कति जायज छ दाहाल ‘छबिलाल’को आदेशमा छबिलाल पौडेलको आत्मसमर्पण ?

प्रकाशित मिति : २०७५ असार ३०

 

 

 

 

 

 

 

 

 

काठमाडौं । एक जमानाका क्रान्तिका नायक मानिएका दाहाल ‘छबिलाल’को निर्देशनमा ८२ वर्षिय छबिलाल पौडेल सर्वोच्च अदालतमा आत्मसमर्पण गर्न हाजिर भएका छन् । उनलाई लामो समयदेखि वीर अस्पतालमा अनसनरत गंगामायाको अनसन तोडाउन यसो गरिएको थियो । पौडेल हाल कारागार चलान भएका छन् । गंगामायाले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपीलाई गिरफ्तार गरेर सजाय दिइयोस् भनी लामो समयदेखि वीर अस्पतालमा अनसन बसिरहेकी थिइन् ।

सबैलाई थाह छ, गंगामायाको अनसनभित्र आत्मिक पीडा छ, जुन अनसन स्थगन नगर्दासम्म उनले भौतिक रुपमा भोगिरहिन् र भोगिरहेकी छिन् । उनी सिंगो नेपालको एकमात्र पात्र पनि होइनन्, जसले यो पीडा एक्लै भोगकी छन् । यो खाले समान पीडा नेपालमा लगभग १४ हजार घरपरिवारले भोगेको र भोगिरहेको छ ।

गंगामायाले लामो समयदेखि हत्याका आरोपितमाथि छानबिन गरी सजाय दिने कुराको माग राखी अनसनमा बसिरहिन् । उनले भोगेको पीडा र तदनुरुप उब्जिएको भावनात्मक अभिव्यक्तिलाई सार्वजनिक गरिन् । अरु पीडित १४ हजार घरपरिवारले यसरी आफ्ना पीडा र भावना अभिव्यक्त गरेनन् । यसको अर्थ यो होइन कि उनीहरुमा त्यो समवेदना, भावना र त्यो दुखाइ नै छैन । तर उनीहरु संयमित भए, समाजमा शान्ति, भावनात्मक एकता र पुनर्मेलमिलापका लागि । सिर्जित समस्याको राजनीतिक समाधानका लागि सबैले स्वीकार गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन, काम कार्यान्वयन र मेलमिलापको सिंगो प्रक्रियामा उनीहरु सहमत भए । सहभागी भए ।

तर गंगामाया बदलाको भावले ओतप्रोत भइन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उनले विश्वास गरिनन् । द्वन्द्वकालका मुद्दा र घटनाहरुको निदान र समाधानका लागि उनले सामूहिक प्रयासमा विश्वास गरिनन् । त्यसलाई लत्याइन् । विशेष अदालतको गठन र त्यसका काम कार्यवाहीमा उनी सहभागी भइनन् । जब कि संवैधानिक रुपमा त्यो अदालतले आफ्ना काम कार्वाहीलाई अघि बढाइरहेको छ । उनी ‘आँखाको बदला आँखा’ र ‘कानको बदला कान’ लिने न्यायको खोजी गर्नु नै सत्यको खोजी हो भन्ने निस्कर्षमा अडिग रहिन् ।

समाजमा थुप्रै खालका अन्तरविरोधहरु छन्, त्यो मध्ये राजनीतिक अन्तरविरोध सबैले देख्ने र सबै सहभागी हुने गरी अभिव्यक्त हुन्छ । राजनीति विचारमा आधारित हुने भएकाले त्यो परस्पर विरोधी र द्वन्द्वमय हुन्छ । तर यो राजनीतक र वैचारिक चरित्रलाई अलग्याएर गंगामायाले उठाएको कुरालाई कसैकसैले विशुद्धताको जलप लगाएर भजाउन थाले । केही मानवअधिकारवादी, केही गैरसरकारी संघसंस्थाहरु र केही अरु, जो नेपालमा क्रान्ति, परिवर्तन र रुपान्तरण होइन, अन्त्यहीन द्वन्द्व निम्त्याएर डलरको खेती गर्दै खान चाहन्छन्, त्यस्ताखाले समाज भँडुवा मनुवाहरु समस्याको समाधान भन्दा पनि समस्याको अनिदान र उपचारहीन रोगग्रस्ततालाई बढावा दिन उद्दत रहे र अझैं रहिरहेका पनि छन् । तिनले समाजलाई मेललिापको दायराबाट एउटा लकडबग्घा (हायना) ले झैं बाहिरतिर तान्न बल गरिरहेका छन् ।

यस बाहेक भन्दा र सुन्दा निकै सुरवीर र परिवर्तनको नायक जस्तो लाग्ने र यथार्थमा कायर र भगौडा र आत्मसमर्पणकारी पुस्पकमल दाहाल जस्ता मनुवाहरुले छबिलाल पौडेललाई क्रमशः थप द्वन्द्वका कारक बनाउँदैछन् । कुरा पनि अचम्मकै छ, एउटा ८२ वर्षे छबिलाल पौडेल, जो नेपालमा १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धको बेला आफ्नै घरमा बस्ने एउटा सामान्य सर्मक वा शुभचिन्तक भन्दा माथिल्लो हैसियतकै थिएन, ले जनयुद्धको महानायक भनिएको र हालको गद्दार र कायर अर्को छबिलाल पुस्पकमल दाहालको कथित निर्देशन मानेर सर्वोच्च अदालतमा आत्मसमर्पण गरे । यो आठौं आश्चर्यको कुरा ! जबकि छबिलाल पौडेलको मुद्दा विशेष अदालत र मेलमिलाप आयोगमा विचाराधीन र फैसलाको अवस्थामा छ ।

देशभरका जनता प्रश्न गरिरहेका छन्– ‘विचार र राजनीति सिद्धिएको दाहाल छबिलालको छाला र हड्डी जोगाइदिन अझैं कति जना अरु छबिलालहरुले आत्मसमर्पण गरिदिनु पर्ने हो ?’ त्यसो भए सत्यनिरुपण तथा मेलमिलाप आयोगप्रति जनताको भरविश्वास कसरी रहन सक्छ ? दाहाल स्वयम् त्यो आयोगप्रति कति प्रतिबद्ध छन्  ? उनी हाल चलिरहेको मेलमिलाप आयोगको काम छोडेर बिकेका त छैनन् ? जेल परेका मात्र होइन, जेलबाट छुटाइएका बालकृष्ण ढुंगेलले गुनासो पोख्ने गरेका छन् कि उनी कुनै त्यस्ता अपराधी होइनन् जसलाई राष्टपतिले क्षमादान र जीवनदान दिई मुक्त गरोस् ।