आषाढको वर्षे झरिसँगै म सुदुरपश्चिमतिर लागे । उपत्यका वरिपरि काम गरिरहेकाले सुदुरपश्चिम जाँदा स्वभाविक रुपमा नयाँ र नौलो पनि हुने छ भन्ने लागेको थियो । बसको लामो यात्रा गरेर म सुदुरपश्चिम पुगे । पहिले त्यहाँको भाषा एकदमै नौलोे लाग्यो । नेपालको पूर्वी बेल्टलाई हेर्ने दृष्टिकोण पनि नौलो लाग्यो । त्यहाँको आम मनोविज्ञान भनेको पूर्वका साशकहरु हुन् र तिनले हामी पश्चिमाहरुलाई शासित बनाउँछन् भन्ने रहेछ । त्यो कुरा पार्टी, नेता, कार्यकर्ता, कर्मचारी सम्म पनि देखिन्छ । पूर्वीयाहरुले जति सुकै राम्रो व्यवहार गरे पनि पूर्वियाहरु पूर्विया नै हुन्, शासक हुन् भन्ने मनोविज्ञान जब्बर रहेछ ।

हार्दिक शुभकामना !

भौगोलिक रुपले निकै विकटता, केन्द्र सरकारले नियोजित रुपमा पछि पारेको जस्तो देखिन्छ । बाटोघाटो, भौतिक पूर्वाधार निर्माण आदि सबै हिसाबले पछि पारिएको छ । बाटाहरु निकै घुमाउरा र कुनै कुनै त बस्ती नछोएका पनि छन् ।

मलाई त काठमाडौँ–मकवानपुरको बाईरोड जस्तै लाग्यो । भूबनोटको हिसाबले पनि यस्तो भएको हुनु पर्छ । अर्काे कुरो नेपाल एउटा देश भएर पनि राम्रो हेलमेल नभएर होला । पूर्विया र पश्चिमा नेपाली भिन्दै भए जस्तो ।

भूगोलको हिसाबले काठमाडौँको त के कुरा गरौ, नेपालगञ्जसम्म आउन पनि उनीहरु धेरै टाढा मान्दा रहेछन् । त्यहाँबाट दिल्ली जान नजिक मान्दा रहेछन् । सजिलो पनि । यो त हेलमेल, मनोविज्ञान र सम्पर्क सम्बन्धमा असर पर्ने कुरा हो । कर्णालीमा पुल नबन्नु पनि यसको एउटा कारण हो । कर्णालीमा २०÷२५ वर्ष भयो होला पुल बनेको पनि । पूर्वी र पश्चिमी नेपाल जोडिएको बढीमा दुई दशक त भयो । त्यसैले पनि पूर्विया र पश्चिमा नेपालीहरु बीच हिमचिम र जनस्तरमा सहकार्य पनि थोरै र अपुग छ ।

पहिलोे सत्ता र व्यवस्थामा पहुँच भएकाहरुका लागि काठमाडौं आउजाउ निकै सहज छ । तर, आम जनताका लागि निकै कठिन छ । त्यहाँ बसेका जनतालाई कैलाश पर्वत यात्रा गरे जस्तो छ राजधानीको यात्रा । पश्चिम नेपाललाई काठमाडौँका शासकहरुले केवल प्रयोग गर्ने मात्र गरे कि भन्ने पनि देखिन्छ ।

त्यहाँ सामाजिक व्यवस्थाका हिसाबले पनि पुरानै परम्परा कायम छ । कुत वा कर तिर्न नसकेकाले ती ऋणीहरुलाई इण्डिया लगेर बेचेर कुत वा कर वा ऋण असुलउपर गरेको भन्ने कुराहरु हिजोका दिनसम्म जिउँदै छन् । यसको अर्थ पुरानै परम्परा कायमै छन् । उनीहरुको राष्ट्र र राष्ट्रियताप्रति लगाव निकै छ, तर केन्द्रिय सरकार र शासकविरुद्द निकै आक्रोशित र बेखुशी छन् । राजनीतिक दलहरुसँग पनि उनीहरु सन्तुष्ट छैनन् ।

सुदुर पश्चिममा ९ वटा जिल्लाहरु छन् । तर त्यहाँ ६, ७ वटा भिन्न भाषाहरु बोलिन्छन् । डोटीको अलग्गै र डडेल्धुराको अलग्गै छ । अछाम र बाजुराको पनि फरक छ । कैलाली र कञ्चनपुको फरक छ । त्यहाँ संस्कृत भाषाको अपभ्रंश भएको भाषिक स्वरुप पाइन्छ । लय, शैली आदि संस्कृत जस्तै छन् । यो मौलिकता जोगाउनु पर्छ भन्ने पनि उनीहरुको हुटहुटी देखिन्छ

सुदुर पश्चिममा नेपाल भनेपछि काठमाडौँ खाल्डो र त्यसको वरिपरि मात्र भन्ने पनि छ । हामी नेपालभन्दा अलग हौ भन्ने धारणा पनि पाइन्छ । भाषा, शैली, भेषभूषा र रहनसहन फरक भएकाले हामी फरक हौ भन्ने सोच प्रचुर मात्रामा छ । अन्तरविरोधका हिसाबले हुने खानेहरु अलग्गै देखिन्छन् र सर्वसाधारणहरु उस्तै पीडामा छन् । रैती राख्ने र छाउपडी राख्ने प्रथा कायमै छ ।

