क्रान्तिकारी युवा लिगको संगठन विस्तार कसरी भइरहेको छ ?

हामी संगठन निर्माणको प्रक्रियामा छौं । केन्द्र निर्माणपछि प्रदेश र स्थानीय तह नगरपालिका र गाउँपालिका स्तरमा संगठन बिस्तार भइरहेको छ । संगठन बिस्तारसँगै यसलाई विचारसँग जोड्ने र त्यसमा क्रियाशीलता ल्याउने कुरामा ध्यान दिनु जरुरी छ । क्रियाशीलता आएमा युवाहरुको भूमिका स्वतः माथि उठिहाल्छ ।

हार्दिक शुभकामना !

युवाहरुको भूमिका र क्रियाशीलताले पार्टीमा ठूलो प्रभाव पार्छ । यो अन्तरसम्बन्धलाई हामीले बुझेका छौैं । युवाहरुलाई अधिकारका लागि अगाडि बढ्न प्रेरित गर्न जरुरी छ । संगठन निर्माण संघर्ष उठाउनु र लक्ष्य प्राप्ति गर्नुसँग जोडिएको छ ।

संगठन निर्माणमा आइपरेका समस्याहरु के के हुन् ?

युवाहरुमा अहिले क्रान्तिले ‘सेटब्याक’ खाएपछि आत्मकेन्द्रित व्यक्तिवादले काम गरेको छ । वैचारिक रुपमा यो निकै खतरनाक छ ।
देशकोे सन्दर्भमा हेर्दा राष्ट्रिय आत्मसमर्पणवादले काम गरेको छ । त्यसको प्रभाव पनि नराम्रो गरी परेको छ । राष्ट्र र समाज भन्दा पनि आफू कसरी ‘सेटल’ हुने भन्ने समस्याले सताएको देखिन्छ । पैसा प्रमुख भएर गएको छ । कसरी पैसा कमाउने भन्ने सोचले विदेशतिर जान बढी प्रेरित गर्दै आएको छ । निम्नपुँजीवादी धरातालमा यो सोचले ठूलो विचलन ल्याउँछ पनि । यसले विदेश पलाएन गराउँछ । अहिलेको राज्यसत्ताले यसै कमजोरीमाथि खेलिरहेको छ ।

युवाहरु गलत नै छन् भन्ने छैन । प्रशासन र सरकारले गरेका ज्यादतीहरुका विरुद्ध युवाहरु लडेका छन् । युवाहरुमा विद्रोही चेत, शारीरिक बल र आवेग बढी नै हुन्छ । उनीहरु विद्रोही हुन्छन्, स्वभावैले । हरेक आन्दोलनमा युवाहरु नै अघि हुन्छन् । पहिले त आत्मविश्वास दिलाउनु पर्छ । जोड्नु पर्छ । त्यो पनि अर्काे समस्या हो । त्यो हल गर्नु पर्छ ।

युवा अवस्था भनेको कमाइ गर्ने अवस्था पनि हो । परिवार तथा समाजमा आर्थिक उत्पादन शक्ति भनेका युवा नै हुन् । युवाहरुमाथि परिवार, समाज र देशको ठूलो आर्थिक भार पनि हुन्छ । यसको दबाब युवाहरुमा हुन्छ । यसका साथै युवाहरुमा भएको राजनीतिक वितृष्णा कम गर्दै राजनीतिक आकर्षण दिलाउन सक्नुपर्छ ।

अर्को तर्फ साम्राज्यवादले युवाहरुलाई फसाउन, कुलतमा लगाउन, सिध्याउन र आफ्नो संस्कृतिमा रुमल्याउन निकै धनरासी लगानी गरिरहेको हुन्छ । साम्राज्यवादको जालझेल र षड्यन्त्रलाई पनि बुझ्न सक्नुपर्दछ । नत्र भने यसले आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा भ्रष्ट बनाउन बेर लगाउँदैन ।

जनजीविकाका कुराहरु हल गर्न केके माग राखेर संघर्ष गर्न सकिएला ?

राज्यसत्ताले चाहेमा केही मात्रात्मक र सुधारवादी कदमहरु चाल्न सक्छ । यो युवाहरुको, समाजको र देशको सबै समस्या हल गर्न सकिने विकल्प त होइन, तथापि यसले सापेक्षतामा केही मात्रात्मक हल भने दिन सक्छ । तर नेपालमा सरकार यसका लागि तयार छैन । यो त थप युवाहरु विदेशमा कसरी बेच्न सकिन्छ भनेर मौका हेरेर बसिरहेको छ ।

नेपाल प्राकृतिक स्रोत साधनका हिसाबले निकै नै धनी छ । यो प्रचुरता संसारका अन्य मुलुकहरुमा बिरलै पाइन्छ । यहाँ कुषि उद्योग, खानी उद्योग, कुटिर उद्योग, कृषि आधुनिक उत्पादन, नगदेबालीको उत्पादन, मिस्रित खेती र बजार व्यवस्थापन आदि सबै गर्न सकिन्छ । तर त्यसका लागि सरकारी नीति र योजना तथा कार्यक्रमहरु केही पनि छैनन् ।

कृषि विज्ञहरुको भनाइ त कतिसम्म पनि छ भने यदि कोशीको पानी प्रदेश नं. २ मा मात्र ल्याएर सिंचाइ गरी खेती गरिने हो भने त्यहाँ गरिएको एक वर्षे खेतीबाट नेपालको कूल जनसंख्या तीन वर्षसम्म बसेर खाँदा पनि त्यो बाँकी बच्दछ । यो संभावनालाई यो सरकारले बेवास्ता गरेको छ र भारतसित कृषि साझेदारी गरी तराइका जमिन पनि उल्टै लिजमा दिन तयार रहेको छ । कोशी नदी बेचेर पानी उपयोगको संभावनालाई पनि यी सरकारहरुले असंभव बनाइदिएका छन् । यी कुराहरुलाई लिएर आन्दोलन गर्न सकिने राम्रो संभावना छ ।

वैदेशिक हस्तक्षेपबाट कसरी बचाउन सकिएला यी संपदाहरु ?

