काठमाडौं । अन्ततः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिए । मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलन गरेर पत्रकारहरुका माझमा मंगलबार मन्त्री तामाङले आफ्नो राजीनामा घोषणा गरेका हुन् । आधिकारिक रुपमा उनले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री ओलीलाई बुझाउनुपूर्व नै नैतिकताका आधारमा आफूले राजीनामा दिएको भन्दै पत्रकारसामु सार्वजनिक गरेका थिए ।
बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राहरुले डक्टरेटको प्रमाणपत्र प्राप्त गर्न आफ्नो शरीर सुम्पनु पर्ने जस्तो अस्मितासँग जोडिएको अभिव्यक्ति दिएपछि मन्त्री तामाङ आलोचनाको चौघेरामा परेका थिए ।
आफ्नी जीवन संगिनी उषाकला राईसहित पत्रकार सम्मेलनमा पुगेका मन्त्री तामाङले आफू आजका मितिसम्म महिला अधिकारका कुरा उठाउँदै आएको र आज त्यही कुराले आफूलाई खेदो गरेको दुखेसो पोख्दै गर्हौं मनका साथ पत्र पढेर सुनाएका थिए ।
आफ्ना कार्यकालका कामहरु चर्चा गर्दै गर्दा गला अवरुद्ध पारेका तामाङले भनेका थिए– ‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’
जाँदाजाँदै मन्त्री तामाङले आफ्नो कार्यकालमा मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानून तयार भई अगाडि बढिसकेका र ती क्याविनेटबाट छिट्टै पारित हुने आशा पनि पत्रकार सम्मेलनमा व्यक्त गरेका थिए ।