चितवन सडकमा दुध पोखियो, पाँचथरमा गोलभेंडा

चितवन सडकमा दुध पोखियो, पाँचथरमा गोलभेंडा

काठमाडौं । नेपालमा बहुमत प्राप्त ओलीको वाम सरकारले देशभरका किसानलाई आश्चर्यमा पारेको छ । किसानले गर्ने टुक्रे उत्पादनबाट उत्पादित थोरैतिनो कृषिजन्य उत्पादनले पनि बजार नपाएपछि हैरान भएका छन् । सुनुवाइ कही र कतै पनि हुन छाडेपछि उनीहरुले आफ्ना सामानहरु या त सडकमा फालिदिने या त अरुलाई निशुल्क बाँडिदिने गर्न थालेका छन् ।

नेपालका पूर्वी पहाडी क्षेत्रका किसानहरु अहिले उनीहरुले उत्पादन गरेको सोको लागि सरकारले कुनै पनि व्यवस्था गरिदिएको पनि छैन । गोलभेंडाले बजार नपाएपछि सडकहरुमा पोखेर विरोध जनाउन थालेका छन् । भखैरै मात्र पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकाका किसानहरुले उत्पादित गोलभेंडा सडकमा पोखेर सरकार र सरकारी नीति तथा व्यवहारप्रति रोष प्रकट गरेका थिए ।

किसानहरुको आरोप छ कि नेपालमा सरकारले कृषि तथा किसानका लागि कुनै योजना पनि बनाएको छैन । उनीहरुको भनाइ अनुसार सरकार विदेशी मालिकको सेवा गर्न, आफन्तहरुको पेट भर्न, घर घडेरी जोड्न तथा देशलाई दुर्घटनातिर मोड्न उद्दत रहँदै आएको छ ।

उनीहरु आफ्ना उत्पादन टाढाटाढा लगेर बेच्नसक्ने हैसियतमा पनि छैनन् र सरकारले साना किसानका लागि उत्पादन सहकारीका माध्यमबाट कृषि उत्पादन एक ठाउँमा जम्मा गरी स्वदेशमा वितरण वा विदेश पैठारी गर्ने व्यवस्था पनि मिलाएको छैन ।

यस्तै गरी चितवनका कृषकहरुले आफूहरुले पालेका गाइहरुबाट जम्मा गरेको दुध बिक्रिका लागि बजार नपाउँदा उत्पादित दुध सडकमा पोखेका छन् । गाई पालन निकै फस्टाएको चितवनमा हाल दैनिक तीन लाख लिटर दुध बजारमा आउने गरेको पनि बताइन्छ । किसानहरुले सडकमा दुध पोख्ने अवस्थाको अन्त्य कहिले हुने भनी सरकारी अधिकारीहरुलाई बारम्बार प्रश्न गरिरहेका छन् ।

हाल बनेको बहुमतको सरकारले छिमेकी देशहरु चीन र भारतसहित अरु देशहरुसँग पनि व्यापार सम्झौता गरेको छ । त्यहाँका सामानहरु नेपालमा निकासी गरिन्छन् । एकलौटी रुपमा तिनले नेपालमा उपभोक्ताको बजार पाएका छन् । तर नेपाली कृषि उत्पादन तथा सामानहरु विदेशमा कतै र कहीं पनि बिक्रिका लागि ढुक्कताका साथ पठाउन नेपाल सरकारले न त पहल गरेको छ, न त सो हैसियत पनि कायम गर्न सकेको छ ।

कृषिप्रधान देश भनेर चिनिने नेपाल र नेपालको सरकारले कृषि उत्पादित सामानहरु विदेश पठाउने सोंचसम्म बनाएको पाइँदैन ।