जनयुद्ध र सांस्कृतिक रुपान्तरण

जनयुद्ध र सांस्कृतिक रुपान्तरण

 

 

 

 

 

 

 

 

 

देशमा अत्याचार बढेपछि, शान्ति खल्बलिएपछि, सत्तामा रहेकाहरुको आडमा सत्ताका मतियारहरुको मनपरितन्त्र चल्न थालेपछि गाह्रो हुँदोरहेछ त्यो देशका सचेत नागरिकहरुले चुप लागेर बस्न । सल्किंदो रहेछ विद्रोहको राँको अनि जेठको खडेरीमा सल्केको डढेलोझैं फैलिंदोरहेछ अकल्पनीय ढंगले पात पतकरहरुलाई खरानी पार्दै ।

यो दशबर्ष लामो जनयुद्ध यसैको परिणाम थियो । केयौं खप्पिस खप्पिस राजनीतिक ज्योतिषहरुको भविष्यवाणीलाई लोप्पा खुवाउँदै नेपालको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा समेत प्रभाव बिस्तार गर्दै जनयुद्ध छलाङ्मय गतिमा अगाडि बढ्यो । अन्ततः २०६२ साल चैत्र २४ गतेदेखि सारा जनता ओल्र्हिए सडक सडकमा । जनआन्दोलनको राँकोले शहर धप्प बल्यो । तातिए सडकहरु, सोझिए आन्दोलनका लप्काहरु राजदरबारतिर । अनि राजा ज्ञानेन्द्र बाध्य भए– नेपाली जनताको नासो जनतालाई नै फिर्ता गर्न । यसरी दश बर्षको जनयुद्धको जगमा टेकेर नेपाली जनताले चलाएको १९ दिनको आन्दोलनले नेपाली राजनीतिक संस्कारको कायापलट गरिदियो र तिनै राजाद्वारा ब्युँताइएको संसदले ‘मरेको बाघको जुँघा’ उखेलिदियो । यो सानो लेखमा विगत दश बर्षको जनयुद्धको क्रममा सांस्कृतिक क्षेत्रमा देखापरेका रुपान्तणका बारेमा संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

पुरानो संस्कृतिको ध्वंश र नयाँ संस्कृतिको विकास

लिच्छविकालदेखि सामान्य रुपमा चल्दै आएको पेशाको आधारमा जातको वर्गीकरण गर्ने परिपाटि मल्लकालसम्म आइपुग्दा अझ विकसित भएर गयो । सामाजिक÷आर्थिक सुधारको नाममा गरिने कतिपय कामहरुले मानिसलाई वर्गीकरण गर्दै लग्यो । पेशाको आधारमा उँचनीच जाति हुनथाल्यो । अलि घटिया खालको काम गर्नेहरु क्रमशः अछूत मानिंदै जान थाले । यहाँसम्म कि पेशाको आधारमा मानिसले लगाउने पहिरन र आभूषणको समेत वर्गीकरण गरियो ।

यसरी लिच्छविकाल, मल्लकाल हुँदै शाहवंशीय राज्यकालसम्म आइपुग्दासम्म पनि समाजमा छूतअछूत जातिको रुपमा मानिसलाई भेदभाव गर्ने परिपटि कायमै रह्यो । अछूत जातिका मान्छेहरुलाई सरकारी उच्च ओहदामा पुग्ने अवसरबाट वञ्चित गरियो । संविधानमा जातको आधारमा कुनै भेदभाव नगरिने उल्लेख गरिए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेन । दलितहरुलाई सार्वजनिक वस्तुको उपभोगमा समेत प्रतिबन्ध कायमै रह्यो । तर जब जनयुद्ध शुुरु भयो युद्धमा थुप्रै दलितहरुको सहभागिता बढ्यो । कार्यकर्ता पंक्तिबाट शुरु भएको सहभोज, सहबासको प्रक्रिया जनताको स्तरसम्म बिस्तारित भयो ।

