गत वर्ष असारमा भएको स्थानीय निकायको र मंसीरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचनपश्चात् प्रक्रियावादी राज्यसत्ता र संसदिय व्यवस्थाले आफूलाई सुढृद गरेर कथित बाम नामको गठबन्धन सरकार गठन गरेको छ । दोस्रो संविधानसभापश्चात् बनेको पश्चगामी संविधानको कार्यन्वयनको सिलसिलामा चुनावी प्रक्रिया र सरकार गठनका कामहरु गरेर प्रक्रियावादी तत्वहरुले ठूलो विजय हासिल गरेको अफवाह फैलाइरहेका छन् । त्यसमा पनि प्रचण्ड–ओलीको एकअर्कामा भएको विलय र यिनीहरुको नेतृत्वमा भएको वाम सरकारको गठनपश्चात् यिनीहरुको चुरीफुरी उत्ताउलो ढङ्गले निकै बढेको छ ।
यतिबेला यिनीहरु जङ्गलका महत्ता हात्ती जस्तै भएर राष्ट्रमा बबण्डर मच्चाउन थालिरहेका छन् । कहीं नभएको जात्रा हाँडीगाउँमा भने झंै राज्यका प्रत्येक निकाय र संरचनाहरुमा आपm्नो नग्नता प्रदर्शन गरिरहेका छन् । यिनीहरुले के पनि अफवाह फैलाएका छन् भने नेपालमा यतिबेला बहुमतको कम्युनिष्ट सरकार गठन भएको छ । यसले अब मुलुकको समृद्धि र विकासमा फड्को हान्छ । यो सरकार अब एक दशक मात्र हैन, दुई दशकसम्म निरन्तर चल्छ । यसलाई कसैले ढलाउन र गलाउन सक्दैन । अब कसैले कुनै किसिमको आन्दोलन गर्नु पर्दैन, क्रान्ति गर्ने जमाना गयो । अब कुनै किसिमको क्रान्तिको आवश्यकता पर्दैन र हुन दिइन्न पनि आदि, आदि ।
के यो सरकार वामपंथीको हो त ? के यो सरकार साँच्चिकै कम्युनिष्टको हो त ? के यसले वामपंथी चरित्र ग्रहण गरेको छ ? के यसले कम्युनिष्ट सिद्धान्त, दर्शन र आर्दशलाई आत्मसात् गरेको छ ? के यसले मालेमावाद र सर्वहारा वर्गीय विचार र दृष्टिकोणको पक्षपोषण गरेको छ ? के यो साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रक्रियावादविरुद्ध छ ? के यसले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका मूलभूत मुद्दाहरुलाई गंभीरतापूर्वक लिएको छ ? के यसले सर्वहारा वर्गको अधिनायकत्व र सशस्त्र बल प्रयोगको भूमिकालाई स्वीकार गर्छ ? के यो राष्ट्रिय मुक्ति र वर्गीय मुक्तिको पक्षमा छ ? के यो विभिन्न जात, वर्ग, क्षेत्र लिङ्गको समस्याहरु हल गर्ने पक्षमा छ ? छैन ।
माथि उल्लेखित कुनै पनि प्रश्नको जवाफ दिने र राष्ट्र र जनतालाई सन्तुष्ट पार्ने खालको छ, न योसँग कुनै सिद्धान्त र विचार छ । न कुनै नीति र योजना । न कुनै भिजन र सोच छ । न त कुनै पवित्र इच्छाशक्ति पनि । न कुनै स्वाभिमान र नैतिक बल छ । न कुनै हिम्मत र आँट । न त जनता र राष्ट्रपतिको जवाफदेहिता छ, न केहीअरु कुनै । अनि कुन आधारले यो वामपंथी सरकार भयो ? कुन मापदण्डका आधारमा यो कम्युनिष्ट सरकार भयो ? साम्राज्यवाद र विस्तारवादको दलाली, चाकडी र चाप्लुसीमा उसैको आशीर्वाद लिएर बनेको कठपूतली सरकारलाई कम्यूनिष्ट सरकार भन्न सकिन्न। उनिहरुकै रिमोट कन्ट्रेलबाट चलेको रोबोटको सरकारलाई वामपंथी सरकार भन्न सुहाउँदैन र होइन पनि ।
