‘वाम’ सरकार तस्करी, कालोबजारी र माफियाको जालोमा जेलिन पुगेको छ

‘वाम’ सरकार तस्करी, कालोबजारी र माफियाको जालोमा जेलिन पुगेको छ

 

संगठन विस्तार तथा जनपरिचालन अभियान कस्तो रह्यो ?

पहिलो कुरा, हाम्रो पार्टीको खासगरी पोखरामा भएको राष्ट्रिय सम्मेलनपश्चात् बसेको केन्द्रिय समितिको पौषमा बसेको बैठकले संगठन र फेरि पनि संगठन भन्ने मूल उदेश्यका साथ तीन महिने संगठन निर्माण अभियान सञ्चालन गरेको थियो । त्यो तीन महिनापछि फेरि दुई महिना थपेर चैतमा बसेको पोलिट व्यूरोको बैठकले पाँच महिनाको हाम्रो कार्यक्रम जारी राख्यो । त्यो अभियान मुख्यतः हाम्रो संगठनलाई व्यबस्थित पार्ने र संगठनलाई संस्थागत रुपमा अगाडि सार्ने भन्ने मूल उद्देश्य थियो । त्यसलाई वैचारिक, राजनीतिक र साङ्गठनिक लगायत विविध वस्तुहरुलाई समेटेर सबै नेता कार्यकर्ताहरुको आफनो विचार राजनीतिलाई एक स्टेप अगाडि उठाउने भन्ने थियो ।

तदनुरुप अन्तिममा जिल्ला सम्मेलनहरु र भेलाहरु गरेर संश्लेषण गर्ने भन्ने तयारमिा हामी लाग्यौं । पार्टीको मकसदअनुसार पूर्ण रुपमा पूरा हुन नसकेका कामहरु सीसीको बैठकसम्म आउँदा पूरा पनि भए । तर अपेक्षा गरे अनुरुप बाँकी रहेकालाई पूरा गर्न केही समय पनि थप गरिएको छ । मूल रुपमा पार्टीले अभियान सफल भएको निस्कर्ष निकालेको छ ।

दोस्रो कुरा त्यसपछि अब बाकीँ रहेका जुन कामहरु छन्, ती कामहरुलाई हामीले आश्विनसम्म पूरा गर्ने कार्यक्रम बनाएका छौं । अहिले चाहिं संगठन, संघर्ष र संगठन भन्ने मूल उदेश्यका साथ अगाडि सारेर बाँकी रहेका भेला र सम्मेलनलाई पूरा गर्ने तयारीमा छौं । त्यसपछि आगामी दिनमा हामीले जनवर्गीय संगठन र मोर्चा संगठनहरुको व्यापक रुपमा विस्तार गर्ने सोचेका छौं । अहिले जसरी देशमा एक प्रकारको एक खालको महड्गी, भ्रष्टचार र कालोबजारी र कमिसनखोरी लगायत विविध वस्तुरुसँगै जनताका दैनिक जीवनमा गाँसिएका थुप्रै विषयवस्तुहरु र करहरु वृद्धि सरकारले गरेको छ, यसका विरुद्ध हामीले क्रमिक रुपमा आन्दोलन अगाडि बढाउनु पर्ने आवश्यता महसुस गरिरहेका छौं ।

राष्ट्रियता एक पछि अर्को गर्दै कमजोर भएको छ । त्यो राष्ट्रियताको विषयलाई पनि लिएर आन्दोलन अघि बढाउने आवश्यकता हामीले देखेका छौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई अगाडि लिएर हामीले क्रमिक रुपमा आन्दोलनलाई पनि सँगसँगै लैजाने सोचका साथ हामी अघि बढिरहेका छौं ।

 संघर्षका कार्यक्रमहरु पनि साथै लैजाने कार्यक्रम छ ?