गाउँगाउँमा सहभोज कार्यक्रम चलाएर सबै जात जातिका मान्छे संगै बसेर खाने, हात मिलाउने आदि हुँदै जान थाले । उपल्लो जातिका मानिसहरुले पनि कथित तल्लो जातिका भनिनेहरुलाई आफ्नो घरमा प्रवेश गर्नमा कुनै आपत्ति जनाएनन् । अन्तर्जातीय विवाहलाई ने.क.पा.(माओवादी)ले प्रोत्साहन गरेर लग्यो । मान्छेका रहनसहन, पहिरन, आभूषण, लवाइ खवाइ, विवाह तथा मृत्यु संस्कारमा पनि उल्लेख्य रुपमा परिवर्तन भएको देख्न सकिन्छ । नेपालका कतिपय जाति÷जनजातिहरु परम्परादेखि नै गाईको मासु खाने गर्दथे । स्वास्थ्यको लागि हानिकारक नभएपनि कानूनमा गाईको बध गर्नु अपराध मानिने भएकोले मरेको मात्र खाने चलन थियो । जसले गर्दा रोगी पशुहरुको मासुको सेवनबाट मान्छेमा समेत रोग फैलन सक्ने खतरा रहन्थ्यो । ने.क.पा.(माओवादीं) ले मरेका पशुहरुको मासु सेवन गर्न प्रतिबन्ध लगाएपछि मान्छेहरु गाई खान थाले र त्यसलाई पार्टी र जनसत्ताले वैधता प्रदान ग¥यो ।

महिलाहरुले गहनालाई दासताको प्रतीक मान्दै आफूसंग भएका गहनाहरु धमाधम आफ्नो संगठनलाई बुझाउन थाले । महिलाप्रति हुने उत्पीडनका विरुद्ध हजारौं महिलाहरुको जनयुद्धमा सहभागिता बढ्यो । त्यसमा पनि जनमुक्ति सेनामा महिलाहरुको उल्लेख्य सहभागिताले उनीहरु आङ्खनो हक अधिकार प्राप्तिका निम्ति कति सचेत छन् भन्ने कुरालाई पुष्टी ग¥यो । अन्धविश्वासमा आधारित प्रतिगामी खालका चाडवाड, मेलापर्वहरु क्रमशः निषेधित हुँदै जानु, युद्धमा जाँदा र युद्धबाट फर्किंदा हजारौं जनसमुदाय भेला भएर जनमुक्ति सेनालाई बिदाई तथा स्वागत गर्ने जस्ता संस्कार विकसित भएर गए ।

महिलाहरुलाई विवाहपश्चात् युद्धमा निरन्तरता दिइराख्न धेरै व्याहारिक कठिनाइहरु हुने गर्छन् । खासगरी जनमुक्ति सेनामा खट्ने महिलाहरुलाई सन्तान जन्मिसकेपछि उनीहरुको पालन पोषण र हुर्काउनमा समय दिनुपर्ने भएकोले घरमै अथवा शिविरमा रहन बाध्य हुनुपर्छ । जसले गर्दा पुरुषहरु नै बढी बाहिर खटनपटन हुने, कतिपय पुरुषहरु युद्धकै कारण विदेश पलायन हुने गर्दा महिलाहरुमाथि पारिवारिक जिम्मेवारी स्वभाविक रुपले बढेर गएको छ । घरको आर्थिक तथा व्यवहारिकलगायत सम्पूर्ण कामहरुको जिम्मेवारीले गर्दा उनीहरुमा आत्मनिर्भर बन्न सक्ने क्षमताको विकास भयो ।

