‘दलालहरुको नेतृत्वको सत्ता नै नेपाली जनताको दु:खकाे कारण’

प्रकाशित मिति : २०७५ श्रावण २७

नयाँ दिल्ली । नेपाली एकता समाज, भारतले आयोजना गरेको जम्मु तथा काश्मीर अन्तर्गतका चारवटा संयुक्त नगर सम्मेलनलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाले दलालहरुको नेतृत्वको सत्ता नै नेपाली जनताको दुःखको कारण रहेको बताएका छन् । थापाले सुगौली सन्धिदेखि सुरुभएको राष्ट्रघातको प्रक्रिया राणा, नेपाली कांग्रेस, एमाले र माके हुंदै आज नेकपाको कार्यकालसम्म आईपुग्दा उत्कर्षतिर गैरहेको बताए ।

उनले आजसम्म सत्तामा धेरै अनुहार फेरिए पनि ती सबैले सामन्तवाद र साम्राज्यवादको पक्षमा नै काम गरेका कारण देशमा जनतन्त्र, राष्ट्रिय स्वाधीनता र जनजीविका समस्या विकराल बन्दै गएको उल्लेख गर्दै भने, “वाह्य शक्ति त्यसमा पनि मुख्यतः भारतीय शासकवर्गको निर्देशनमा चल्ने र घरेलु प्रतिक्रियावादको प्रतिनिधित्व गर्ने दलालहरुको नेतृत्वको सत्ता नै नेपाली जनताको दःुखको कारण हो ।” उनले जनताको सरकारको दावी गर्ने कम्युनिस्ट नामधारी वर्तमान ओली सरकार पनि पहिलेका सरकार जस्तै जनघाती र राष्ट्रघाती रहेको भन्दै जनतन्त्र, राष्ट्रिय स्वाधिनता र जनजीविका समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको र उक्त क्रान्तिको सफलताको लागि भारतमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहने कुरातर्फ उनले सबैको ध्यानाकर्षण गरेका थिए ।

तेन्जिङ नोर्गेको अध्यक्षता र नवीन थापाको सञ्चालनमा सम्पन्न उक्त सम्मेलनलाई सम्बोधन गर्दै सम्मेलनका विशेष अतिथि बरिष्ठ वामपंथी नेता इन्द्रमोहन सिग्देलले नेपाल प्राकृतिक साधनस्रोतले सम्पन्न र नेपाली जनता निकै मेहनती भए पनि आजसम्मका सत्ताधारी वर्गको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र नै नेपाली जनताको दुःख र पराधिनताको कारण भएको कुरा बताए । उनले सत्ताको कुर्चीमा रहने व्यक्तिहरु धेरै पटक फेरिए पनि नेपालमा आजसम्म मजदुर, किसान तथा आम उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको हातमा सत्ता नआएको कुरा बताउँदै वर्तमान ओली सरकारको आर्थिक समृद्धिको नारा पनि जनता ढाँट्न अगाडि सारिएको भ्रमपूर्ण वकवास बाहेक अरु केही होईन भने । उनले देशमा आर्थिक समृद्धिको ढोका खोल्न राष्ट्रिय पुँजीको विकास हुनुपर्ने र त्यसका लागि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे ।

नेपाली एकता समाज, भारतका केन्द्रीय उपाध्यक्ष शोभाकर अधिकारीले सम्मेलनको सफलताको सुभकामना व्यक्त गर्दै यस संगठनले भारतभरि छरिएर रहेका नेपालीको हितमा संघर्ष गर्दै आएको कुरा दावी गरे । उनले नेपालमा हुने आमुल परिवर्तनका लागि समेत प्रवाशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने कुरा उल्लेख गरेका थिए ।

मञ्चमा आसिन नेपाली एकता समाज, भारतका केन्द्रीय सदस्य लगायत अन्य नेताहरुहरुले पनि सम्मेलनलाई सम्बोधन गर्दै त्यसको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतीक लामा लगायतका सामना परिवारका केन्द्रीय कलाकारहरुले प्रदर्शन गरेका गीत तथा नृत्यहरुले सम्मेलनलाई निकै भव्य र रोचक बनाएको थियो ।

यस सम्मेलनलाई स्थानीय मुस्लिम संगठनका अध्यक्षले पनि शुभकामना मन्तव्य दिएका थिए । उनले नेपालीहरुको सांगठनिक चेतनाबाट आफु निकै प्रभावित भएको उल्लेख गर्दै तपाई नेपालीहरुलाई कुनै समस्या परे त्यसको समाधानका लागि हामी सँधै तयार छौं भनेका थिए ।
११ अगस्त २०१८ मा नेपाली एकता समाज, भारतले जम्मु तथा काश्मीर राज्य समिति अन्तर्गत नुगरा नगर समिति, निमु नगर समिती, लेह नगर समिति, चोक्लामसर नगर समितिको प्रथम संयुक्त नगर सम्मेलन सम्पन्न गरी चारवटै नगरमा नयाँ कमिटि गठन गरेको छ ।