पढेलेखेका सत्तामा पहुँच भएका र कही पढेलेखेकाहरुले एन्जीओ तथा आईएन्जिओलाई जीवनयापनका माध्यम बनाएका छन् । उनीहरु यस संस्थाबाट भ्रमित छन् र संसदवादीहरुबाट वाक्क दिक्क छन् । भ्रमित पनि छन् । भ्रम चिर्न समय पनि लाग्छ । तर भ्रम साफ भए बाटो उज्जवल पनि छ । यो सकारात्मक पक्ष हो ।

त्यहाँको तराइ भनेको कैलाली र कञ्चनपुर हुन् । त्यहाँ पहाडबाट बसाइसराइ गरेका अतिरिक्त तीन जातका थारु संप्रदाय बसोबास गर्दछन् । एक हो डगौरा थारु, जो दाङ देउखुरीबाट गएका हुन् । अर्का छन् रानाथारु, जो त्यहाँ पहिलेदेखि बसोबास गर्दे आएका तर इण्डियाबाट आएका हुन् । अर्काे थरिका स्थानीय । ती तीन थरिका थारुहरुमा पनि एक अर्काेमा विभेद र उचनिचको व्यवहार देखियो । पहाडबाट तराईमा झर्ने बित्तिकै कमैया कम्लरी राख्ने प्रथा पनि जीवितै छ । चाडपर्वमा दारुपानीका लागि ऋण लिने र तिर्न नसकेपछि कमैया कम्लरी बस्ने गरेको प्रचलन रहेछ ।

पछिल्लो चरण जनचेतनामा वृद्धि भएपछि त्यहाँका पहाडिया विरुद्धको अभियानका रुपमा केही एन्जीओ तथा आईएन्जीओेहरुले उक्साएको देखिन्छ । साम्प्रदायिकतामा बल गरेको पनि पाइन्छ । पूरै त होइन, तर यसको केही मात्रा टीकापुर काण्डमा पनि अभिव्यक्त भएको थियो । उत्पीडित जाति र मुक्तिको कुरा भन्दा पनि जातीय मात्र बनाएर यसलाई दुरुपयोग गरेको देखिन्छ । यसलाई संझाएर बुझाएर सर्वहारा वर्गीय आन्दोलन र चेतनासँग जोड्ने हो भने त्यहाँको वास्तविक उत्पीडन र उत्पीडित जाति र क्षेत्रलाई माथि उठाउन सकिन्छ ।

काठमाडौ केन्द्र भए जस्तै कैलाली र कञ्चनपुर सुदुपश्चिमका ९ वटा जिल्लाहरुको केन्द्रका रुपमा रहेका छन् । जनप्रवाह पनि त्यहाँ देखिन्छ । पहाड र तराइको त्यो लाइफ लाइन नै हो । त्यहाँ ९ वटै जिल्लाका मानिसहरु बसोवास गर्दछन् । तीनवटै जिल्लाहरुको मनोविज्ञान छ । अन्तरविरोध पनि नौवटै जिल्लाका छन् । त्यहाँ सबैको मनोविज्ञान बुझ्नु पर्दाे रहेछ । कैलाली र कञ्चनपुरलाई ९ वटै जिल्लाको अन्तरसम्बन्ध र अन्तरविरोधको रुपमा बुझ्नु पर्छ । त्यहाँको जनताका बीचमा अन्तरविरोध हल गर्न यो गुत्थिएको अन्तरविरोधलाई बुझ्नुपर्छ । यसका लागि मसिनो गरेर अन्तरविरोधलाई केस्रा केस्रा गरी केलाउनु पर्छ ।

जनताका अन्तरविरोध र समस्याहरु जस्ताका तस्तै छन् । विकल्पको उपाय खोजिरहेका छन् । हाम्रा साथीहरु र कमरेडहरु हिजोकै मनोविज्ञान, शैलीआचार र तौरतरिका अनुसारका छन् । तर परिस्थिति फेरिएको छ । अहिलेको वदलिएको परिस्थितिअनुसार हाम्रा साथीहरुमा बदलाव आउनु जरुरी छ । त्यो सचेततापूर्वक ल्याउन जरुरी पनि छ । क्रियाशीलता, लगाव र चिन्तन मनन् भएमा बल्ल यो काम गर्न सकिन्छ ।

सुदुरपश्चिम हेर्दा यहाँको विकटतालाई पनि भूल्न सकिदैन । हरेक बाटाघाटाहरु मुटु हत्केलामा लिएर हिँड्नुपर्ने अवस्थामा छन् । त्यहाँबाट काठमाडौ आउनजति सकस छ, इण्डिया दिल्ली जान निकै सजिलो छ । दार्चुलाबाट अत्तरिया आउनुभन्दा दिल्ली नजिक रहेछ, सेवा सुविधाका हिसाबले । यसरी आफ्नै प्रदेश राजधानी आउन पनि निकै सकस छ ।

सीमा क्षेत्रमा रहने त्यहाँका जनतालाई सीमासम्बन्धि अन्तरराष्ट्रिय कानुन, देशीय कानुन, पञ्चशीलका कुराहरु तथा दशगजा संरक्षण र छिमेकीसँगको सम्झौता आदिबारे बुझाउनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर