काठमाडौं । नेपालका संघीय, प्रादेशिक र स्थानीय तहका सरकारका प्रमुख तथा मन्त्रीहरु, सभासद तथा निर्वाचित पदाधिकारीहरु र तिनका आफन्तहरु धेरै जसो बुल्डोजरका मालिक छन् । देशमा आज कुनाकुना र वनजंगल तथा भीरपखेराहरु यी डोजर प्रयोग गरेर छियाछिया पारिएका छन् ।
जनतालाई यही हो विकास भनेको भन्ने पनि लागिरहेको छ । तर उनीहरुलाई यसले पर्ने र पारिरहेको असरबारे केही पनि थाहपत्तोसम्म छैन । उनीहरु खुशी छन् र भन्ने गरका छन् मेरो गाउँमा बाटो गयो । मेरो जग्गा अब घरघडेरीमा बिक्रि हुन्छ ।
नेपालमा विकास भएन र यो अविकसित देश नै रहिराख्यो भनेर गरिने टीकाटिप्पणी आजसम्म पनि बाक्लै छ । त्यसैले पनि यो विना नापजाँप र विना भौगर्भिक सर्वे निर्माण गरिएका यी बाटाघाटाहरुले जनतालाई क्षणिक सन्तोष दिलाएको छ । तर अब विस्तारै विस्तारै यसको पनि लेखाजोखा हुँदै गएको छ ।
पहिरो : अहिलेको वर्षामा पहिरोले निकै ठूलो क्षति पुर्यायो । जनधनको क्षति पनि हुन गयो । गाउँमा न त खनिएका बाटाघाटा राम्रा भए, न त वनजंगल र भूमिको नै सुरक्षा भयो । डोजर प्रकोपको शायद यो नै पहिलो परिणाम हो ।
नदी कटान : नदीले यो वर्ष निकै गहिरो गरी वरपरका छेउँछाउँ र भूमि कटान गरेको छ । बगेको बाक्लो माटो गिट्टीको लेदो र ढुंगामूढाका कारण यो कटान सदाको भन्दा निकै हानीकारक बनेको छ । नदीको छेउँमा रहेका जरुवा पानी, ताल तलैया, खेतबारी आदि कटान भएका छन् ।
डुबान : पहाडी तथा हिमाली बेल्टमा भएको असिमित भूक्षयका कारण यो वर्ष बाढी बहँदा पानीको भन्दा पनि माटो र बालुवाको मात्रा निकै बढी बहेको देखिएको छ । यसले उपल्लो तटिय अर्थात् हिमाली र पहाडी बेल्टलाई पनि उत्तिकै क्षति त पुर्याएको छ नै, त्यो भन्दा पनि तल्लो तटीय अर्थात् तराइमा माटोको मात्रा अत्यधिक थुपार्न पुगेर डुवानको ठूलो समस्या पैदा गरेको छ ।
बस्ती पुरिनु : नदीका वरपर रहेका ससाना बस्तीहरु पुरिन थालेका छन् । खेत तथा खेतीयोग्य जमीन पनि पुरिन गएका छन् । यसले बसाइसराइ तथा मानवीय समस्याहरु उत्पन्न गरेको पनि छ ।
खानेपानीको समस्या : अनावश्यक ठाउँहरुमा, मूलको माथि र मूल भएका ठाउँहरुमा, खोला नदी बगेका ठाउँहरुमा, सीमसार क्षेत्रहरुमा जथाभावी बाटो खन्दै जाँदा पानीका मूलहरु सुक्न थालेका छन् । स्थानीय क्षेत्रहरुमा त कति सम्म पनि भएको छ भने अब पानी अभावका कारण बस्तीहरु सर्न पनि थालेका छन् ।
उर्वरभूमि पुरिनु : ढुंगा, गिट्टी, बालुवा र माटोले पहाडी, हिमाली, भित्री मधेश तथा तराइका उर्वर भूमिहरु पुरिइरहेका छन् । यसले नेपालमा खाद्यान्नको ठूलो संकट निम्त्याउन गइरहेको छ । पहाडी बेल्टमा यो समस्या टड्कारो देखा परेको छ ।
नदीनाला सुके : डोजरले निम्त्याएको अर्को प्रकोप हो, नदीनाला भासिदै र सुक्दै जानु । नेपालका ससाना नदीनालाहरु भासिदै र सुक्दै जान थालेका छन् । ठूला ढुंगा, गेगर, बालुवा, गिट्टी र माटोले नदीहरु भासिदै र सुक्दै गएका हुन्
जंगल बिनास : ठूलो र आम रुपमा भएको डोजर प्रकोपको असर भनेको जंगल विनास नै हो । देशको लगभग ३ देखि ५ प्रतिशत जंगल बाटोघाटो निर्माण गर्दा विनास हुन पुगेको छ । यो भनेको वातावरणीय, भूक्षय र मानिसलाई अत्यावश्यक पर्ने अक्सिजन तथा प्राकृतिक सन्तुलनका हिसाबले ठूलो र अपूरणीय क्षति हो ।
बसाइसराइ : माथिका यी सबै परिणामले नेपाली समाजमा अब हुन सक्ने मानव बसाइसराइको विभत्स चित्र उजागर गर्दछन् । अबको छोटो समयमा बसाइसराइको विपत्ति यसले निम्त्याउने देखन्छ ।