उच्च शिक्षामा बिदेशिंदै करोडौं राशी

प्रकाशित मिति : २०७५ असार २१

काठमाडौं, असार २१ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि भनेर हजारौं युवायुवतीहरु प्रत्येक वर्ष विदेशिंदा करोडौं नेपाली रुपैया विदेश जान थालेको छ । देशमा प्रत्येक वर्ष विदेशिने लाखौं युवाहरुको विप्रेशनबाट बजेट बनाएर समृद्धिको सपना बाँड्दै गरेका बेला उच्च शिक्षामा विदेशिने उत्तिकै मोटो रकमको लेखाजोखा कमैले मात्र गरेका हुन सक्छन् ।

२०७४,०७५ को शैक्षिक सत्रमा नेपालबाट करिब ३४ अर्ब नेपाली रुपैया विदेशिएको छ । शिक्षाविदहरुको अनुमान छ कि यो शैक्षिक सत्र २०७५,०७६मा त्यो रकम बढेर ४० अर्बको हाराहारीमा पुग्ने छ । यो क्रम बढ्दो भएकाले निकै चिन्ताजनक पनि छ ।

उच्च शिक्षा अध्यनका लागि नेपालमा सिङ्गो त्रिभुवन विश्वविद्यालय पनि छ । यस अतिरिक्त पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पश्चिमाञ्चल विश्वविद्यालय पनि खुलेर उच्च शिक्षाामा टेवा दिइरहेका छन् । मेडिकल कलेजहरु पनि सञ्चालनमा आइरहेका छन् । सीटीइभीटी जस्ता प्राविधिक शिक्षालयहरु पनि चलि रहेका छन् । सरकारले वन तथा कृषि क्याम्पसहरु पनि सञ्चालन ल्याइरहेको छ । यी विद्यालयहरुमा विभिन्न शैक्षिक विधाहरुको अध्ययन अध्यापन गर्ने गरिएको छ ।

तर जनताको गुणस्तरीय शिक्षाको तीर्खा भने अझैं पनि मेटिएन । हुनेखाने जनता आफ्ना छोरछोरीहरुलाई विदेशमा पठाएर भए पनि गुणस्तरीय शिक्षाको पछि लागिरहेका छन् । नेपालमा सरकारी तथा प्राइभेट शैक्षिक संस्थाहरुले आफूसक्दो शिक्षा पनि दिइरहेका छन् । तर पनि विदेशी उच्चस्तरीय शिक्षाको भोक जनताका बीचमा रहि नै रहेको छ ।

प्राध्यापन गरिरहेका प्राध्यापकहरु, विद्यालयमा पढाइरहेका शिक्षकहरु र स्वयम् अभिभावकहरु पनि नेपालको शिक्षामा त्यति सन्तुस्ट देखिएका छैनन् । उनीहरु आफू पनि शिक्षाका सम्बन्धित पक्षहरु हुन् तथापि ती सबैले दोष र आक्रोश सरकारमा थोपरिरहेका छन् । विद्यार्थीहरु त सरकारी तथा निजी शिक्षालयहरुमा पनि चाहेको जति शिक्षाको गुणस्तर नै नभएको बताउँछन् ।

२०७५, ०७६को वार्षिक बजेटमा शिक्षामा निकै कटौती गरिएको छ । यसबाट पनि जनता त्यति आशावादी देखिएका छैनन् । निजी शिक्षा निकै महङ्गो भएको र सरकारी शिक्षामा गुणस्तर नै नभएको उनीहरुको गुनासो छ । अर्कोतिर नेपालमा शैक्षिक माफियाको चलखेल पनि निकै बढिरहेको छ ।

शिक्षासँग साथमा जोडिएको अर्को पक्ष हो, रोजगारी । बेरोजगारीको अवस्थाले पनि नेपाली युवाहरुलाई शिक्षा आर्जन गर्ने आडमा विदेशिन प्रेरित गरिरहको छ । अस्ट्रेलियामा लाखौं युवा विद्यार्थी थुप्रन पुग्नुको कारण पनि शिक्षा र रोजगारी एकै ठाउँमा जोडिन जानुले हो ।

यस्तो अवस्थामा नेपालमा शैक्षिक गुणस्तर ल्याई देशलाई शैक्षिक हबका रुपमा कसरी विकास गराउने भन्ने चुनौती सबैका माझमा छ । यदि त्यसो गराउन सकियो भने मात्र नेपालको पैसा नेपालकै अध्ययनमा खर्च हुने थियो ।