काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट बुद्धिजीवी, प्राध्यापक, जनसाँस्कृतिक÷पत्रकार महासंघले संयुक्त रुपमा एक वक्तव्य जारी गरी गत १४ दिनदेखि चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखी अनसनरत डा. गोविन्द केसीका जायज मागहरुप्रति सरकारले देखाएको उदासिनताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै डा. केसीका जायज माग पूरा गर्न जोडदार माग गरेका छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालका संयोजक हुकुमबहादुर सिंह र क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ, “गत १४ दिनदेखि चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखी जुम्लामा अनशनरत डा. गोविन्द केसी राखेका जायज मागहरुप्रति सरकारले देखाएको उदासिनताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको अवस्थामा उनका मागहरुप्रति गम्भीर र संवेदनशील बन्दै ओली सरकारले तत्काल वार्ता गरी जायज मागहरुको सम्बोधन गरोस् भनी हामी जोडदार माग गर्दछौं ।”
वक्तव्यमा अगाडि भनिएको छ, “धेरै अगाडिदेखि डा. केसीले चिकित्सा क्षेत्र सुधारका लागि पटक पटक राखेका मागहरुप्रति सरकारले गर्दै आएको बेवास्ता र माफियाहरुसँगको साँठगाँठले ओली सरकारको कथित वाम अनुहार उदांगिएको छ । हामी अनशनरत डा. केसीसँग तत्काल वार्ता गरी जायज मागहरु पूरा गर्न र केसीको जीवन रक्षा गर्न पुनः माग गर्दछौं ।”