वास्तवमा यो सरकार कम्युनिष्टको कलेवरमा आएका भ्रष्ट, अनैतिक, दलाल तथा सामाजिक फासीवादीहरुको सरकार हो । यो कम्युनिष्ट विचार, सिद्धान्त, दर्शन र आदर्शबाट च्यूत भएका विचलनवादी गद्दारहरुको सरकार हो । वास्तवमा यो सरकार दलाल तथा नोकरशाही पुँजीपतिहरुको प्रतिनिधिसरह हो । समग्रमा भन्नुपर्दा यो सरकार दक्षिणपंथी संशोधनवादी तथा राष्ट्रघाती तत्वहरुको सरकार हो । यसलाई वामपंथी वा कम्युनिष्ट सरकारको रुपमा बुझ्नु अपेक्षा गर्नु महाभूल हुने मात्र हैन, आफै प्रतिको ठूलो भ्रम पनि हो । हुन त नेपाली जनताले उनीहरुको साम, दाम, दण्ड र भेदको सामना गर्न नसकेर कम्युनिष्ट नाममा भोट दिएर त्यो ठाउँमा पुर्याए ।
नहुनु मामाभन्दा कानो मामा निको भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै नेपाली काङ्ग्रेसको शासनकालबाट विक्षिप्त भएर त्यसको विकल्पको रुपमा यिनलाई अघि सारे । तर यो सरकार र यसका गठबन्धनहरु न त नेपाली कांग्रेसभन्दा फरक नै हुन्, न त वर्गीय चिन्तन मौलिक रुपले फरक नै छ । यिनीहरु एउटै ड्याङका मूला हुन् । साम्राज्यवाद र विस्तारवादको दलाली गर्ने सवालमा यिनीहरु अग्रपंक्तिमा छन् । तसर्थ, यिनलाई वामपन्थी वा कम्युनिष्टको सरकारको रुपमा बुझ्नु भन्दा सामाजिक फासीवादी सरकारका रुपमा बझ्नु तर्कसंगत हुनेछ ।
यो त भयो वर्तमान सरकारलाई बुझ्ने सवाल । अब नेपालको कम्युनिष्ट आन्दोलन र यसभित्रको मूल प्रवृत्तिको विषयमा चर्चा गरौं । यस सम्बन्धमा भर्खरै सम्पन्न ने.क.पा.को प्रतिवेदनमा भनिएको छ नेपाली कम्युनिष्ट आन्दोलनमा विभिन्न रुप र रंगमा दक्षिणपंथी संशोधनबाद प्रकट हुँदै आएको छ । एकथरी अवसरवादीहरु अत्यन्तै नग्न तथा भद्दा रुपमा प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाको संरक्षक भएर पेश भएका छन् । अर्काथरी अवसरवादीहरु निकै छद्म रुपमा अवसरवादी र क्रान्तिकारी धाराका बीच दोलायमान हुँदै आएका छन् । त्यति मात्र होइन, यहाँ केही समययता प्रविधिवादका रुपमा पनि अवसरवाद देखा पर्दै आएको छ । त्यसले मानवीय श्रमशक्ति र श्रमिकवर्गको भूमिकालाई नकार्दै प्रविधिलाई प्राथमिक तथा सर्वोपरि स्थानमा राख्ने गरेको छ । समग्रमा आज नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा दक्षिणपंथी संसोधनवाद निकै प्रबल बन्न गएको छ र त्यो प्रतिक्रियावादमा पतन हुन पुगेको छ । माकेको एमालेमा विलय यसै कुुराको द्योतक हो ।
प्रतिवेदनमा भने जस्तै एकथरी कम्युनिष्टहरु दक्षिणपन्थी बाटोहुँदै प्रतिक्रियावादमा पतन हुन पुगेका छन् । जसको नेत्तृत्व ओली एण्ड प्रचण्ड कम्पनीले गरेका छन् । अर्कोथरी कम्युनिष्ट हिङ खाऊ कि जिरा खाऊ भन्दै ‘ताक परे तिवारी, नत्र गोतामे’को दोलायमान नीति लिएर क्रान्तिकारी धारा र संसदवादी धाराका बीच कहिले यता कहिले उता गरिरहेका छन् । तिनीहरु व्यक्तिगत स्वार्थ र फाइदा लिनका लागि रातारात संसदवादी धाराका सामु लम्पसार पर्न पनि पछि पर्दैनन् । कहिलेकाँही क्रान्तिधारासामु विचार, सिद्धान्त र क्रान्तिका कुरा गर्न पनि पछि पर्दैनन् । उनीहरुको दायाँ खुट्टा सधैं संसदवादी धारातिर र बायाँ खुट्टा क्रान्तिकारी धारातिर सर्दै आएको छ । यसको नेतृत्व विषेश गरी मोहनविक्रम सिंह नेतृत्वको मसालले गरेको छ । यो अत्यन्त खतरनाक प्रवृत्ति