एजेन्सी । अमेरिकी अन्तरिक्ष अनुसन्धान कम्पनी (नासा)ले ‘टच द सन’ उद्देश्यका साथ एउटा शक्तिशाली अन्तरिक्ष यान आइतबार प्रक्षेपण गरेको छ ।
पार्कर सोलार प्रोब नाम दिइएको त्यो यान अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट स्थानीय समयअनुसार बिहानको ३.३१ बजे छुटेकोे थियो । त्यो प्रोब इतिहासकै सबैभन्दा छिटो कुद्ने बस्तु भएको जनाइएको छ । त्यो यानको नाम अन्तरिक्ष भौतिकशास्त्री युजेने पार्करको नामबाट राखिएको हो ।
यो मानवरहीत अन्तरिक्ष यान इतिहासमै पहिलोपटक सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्ने मानव निर्मित बस्तु हुनेछ । सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्ने गरी डिजाइन गरिएको छ ।
यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ । नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ । यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ ।
१ दशमलव ४ बिलियन डलरमा निर्माण गरिएको त्यो अन्तरिक्षयान झण्डै ६।४ मिलियन किलोमिटर टाढा पुग्ने अनुमान गरिएको छ । अत्याधिक तातो तारा नजिकै गएर त्यो अन्तरिक्ष यानले त्यहाँको वातावरण, सौर्य आँधी तथा अन्य बस्तुको अध्ययन गर्ने बताइएको छ ।
उक्त अन्तरिक्ष यान प्रक्षेपण गरेको केही महिनामा त्यहाँ पुग्ने बताइएको छ । पार्कर सोलार प्रोब नामको त्यो अन्तरिक्षयानलाई रकेटले शुक्र ग्रहतिर फाल्ने र त्यो यान सूर्यको नजिक गएर त्यहाँको अध्ययन गर्ने नासाका वैज्ञानिकहरुले बताएका छन् ।