पहिलो कुरा, हाम्रो पार्टीेले देश र जनतासँग सम्बन्धित विषयहरुलाई उठाउँदै गएको छ । भ्रम र संघर्षका कुरा गर्दा विगतमा पनि कतिपय प्रतिक्रियावादीहरुको भ्रम परेर र कतिपय नव प्रतिक्रियावादीहरुको भ्रममा परेर जनता रनभूल्लमा परेका थिए नै । आज पनि कम्युनिस्टको खोल ओढेर देखा परिरहेका छन्, चाहे त्यो निर्वाचनको क्रममा होस् या सरकार गठनको प्रक्रियामा होस् । यी नाटकहरुको क्रममा सोझासाझा गरीब, किसान तथा स्थानीय जनताहरु भ्रममा परेका छन् । आदिवासी, जनजातिमा र कतिपय मानिसहरुमा उनीहरुले भ्रम पार्ने कोशिस गरेका थिए र छन् पनि । अहिले क्रमिक रुपमा ती भ्रमहरु साफ हुँदै गएका छन् पनि । तिनका ठाउँमा हामीले उठाएका एजेण्डाहरु र वाचाहरुमा जनताहरु स्पष्ट र आकर्षित हुँदै गएका छन् । अहिले हाम्रो पार्टी र हाम्रो पार्टी अन्तरगतका जनवर्गीय संगठन र मोर्चा संगठनहरु परिचालित गरिँदै छ । जनताहरु हाम्रा एजेण्डामा अघि बढ्न थालेका छन् ।

 यो सरकारले थोरै पनि आलोचना र विरोध सहन सक्दैन । कसरी अघि बढाउनुहुन्छ संघर्षका कार्यक्रमहरु ?

वाम खोल ओढेको र आफूलाई कम्युनिस्ट भन्ने सरकार छ अहिले । वास्तवमा वामपन्थीहरुलाई बदनाम गर्न र सिध्याउन यो सरकार बनाइएको हो । उनीहरुले वाम लोगो प्रयोग गरेर भ्रम फैलाउने प्रयास गरिरहेका छन् । यी द्रुत गतिमा पतन हुँदै गएका नव प्रतिक्रियावादीहरु नै हुन् । उनीहरु जनताले आफ्नो अधिकारको माग गर्छन् भनेर त्राहिमाम छन् । जनताले आन्दोलन गर्छन् भनेर निकै तर्सिएका पनि छन् । उनीहरु त यति धेरै डराएका छन् कि उनीहरुले जनता भेला हुन पाउने, संगठित हुन पाउने, विरोध र सभासम्मेलन गर्न पाउने यी सारा अधिकारबाट जनतालाई वञ्चित गर्ने प्रयत्नमा छन् । जनतालाई दिइने अधिकारबाट कुण्ठित बनाउने कदम एकपछि अर्को गरेर चालिरहेका छन् ।

उनीहरुले सहरहरुमा, चोकहरुमा, गल्लीहरुमा, गाउँहरुमा र टोलहरुमा पनि जनताले बोल्न र विरोध प्रदर्शन गर्न नपाउन भनी सार्वजनिक रुपमा प्रतिबन्धहरुको घोषणा गरेका छन् । जनतालाई धरपकड गरिरहेका छन् । सामान्य विरोध पनि लाठी चार्ज गरेर अश्रुग्याँस हानेर र हवाइ फायर गरेर राज्य आतंक मच्चाइरहेका छन् । यो जनताले प्रत्यक्ष देखिरहेका छन् र भोगिरहेका पनि छन् । यो फासीवादतिर उन्मुख भइरहेको छ । यो फासिवाद जतिजति जनताका आवाज दमन गर्नतिर लाग्छ, उतिउति जनता पनि त्यसको प्रतिरोधमा उत्रन्छन् र यो समाप्त भएर जान्छ ।

 तर पनि यिनीहरुले भन्ने गरेको कम्युनिस्ट हौं भन्ने भ्रमलाई कसरी चिर्न सकिएला ?

पहिलो कुरा, हामीले हाम्रा कुरा जनताका बीचमा स्पष्ट रुपमा राखेर जानु पर्छ । दोस्रो कुराउनीहरुले जनतालाई उठ्नै नदिने गरी कर, महंगी, भ्रष्टाचार, तस्करी, कालाबजारी र मुद्रास्फिति थोपरिरहेका छन् । यस्ता जनविरोधी गतिविधिका विरुद्ध हामीले संघर्ष उठाउन थालेका छौं । यी र यस्तै संघर्षका कार्यक्रमहरु अघि बढाएर हामीले जनतालाई साथ लिएर जान सक्छौं ।

हामीले जनतालाई जनताको हक, हित र अगुवाइ गर्ने यही पार्टी मात्र हो भन्ने बनाउँदै जाने छौं । जनताका बीचमा स्थापित त छँदै माओवादी पार्टी । यसलाई आजको सन्दर्भमा फेरि पनि स्थापित गर्दै लैजाने छौं ।

 जनता संघर्षप्रति त्यति आकर्षित छैनन् । जनता संघर्षमा कसरी आउलान् ?