साहित्यिक आन्दोलनमा नयाँ आयाम

जनयुद्धको दश वर्षको अवधिमा साहित्यिक आन्दोलनमा समेत महत्वपूर्ण उपलब्धी भएका छन् । नेपाली साहित्यको आधुनिक कालमा प्रगतिवादी–यथार्थवादी धारामा अर्को नयाँ चरण थपिएको छ– क्रान्तिकारी धारा । यस चरणमा सिर्जना भएका साहित्यहरुलाई अध्ययन गर्दा त्यसमा स्पष्ट रुपमा वर्ग विभाजन भएको पाइन्छ– प्रतिक्रियावादी धारा र क्रान्तिकारी धारा । प्रतिक्रियावादी धाराले उत्तरआधुनिकतावादी दृष्टिकोणलाई आफ्नो भावभूमि बनायो भने क्रान्तिकारी धाराले वर्गसंघर्ष र युद्धलाई । बीचमा रहेका जो प्रगतिवादी हुन् ती कि त क्रान्तिकारी धारमै समाहित भए कि त बन्दुकको सामु झुके । जो कतै पनि सामेल हुन सकेनन् ती गतिमन्द नै भए ।

साहित्य मनका भावनाहरु अभिव्यक्त गर्ने माध्यम पनि हो । मान्छेले आफूभित्रका पिडा, खुशी, हाँसो, रोदन, गीत संगीत र साहित्यकै माध्यमबाट अभिव्यक्त गर्दछन् । द्वन्द्वको कारण ज्यान गुमाएकाहरुको आफन्तका पीडाहरु गीत संगीतको र साहित्यको माध्यमबाट उद्बोधित भए । युद्धमा एउटै मोर्चामा लड्दा लड्दै आफ्नो सहयोद्धा ढल्दा, लामो समय आफ्ना परिवार, आफन्तजनसंग भेट्न नपाउँदा, कैयौं रात भोकभोकै, अनिंदै जुकासंग लड्दै, भीरपहरामा ठोक्किंदै, घाइते बिरामी साथीहरुलाई कहिले बोकेर, कहिले चीसो माटोमा पुरेर हिंड्नुपर्दा कति पीडा हुन्छ होला ? तिनै अकथनीय पीडाहरुलाई लिपिबद्ध गर्दै जाँदा अत्यन्त सुन्दर साहित्य बन्न पुगेका छन्, युद्ध साहित्य बनेका छन् । यसले नेपाली बौद्धिक जगतमा रहेको ‘सुन्दर साहित्य साहित्यमा डिग्री हासिल गरेकाहरुले मात्र रचना गर्न सक्छन्’ भन्ने भ्रमलाई मेटिदिएको छ र ‘साहित्य मान्छेका मनका भावनाहरु छताछुल्ल भएर पोखिंदा उत्पन्न हुने रसयुक्त अभिव्यक्ति हो’ भन्ने कुरालाई स्थापित गरिदिएको छ ।

यो दश वर्षको अवधिमा साहित्यले सामाजिक विकृति र विसंगतिहरुको विरुद्धमात्र संघर्ष गरेन, राज्ययन्त्रद्वारा भएका क्रुर हत्या, दमन, लूटपाट र आतंकका विरुद्धसमेत डटेर मुकाबिला गर्यो । प्रतिक्रियावादी राज्यसत्ताको बन्दुकभन्दा पनि सशक्त भएर गीत, संगीत र साहित्यले प्रतिरोध गरिनै रह्यो । पार्टीभित्रै देखापर्ने फूट, गूटबन्दी, विर्सजन, पलायनका विरुद्धसमेत धावा बोल्दै विभिन्न खालका गलत कार्यशैलीप्रति असहिष्णु बनेर कलाकार साहित्यकारहरु खरो रुपमा उत्रिए ।

सौन्दर्य चिन्तनको क्षेत्रमा समेत नवीनतम दृष्टिकोण विकसित भएर आयो । युद्धमै जीवन देख्ने, संर्घषमै अस्तित्व खोज्ने, हाँस्दाहाँस्दै रुनुपर्ने, रुँदारुँदै हाँस्नुपर्ने मानवीय विवशता, बाध्यताभित्र पनि मान्छेले सुदूर क्षितिजमा नयाँ बिहानीको सूर्य उदाउन लागेको देखिराखेको छ ।