यसका लागि कृषि सहकारीकरण गरिनु पर्छ देशभर । यो कृषि सहकारीकरणलाई आत्मनिर्भर अर्थतन्त्रको विकासको बाटोमा डोर्याउनु पर्छ । बहुराष्ट्रिय कम्पनी र तिनका लगानीहरुलाई अस्वीकार गरिनुपर्छ । स्रोत दोहन गरेर नेपाली जनतालाई गरीब बनाउने उनीहरुको योजना बिफल पारिदिनु पर्छ ।

विदेशी शक्तिहरु नेपालको अन्तरविरोध र समस्याहरु चर्काउन चाहन्छन् आफ्नो फाइदाका लागि । हामी विकल्पसहित हाम्रा समस्या समाधानको बाटोमा संघर्ष मार्फत् भए पनि अघि बढ्नु पर्दछ । हामीलाई हाम्रा विकल्प र मौकाहरुबाट बेदखल गरेर आफ्नो काम गर्ने बनाउने साम्राज्यवादी योजना र कार्यक्रमलाई देशी जनविरोधी शक्तिसँगै बिफल पारिदिनु पर्दछ । यसका ठाउँमा जनमुखी र देश बनाउने कार्यक्रम र योजनाहरु ल्याउनु पर्छ ।

देश र जनताका लागि जे कामहरु बढी उपयोगी र सिर्जनात्मक छन्, तिनलाई प्रयोग गर्नु पर्दछ । जनतालाई ती योजना र कार्यक्रमहरुमा विश्वस्त बनाउँदै युवाहरु अघि बढ्नु पर्छ ।

तत्कालका लागि के कस्ता संघर्षका कार्यक्रमहरु बनाउन सकिने सम्भावना छ ?

पहिलो त, राज्यको निजी कामको विरुद्धमा युवाहरु जानु पर्छ । उद्योग कलकारखाना राष्ट्रियकरण गर्नुपर्छ । यसले स्वदेशमा औद्योगिक क्षेत्रमा सेवा प्रदान गर्दछ । दोस्रो, जनताको देशको सम्पतिको संरक्षण गर्न जनतालाई नै दिनु पर्छ । ललितपुरको हरिसिद्धि इट्टा कारखाना सरकारले बेच्यो, निजीकरण ग¥यो । हाल किन्ने मन्छेले सयौं रोपनी जग्गा बेचेर खाइरहेको छ, त्यो जनताको सम्पत्ति हो । यसमा सरकारको कुनै वास्ता छैन । परिवार अमेरिकामा पठाएको छ, पैसा स्वीट्जरल्याण्डको बैंकमा जम्मा गरेको छ । यी सारा देशका सम्पत्ति राष्ट्रियकरण गरिनु पर्दछ । स्थानीय जनताको सहभागितामा उक्त सम्पत्ति सञ्चालनमा ल्याउनु पर्छ, यसका लागि राज्यले जिम्मा लिनु पर्दछ ।

बेरोजगारको समस्या हल गर्न दोस्रो स्टेप कृषि विकास र कृषि उद्योग हो । सहकारी मार्फत यी सबै चलाउन सकिन्छ । यो संघर्षको अर्को माग हुन सक्छ । कृषि तथा उद्योगबाट उत्पादित बस्तुहरु विक्रि वितरण सरकार स्वयम्ले गर्नु पर्दछ । अरु देशहरुसँग भएका व्यापार तथा पारवाहन सन्धि सम्झौताअनुसार उनीहरुको देशको उत्पादन पनि भित्र्याउने र हाम्रो पनि विक्रि गराउने गर्नु पर्दछ । यसलाई संघर्षका रुपमा अघि बढाउनु पर्दछ । सहुलियत ऋण र अनुदानको माग गरेर आन्दोलन गरिनु पर्दछ । साना उद्योगहरु स्थापनाका लागि संघर्ष उठान गर्नु पर्दछ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ ।

अन्य युवा संगठनहरुसँग संघर्षका लागि छलफल र सहकार्य भएको छ ?

केही संगठनहरुसँग त छलफल चलेको छ, तर निस्कर्षमा पुगेको छैन । हामी अल्पकालीन र दीर्घकालीन संघर्ष योजनाहरु बनाउने सोचमा छौं । तात्कालीन संघर्षहरुले केही सुधारहरु ल्याउन सहयोग गरेपनि दीर्घकालीन संघर्षहरुले राज्य सत्तामा उथलपुथल ल्याउन सहयोग गर्ने छन् ।

(महर्जन क्रान्तिकारी युवा लिगका केन्द्रीय संयोजक हुन्.)

प्रतिक्रिया

सम्बन्धित खवर