म राजनीतितिर खिचिदै, आकर्षित हुँदै, बुझ्दै र जान्दै आएँ त्यसपछि मैले के सोचें भने नेपाली जनताको वर्तमान स्थितिलाई फेर्नका लागि त राजनीति नै प्रमुख हतियार हो । संगीत त त्यसैसँग सम्बन्धित एउटा प्रभावशाली अंग मात्र हो, हामीले मनोरञ्जनको वस्तुलाई गम्भीर बनाउन सक्दछौं ।’ क.रामवृक्ष यादवले आफ्नो क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी–माओवादी संगठनात्मक क्रियाकलापको निर्माण र उठानमा जुन प्रभावशाली भूमिका पूरा गर्न सफल हुनुभयो, सबै जनमानसलाई आफूतिर आकर्षित गर्न र तान्नसक्नु भयो, त्यतिकै गीत र संगीतद्वारा पनि आफ्नो प्रभाव चिरस्थायी रुपमा दिन र छोड्न सफल हुनुभयो । उहाँ आफै गीत लेख्नुहुन्थ्यो र आफै संगीत र स्वर दिनुहुन्थ्यो । उहाँ अध्ययनशील पनि हुनुहुन्थ्यो । बारम्बार झूठ, षड्यन्त्र, धोखाधडी, विश्वासघातलाई लिएर बचपनदेखि नै उहाँमा उग्र किसिमको घृणा र प्रतिकारात्मक रोष थियो । अनि उहाँ सँधै झुठो बोल्ने आदतसँग सतर्क रहने गर्नुहुन्थ्यो । क.रामवृक्ष यादव भन्ने गर्नुहुन्थ्यो, “झुठो बोल्ने प्रवृत्ति हावी हुँदै गयो भने त्यसले सही कुरा भन्नुपर्ने भन्ने शक्तिलाई हामीबाट खोसिदिएको हुन्छ । एउटा राजनीतिक कार्यकर्ता र नेता त्यसमा पनि सर्वहारावादी, माक्र्सवादी क्रान्तिकारीहरुमा सही कुरा भन्न र राख्न सक्ने चौखण्ड साहस हुनु आवश्यक छ । दुश्मन र गुप्तचरको चंगुलमा फँस्दा र आफ्नो अस्मितालाई बचाउनु पर्दा हजार झुठ पनि बोल्नुपर्ने खण्ड आइपर्छ तर आफ्नो पार्टीभित्र, परिवारभित्र, अति घनिष्ठ परिचित मित्रहरुको बीच त सफा, साँचो र खरो कुरा गर्नैपर्छ, राख्नैपर्छ । अहिलेसम्म कैयौं विध्नवाधा, घातप्रतिघात, षड्यन्त्र, धोकाका बीच पनि म बाँचेर हिंड्न सकेको, दुस्मन र विरोधीहरुले मेरो स्वाभिमानलाई किन्न र झुकाउन नसक्नाको खास कारण म बचपनदेखि नै अति स्वाभिमानी हुनु हो । त्यसो हुनाले नै मेरो स्तिेदारहरु, प्रशासन, प्रहरीहरु, प्रतिपक्षीभित्र मत राख्ने राजनीतिक पार्टीका नेता र सक्रिय कार्यकर्ताहरुलगायत कुनै पनि माइको लालले आजसम्म मलाई आफ्नो धन, रोष, प्रतिष्ठा, मानसम्मान र दबाबबाट विभिन्न प्रकारका लोभ, लालच देखाएर झुकाउन सकेका छैनन्, न त म नै झुकेको छु । जहाँ व्यक्तिगत सम्पत्तिप्रतिको माया, मोह, लोभ, लालच हुन्न, त्यहाँ मान्छे सजिलैसँग सम्मान र प्रतिष्ठा साथ बाँच्न सक्छ ।” “यादवजी, मेरो दृष्टि र हेराइमा त मैले तपाईंलाई स्वाभिमानी मात्र होइन, धैरै सरल, नम्र पनि पाएँ ।’ मैले उहाँप्रति लागेको आफ्नो भनाइलाई यसरी व्यक्त गरेपछि उहाँ करिब–करिब १५ मिनेट जति खुब घोरिनु भयो र त्यसपछि केही मुन्टो माथि उठाउँदै भन्नुभयो– ‘साँच्चै कमरेड ! हाम्रै साथीहरुबीच र बाहिर पनि साधारण, अति नम्र स्वभाव भएको भनी बारम्बार उल्लेख गर्ने गरेको मैले पाएको छु । नम्रता, सरलता हाम्रो मैथिली जातीय संस्कार पनि हो । यो मैले वंशानुगत रुपमा मेरो बाबुआमाबाट पाएको गुण हो । हो, म आफ्नो दिवंगत बाबुआमाको केही झिना स्वभाव र मसिना व्यवहारप्रति असहमत छु तर म उहाँहरुलाई सम्मानका साथ हेर्ने, व्यवहार गर्ने गर्दछु ।’