पटकपटकका आन्दोलनबाट जनताले धोखा खाएको सत्य हो । जनताका आशा, अपेक्षा र विश्वासमाथि कुठाराघात भइसकेपछि जनताले केही अनिच्छा राख्नु स्वभाविकै पनि हो । तर एउटा पक्ष के हो भने हामी सधैभरि जनताका पक्षमा रहिरह्यौं । उनीहरुकहाँ अभिव्यक्त गरेका बाचाहरु भुलेका छैनौ । जे कुरा जनताका बीचमा भनेका थियौं त्यसमा अडिग छौं हामी ।

यी कुरा लिएर जनताका बीचमा गएपछि जनताले साथ दिने छन् । संघर्ष जनताका लागि हो सहभागी हुने छन् । यो अलमल र निराशा लामो समय रहन दिने छैनौ । २००७ साल, २०२७ साल, २०३६ साल २०५२ साल त्यसपछि पनि जनयुद्धकै क्रमा जनतामा कहिले निराशा र कहिले आशा त आउने गरिहेको छ त नि । तर अहिलेको निराशालाई लामो समय रहन दिने छैनौ ।

 त्यसो भए परिस्थितिलाई डोर्याउन सक्नुहुने छ ?

एकदम, सक्ने छौं । डोर्याउने भनेको विचार, नीति तथा कार्यक्रमले नै हो । हामीले देशको, जनताको र जनताका लागि चाहिने शासन व्यवस्थाको प्राप्तिको संघर्ष अघि बढाउँदै छौं । हामीले यी र यस्ताखाले कार्यक्रमहरु बीचबीचमा गरिरहेका पनि छौं ।

अहिले आदिवासी जनजातिले पहिचानको माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले आफ्नो पहिचान र मुक्तिका लागि ठूलाठूला त्याग र बलिदान पनि गरिरहेका छन् । महिला, दलित, मुस्लिम, सबैले आफूहरुलाई विगतका युद्ध र आन्दोलनहरुमा समाहित गरिरहेका छन् । तर विडम्वना, जसले १० वर्षको जनयुद्धको नेतृत्व गरेका थिए, उनैले अहिले जनताका मागहरु र पहिचानहरु अस्वीकार गरिरहेका छन् । उनैको नेतृत्वमा आज प्रतिक्रान्ति हुन पुग्यो । आउँदै गर्दा त कति सम्म पनि भयो भने तिनै मान्छेहरु नवप्रतिक्रियावादमा परिणत हुँदै गए । पहिचानको कुरा गर्दा त १४ प्रदेशबाट सात प्रदेशमा आएका थिए । तर आज ती सात प्रदेश पनि पहिचान विपरीत नामाकरण गर्न थालिएका छन् । आदिवासी जनजाति आज पनि आन्दोलनमा छन् । हाम्रो पार्टी यी आन्दोलनमा आदिवासी जनजातिका साथमा छ ।

 त्यसो भए अबको आन्दोलन सबैलाई समेटेर युनिफाइड बनाएर लैजाँदै हुनुहुन्छ ?

हो, एकदम । पहिलो कुरा के हो भने हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) सर्वहारा वर्गको अग्रदस्ता हो । यो सर्वहारा वर्गीय पार्टी हो । यसमा उत्पीडित जाति क्षेत्र, लिंग र वर्ग समेटिन्छन् । उनीहरुको भरोसायोग्य साथी भनेको हाम्रो पार्टी नै हो । हामी उनीहरुका सबैभन्दा नजिकका साथी हौं । कमरेड हौं । उनीहरु विश्वस्त हुँदै छन् । आन्दोलनमा हामीहरु साथमा छौं । उनीहरुको भर हामीलाई र हाम्रो भर उनीहरुलाई ।

 अन्त्यमा केही कुरा राखि दिनुहुन्छ ?

अन्त्यमा, हिजो आन्दोलनमा लागेका तर आज दिग्भ्रम्रित हुन पुगेका हाम्रा साथीभाइहरुलाई फेरि सोच्न आह्वान गर्दछु । आन्दोलन र मुक्तिभन्दा हाम्रो जीवन टाढा छैन । कतिपय शिथिल भएका साथीहरुलाई क्रियाशील हुन सल्लाह दिन्छु । आम जनसमुदायले मुक्ति र समानताका लागि फेरि एकपटक आन्दोलन उठाउन जरुरी छ । यही आह्वान गर्न चाहन्छु ।