‘दम्भ र सत्ताले मान्छे ठूलो हुँदैन’– सीताराम तामाङ

‘दम्भ र सत्ताले मान्छे ठूलो हुँदैन’– सीताराम तामाङ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम् सीताराम तामाङले दम्भ र सत्ताले कुनै पनि मानिस ठूलो नहुने बताएका छन् । काठमाडौंको अनामनगरस्थित सम्वाद डबलीमा शनिवार दिउँसो आयोजित ‘ताम्सालिङ प्रदेश’ नामाकरणको सवाल विषयक एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले उक्त कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तामाङले वर्तमान वाम नामको बहुमतको सरकार भएको बेला नेपालमा पहिचान विनाको प्रदेशको नामाकरणबारे आश्चर्य प्रकट गर्ने सन्दर्भमा सत्ता र दम्भको कुरा उठाएका हुन् ।

पहिचान कुनै नदी वा खोला वा पहाडलाई आवश्यक छैन भन्दै प्रमुख अतिथि तामाङले पहिचान त त्यहाँ बसोबास गर्ने आदिवासी, जनजाति र समग्र जनतालाई चाहिएको हो भनी प्रस्ट पारे । आफ्नै देशमा रहेका जनताको पहिचान मेटाउन चाहनेहरुले पहिचानविरोधी हर्कतहरु गरिरहेको भन्दै तामाङले पहिचान भनेको अपनत्व र स्वाभिमान भएको कुरा पनि प्रस्ट पारे ।

अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक फुर्नाम्गेल मोक्तानले प्रदेशहरुको नामाकरण भइरहेको सन्दर्भमा ‘ताम्सालिङ प्रदेश’को सवाल विषयक एक छलफल शीर्षकमा तीन पृष्ठ लामो छलफल सन्दर्भ सामग्री पस्किएपछि उपस्थित सबैबाट आआफ्नो धारणा राख्ने काम सुरु भएको थियो ।

मानवशास्त्री प्रा. डा. मुक्तसिंह तामाङले जातीय पहिचान र मानव जातिको इतिहासलाई नेपालको सन्दर्भमा निकै मार्मिक ढंगले जोडेर राखेका थिए । नेपालमा मानव बसोवास, विकास र पहिचानको कुरालाई ससन्दर्भ जोडेर प्रस्तुत गरेका थिए ।

पूर्व न्यायाधीश कुमार योञ्जन तामाङले मानव जाति र पहिचानको कुरा इतिहास र कानुनसँग जोडेर राखेका थिए । ताम्सालिङ संयुक्त संघर्ष समितिका संयोजक जय गोलेले संघर्षविना पहिचानका कुरा यो सरकारले पूरा नगर्ने र यो सरकार पहिचान विरोधी समेत भएको कुरामाथि प्रकाश पारेका थिए ।

त्यसै गरी लोकतान्त्रिक तामाङ संघका प्रतिनिधि विजय लोप्चनले सरकारले पहिचानको कुरा छाडेर हिंड्दा समस्या निम्त्याएको कुरामा जोड दिएका थिए । सुरेश तामाङले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता फुर्नाम्गेल मोक्तानले गरेका थिए ।

कार्यक्रममा शहीद परिवार कृष्ण तामाङको पनि उपस्थिति रहेको थियो ।