हो । यसले जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको उदेश्यमा पुग्ने लक्ष्य राख्नुको सट्टा जसरी हुन्छ यही प्रक्रियावादी राज्यसत्ताको अंसियार बनेर पद प्रतिष्ठा लिने र त्यसैमा रमाउन बढी उद्दत देखिन्छ । सम्बन्धका हिसाबले क्रान्तिकारी धारा सितको सम्बन्धभन्दा संसदवादी अर्थात् दक्षिणपंथी अवसरवादी धारासँगको सम्बन्ध प्रगाढ बन्दै जानुले अन्ततः यो प्रवृत्ति उतै मिल्न जाने निश्चित छ ।
अर्कोतर्फ श्रमशक्ति र श्रमवर्गको भूमिकालाई नकार्ने प्रविधिवादका रुपमा देखा परेको अवसरवाद संस्थागत रुपमा नभए पनि प्रायः सबै समूहमा देखा पर्ने गरेको छ । यसले पनि विचार सिद्धान्तलाई न्यूनीकरण गर्दै पुँजीवादले विकास गरेको प्रविधिलाई निर्णायक वस्तु ठान्न पुग्दछ । यसले विचारलाई भन्दा आग्नेय अस्त्रलाई भयंकर शक्तिको रुपमा लिन्छ । तर क्रान्तिको मुख्य निर्णयक शक्ति विचार सिद्धान्त र सर्वहारा वर्गलाई कमजोर ठान्छ । यो कदापि हुन सक्दैन । क्रान्तिको आमूल परिवर्तनको संवाहक शक्ति भनेको सचेत, संगठित, जुझारु सर्वहारा वर्ग नै हो । यसमा केही दुविधा छैन ।
अत यी र यस्ता अवसरवादी प्रवृतिहरुसँग जुद्धै विभिन्न खेमामा रहेका क्रान्तिकारी शक्तिहरु एकता र ध्रुवीकरणको प्रक्रियामा संगठित भएर आत्मगत शक्तिलाई सुदृढ र मजबुत पार्दै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नु अहिलेको ज्वलन्त आवश्यकता हो । क्रान्तिको कुरा गर्ने तर सिद्धान्तनिष्ठ एकतामा निहुँ र बखेडा झिकेर एकताको प्रक्रियाबाट भाग्न खोज्ने प्रवृत्ति कदापि ठीक होइन । त्यस्ता व्यक्ति वा समूहलाई लेनिनले एकता विरोधीको संज्ञा दिनुभएको छ । पार्टी एकता मार्ग निर्देशक सिद्धान्तमा आधारित रहेर ठोस परिस्थितिको ठोस विश्लेषण र संश्लेषण गर्दै वैज्ञानिक र वस्तुवादी कार्यदिशा तय गरेर गरिनु पर्छ न कि मार्ग निर्देशक सिद्धान्तबाट टाढा रहेको अमूर्त र अस्पष्ट कार्यदिशा र भावनाको आधारमा होइन ।
तसर्थ आउनुहोस्, क्रान्तिकारी योद्धाहरु नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वर्गीय मुक्ति र राष्ट्रिय मुक्तिको उद्घोषण गर्न क्रान्तिकारीहरुको एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गरौं । कम्युनिष्ट आन्दोलनका विरुद्ध खडा गरिएको दक्षिणपंथी संशोधनवाद र विविध खाले अवसरवादी मोर्चाविरुद्ध सशक्त प्रतिरोध संघर्षको उठान गरी दक्षिणपंथी हावाहुरीलाई निस्तेज पारौं । धोकेबाज, आत्मसमपर्णवादी, दलाल र गद्दारहरुलाई चुनौती दिँदै नयाँ उचाइमा त्याग र बलिदानको किर्तिमान राख्दै सगरमाथाको टुप्पोमा विजयको लाल झण्डा फहराउन अगाडि बढौं । साम्राज्यवाद र भारतीय विस्तारवादको चङ्गुलबाट राष्ट्रलाई मुक्त पारौं ।
क्रान्तिकारी आन्दोलनका विरुद्ध दक्षिणपंथी अवसरवादीहरु ध्रुविकृत र एकीकृत भइरहेको वर्तमान सन्दर्भमा क्रान्तिकारीहरु अलगअलग मोर्चाबाट लड्नुको कुनै तुक नहुने भएकाले एउटै शक्तिशाली मोर्चा निर्माण गरी दुश्मनका विरुद्ध सशक्त हमला गरौं । क्रान्ति सम्भव छ । संभव मात्र होइन, अनिवार्य र अवश्यंभावी पनि छ ।