काठमाडौं । स्थानी सरकारले स्थानीय स्रोतसाधनमाथि कर लगाएर कर असुली गर्न थालेपछि संघीय सरकारले उक्त काम गर्न र गराउन तुरन्त रोक लगाउनुपर्ने पत्र काटेको छ । स्थानीय सरकारका रुपमा रहेका गाउँपालिका तथा नगर, महानगर र उपमहानगरपालिकाहरुले स्थानीय बजेटमा उल्लेख गरेअनुसार प्राकृतिक तथा मानव निर्मित आयस्रोत र साधनहरुलाई परिचालन गर्न कर उठाउन थालेका हुन् ।
स्थानीय वनजंगल, नदी, ढुंगा, बालुवा, गिट्टी, पानी आदिमा कर निर्धारण गरी असुली गर्न थालेपछि संघीय सरकारले उक्त काम स्थानीय सरकारलाई गर्न भनेर संघीय सरकाले अझैं पनि अधिकार प्रत्यायोजन नगरिसकेको बताएको छ ।
नियम पनि नबनेको र स्थानीय तथा केन्द्रीय सरकारबीचमा स्रोतको बाँडफाँड पनि नभइसकेकाले उक्त कार्यमा हात हाल्न स्थानीय
सरकारलाई छूट नभएको पनि बताएको छ । तर स्थानीय सरकारले स्थानीय बजेट प्रस्तुत गर्दा आफूहरुले लिने करका स्रोतहरु प्रस्ट रुपमा खुलाएको र ती स्रोतहरुबाट नयाँ आर्थिक वर्षदेखि कर लिन थालेको बताएका छन् । यी स्रोतहरु स्थानीय सरकारका स्रोतहरु भएका र केन्द्रको दाबी यी स्रोतहरुमा हुन नहुने पनि बताएका छन् ।
तर केन्द्रीय सरकारले भनेको छ ऐन तथा नियम र नियमावलीहरु पनि बनिनसकेको र मुख्य कुरा त तीन तहका सरकारहरुबीचमा स्रोत बाँडफाँडको अवधारणा, विधि र प्रक्रियाहरु नै बनी नसकेको अवस्थामा स्थानीय सरकारले केन्द्रलाई नसोधेर कर असुली गर्न पाउँदैन ।
स्थानीय सरकारका सरकार प्रमुखहरु भने यसरी स्थानीय स्रोत साधनहरुमा संघीय सरकारले अंकुश लगाउन खोजेर केन्द्र सरकारले उनीहरुलाई निकम्मा र अलोकप्रिय बनाउन खोजेको आरोप लगाउन थालेका छन् । दैनिक विकास निर्माणका काम स्थानीय तहमा निकै द्रुतताका साथ चल्ने र यी असार र साउनका दुई महिना त वर्षभरिका बाँकी रहेका कामहरु पनि फाइनल गर्नुपर्ने भएकाले स्थानीय स्रोत र साधनहरुको बढी परिचालन र उपयोग हुने बताएका छन् ।
स्थानीय सरकारका सरकार प्रमुखहरुले उही भाषा दोहर्याई तेहर्याई भन्ने गरेका छन् केन्द्र सरकारले हामीहरुलाई निकम्मा र अलोकप्रिय बनाउन यी सारा कदम चालेको हुनुपर्छ । स्थानीय र संघीय सरकारका बीचमा अहिले स्रोतसाधनको बाँडफँड र उपयोगको विषयलाई लिएर निकै तीखो शीत युद्ध चलिरहेको छ ।
कर कार्यालयका अनुसार पौष, चैत्र र असार गरी एक वर्षभित्रै तीन चौमासिकका हिसाबले कर चुक्ता गर्नुपर्ने हुन्छ । यसले स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारका हकमा जानकारीका लागि यथासमयमै पत्राचार गरिसकेको बताएको छ ।