दाहालको निर्वाचन क्षेत्रमा बजेटको आहाल

प्रकाशित मिति : २०७५ असार ३०

 

 

 

 

 

 

 

 

 

काठमाडौं । ने क पा का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिकामा २ अर्ब बजेटको बाटो निर्माण आयोजनाको उद्घाटन गरेका छन् । चितवनको गौरबको आयोजना मानिएको यो आयोजनाले चितवनमा रिङरोड, लिङ्करोड र मूल रोडलाई जोड्ने छ ।

यो गौरवको आयोजना कार्यान्वयनका क्रममा भरतपुर रिङरोड निर्माण गरिने छ । भरतपुरस्थित घौलाघारी र पुल्चोक गरी दुई स्थानबाट रिङरोड निर्माण कार्य प्रारम्भ हुने जनाइएको छ । निर्माणसँगै रिङभित्रको ९५ किलोमिटर बाटो कालोपत्रे पूरा गरिने छ । करिब ७ मिटर चौडाइ रहने उक्त रिङरोड निर्माण पछि भरतपुरवासीलले साच्चिकै महानगरपालिकाको महसुस गर्ने स्थानीय जनताको मत रहेको छ ।

२ अर्ब बजेटको यो परियोजना अन्तर्गत निर्माण कार्य २ बर्षभित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौताकर्ताहरुले बताएका छन् । सम्झौतामा ठेक्का लिनेहरुमा कान्छाराम सन्तोषी डाँफे जेभी र रमन शिवशक्ति जेभीसहित अन्य सानातिना निर्माण कम्पनीहरु पनि जोडिएका छन् ।

एकातिर सडक निर्माणको अर्बौ बजेटसहितको यो गौरवपूर्ण आयोजना कार्यान्वयनको उद्घाटन र प्रचारप्रसारहुँदै गर्दा अर्कातिर डुबान र बाढीपहिरो तथा भूकम्प पीडितहरुको घरघरमा उद्दार, राहत तथा निर्माणका कुनै पनि सामग्री पुग्न नसक्नुले त्यहाँका जनतालाई खिन्न बनाएको छ । उनीहरु सरकारप्रति आक्रोशित पनि भएका छन् ।

समाजवाद निर्माण गर्ने भन्दै समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएका सत्तासीन पार्टीका अध्यक्षहरुले यसरी मनपरि किसिमले पहुँचका आधारमा आआफ्ना निर्वाचन क्षेत्रमा देशको ढुकुटी ओहिर्याउने हो भने सिङ्गो देशका जनताले के पाउने ? यो प्रश्न अब आम जनताको प्रश्न बनेर उभिएको छ ।