‘कमरेड तपाइँ यो क्रान्तिकारी वर्गीय राजनीतिप्रति कसरी आकर्षित भएर लाग्नुभयो त’ भन्ने मेरो एउटा प्रश्नको उत्तरमा पछिल्लो तेस्रो पल्टको चितवनको भेटघाट, बसाइ र उठबसमा उहाँले भन्नुभयो– ‘सायद मैले यो कुरा कसैको अगाडि व्यक्त गरेँ या गरेको छैन त्यो मलाई ठीकसँग सम्झना छैन तर वामपन्थी राजनीतिप्रति मेरो असाधारण आकर्षण र मेरो वर्तमान परिस्थितिले नै मलाई माक्र्सवादप्रति आकर्षित हुन र क्रान्ति र वर्गसंघर्षप्रति निष्ठासाथ लाग्न प्रेरित र प्रोत्साहित ग¥यो । आफ्नो वरिपरि जुन घटना घट्ने गथ्र्यो, यहाँका सामन्त, सुदखोर, जग्गाधनी, शोषक, प्रतिक्रियावादी, राजनीतिक अपराधर्कीहरुबाट आम दिन हुने गरेका कार्यहरु, अपराध र हत्या, दमन, बलात्कार, लुट–खसौट अग्निकाण्ड, प्रहरी दमन र प्रशासनिक हस्तक्षेप आदिले उत्पन्न गरेका व्यवहारलाई मैले नजिकैबाट ध्यानपूर्वक हर्ने गर्दथे । वर्तमान आर्थिक र राजनीतिक परिपाटीको जुन राज्यसत्ता छ, त्यसले हाम्रो पछौटे स्थितिमा रहेका युवाहरुका लागि विकासका सबै ढोकाहरु बन्द गरिदिएको स्थिति थियो । स्थिति अति नै कहालीलाग्दो, कठिन थियो । यसलाई मैले कहिले पनि सामान्य हिसाबले लिइनँ । तसर्थ मेरो लगन, गम्भीर स्वभाव अनि आफ्नो क्षेत्र, इलाकाका ग्रामीण जनताप्रतिको उत्तरदायित्वले नै मलाई कम्युनिष्ट क्रान्तिकारी राजनीतितर्फ आकर्षण ग¥यो । अर्को कुरा घरमा म माथि कुनै पनि किसिमको अंकुश थिएन । मेरो बाबुपछिको घरको म नै जिम्मेवार व्यक्ति भएको हुनाले मैले छिट्टै आफूलाई राजनीतिमा लगाउन सकैं । त्यस्तो प्रहरी, प्रशासन, अपराधकर्मी, पञ्च, कांग्रेसी गुन्डा आदिले प्रतिदिन आएर जनताको बीच आतंकको सिर्जना गर्ने, प्रत्येक इमान्दार मान्छेलाई चोरी, डकैती, हत्या आदिको अपराधमा फसाउँदै प्रहरीले आफ्नो चंगुलमा पारी हत्कडी लगाउँदै, लठ्ठीले बेस्सरी चुट्दै, हातखुट्टा भाँच्दै आफ्नो आँखा अगाडि प्रहरीकर्मी, अपराधी राजनीतिकर्मीहरुले स्वास्नीमान्छे, युवतीहरुलाई बलात्कार गर्ने, सताउने, यातना दिने आदिले त्यसप्रति विद्रोह र त्यसप्रतिको प्रतिशोधको भावना उत्पन्न नगरिदिएको भए म या त मास्टरजी मात्र भएर बस्दथेँ या हार्मोनियम–ढोलक आस्ताद, गायक, संगीतमास्टर मात्र हुन्थेँ ।’ मैले आफ्नो अझै बाँकी केही कुरालाई सम्झना गर्दै प्रश्नहरु अघि सारेपछि उहाँले भन्नुभयो– ‘कमरेड ! म सुरुमा गान्धीजीको सरलताबाट प्रभावित भएको व्यक्ति हुँ । त्यसपछि आर्यसमाजी भारतीय आन्दोलनबाट प्रभावित भएँ, केही रुपमा धर्मबाट पनि । जब मैले कुराहरु बुझ्दै र सिक्दै आएँ, जब थुप्रै मानिसहरुबाट गान्धीजीको बाटो छोड्दै क्रान्तिकारीहरुको बाटोतिर आकर्षित हुँदै आएको पाएँ, नौजवानहरु कम्युनिष्ट आन्दोलन–वर्गसंघर्षहरु भएको पढें, बुझेँ, सुनेँ, रुसको महान् अक्टुबर क्रान्ति, चीनको नयाँ जनवादी क्रान्तिलाई बुझ्न र पढ्न पाएँ, माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, होचिमिन्ह, भगतसिंह, सुभाषचन्द्र बोस, गंगालाल, भीमदत्त पन्त आदिका साहसपूर्ण कार्यहरु त्याग तथा बलिदानको लौमहर्षका जीवनी पढेर त्यसबाट प्रभावित हुन थालेँ । त्यसपछि नै मैले आफ्नो जीवनको कार्यक्षेत्रको रोजाइ राजनीतिलाई नै बनाएँ । अनि मैले आफ्नो जीवनमा आफूलाई भित्र र बाहिरबाट सिद्धान्त र व्यवहारमा एउटा सच्चा क्रान्तिकारी लडाकु, संघर्षशील कम्युनिष्ट कार्यकर्ताको रुपमा ढाल्ने प्रयास गरेँ । कम्युनिष्ट पार्टीमा प्रवेश गरिसकेपछि मैले दुई–तीन चिजलाई आफ्नो जीवनमा बडो खरो रुपमा उतार्ने काम गरैँ, त्यो हो पहिलो, मैले आफ्नो दुश्मनप्रतिको वर्गीय प्रतिशोधको भावनालाई आफ्नो हृदयबाट कहिले पनि हटाउने प्रयास गरिनँ । दोस्रो, आफ्नो राजनीतिमा वर्गीय द्वन्द्ववादलाई सँधै अंगीकार गरेर हिड्ने गरेँ । तेस्रो, वर्गीय घृणाको मैले कहिल्यै पनि उपेक्षा गर्ने गरिनँ । चौथो, आफूलाई मात्र होइन, आफ्नो घर, परिवार, स्वास्नी, छोराछोरी सबैलाई सर्वहाराकरण गर्ने र कम्युनिष्ट स्प्रिटबाट काममा लगाउने काम गरैँ । मलाई यसमा असन्तोष छैन । यसप्रति कुनै पनि किसिमको वितृष्णा र पश्चाताप छैन ।’
एक आमा, एक पत्नी, एक छोरा, दुई विवाहित छोरीहरु र दुई नाबालक छोरीहरु छोडेर जानु भएको कमरेड यादवबाट मैले सिकेको कुरा र उहाँको केही छोटो समयको विभिन्न बेलाको सद्भावबाट मैले पाएको प्रेरणा भनेको के हो भने क्रान्तिप्रति अगाध आस्था र विश्वास राखी त्यसमा निरन्तर रुपबाट आफूलाई परिचालन गरिराख्नु हो । आम्दानीको कुनै स्रोत र खाने, सुत्ने, बस्ने ठेगान नहुँदा पनि आफ्नो क्रान्तिकारी कार्यकर्ताहरुका बीच रही ‘पार्टी नै मैरो लागि सबथोक हो‘ भनी त्यसमा समर्पित भई र क्रियाशील भई आफूलाई अनि आफ्नो जीवनको बाँकी भागलाई पनि क्रान्तिको लागि हिडिराख्नुभएको यादव साच्चिकैको लडाकु, संघर्षशील, क्रान्तिकारी नेता, लेखक, गायक र संगीतबाधक हुनुहुन्थ्यो । क.यादवले क्रान्तिकारी राजनीतिमा आफूलाई होमेर कहिल्यै पनि आफूलाई न त अपराधीको रुपमा प्रस्तुत गर्नुभयो, न त कुनै प्रकारको अपराध नै गरेको अनुभूत गर्नुभयो । उहाँको जीवनकार्य भनेको जनता र पार्टीप्रति समर्पित जीवनै थियो । (कलम, वर्ष ५, अंक २, पूर्णाङ्क १८, फागुन–बैशाख, २०५४–५५ बाट)