बिहानको ८.० बजेको थियो । हामी डडेल्धुराबाट बैतडी प्रस्थान गर्यौं । राष्ट्रिय झण्डा र युवा विद्यार्थीको झण्डासहित बैतडी पुगेपछि पुलिस प्रशासनलाई जानकारी गराउँदै टोली अगाडि बढ्यो । राजनैतिक ज्ञानको अभावमा कतिपय प्रहरीहरुले (क्रान्तिकारी माओवादी) नभनी विप्लव समुह भनेर रिपोर्ट गर्दा रहेछन् । त्यसले गर्दा अनावश्यक सोधपुछले बीच–बीचमा हैरान पार्ने काम पनि भयो ।
चैत्र २७ गते बिहान ११.० बजे हामीले बैतडीको पाटनमा गएर कोणसभा सम्पन्न ग¥यौं । सानो साउण्ड बक्सको माइक्रोफोन बिग्रिएको थियो । बिना माइक बोल्दा पनि जनसमुदायले ध्यानपूर्वक सुनेर हामीलाई उत्साहित बनाउनु भयो । बिहानको खाना पाटनमा खाएर हामी दार्चुलाको लागि प्रस्थान ग¥यौं । दार्चुलाको पारि गोकुलेमा चैत्र २७ गते नै अर्को कोणसभा गर्यौं । २१ गते देखिको हामीले सीमा निरीक्षण, अनुगमन र जनतालाई जागरुक बनाउदै हामी दार्चुलाको हिउँदे अन्तिम मानव वस्तीसम्म पुगेर सप्तरीका तिलाठीका जनताले जस्तै व्यास गाउँपालिका दुम्लिङका जनताले गरेको साहसी कामको बारेमा जानकारी गरायौं । त्यसप्रति ऐक्यबद्धता जनाउँदै गोकुलेका जनताले दिएको न्यानो माया लिएर हामी दार्चुलाको सदरमुकाम खलङ्गा प्रस्थान गर्यौं ।
२०७२ श्रावणमा हाम्रै पार्टीको विद्यार्थी सङ्गठनले ‘लिपुलेक जाऔं’ अभियान चलाउँदा भारतीय गुप्तचर संस्था रअले दुख दिएको थियो । धार्चुलामा सतर्क पोजिसनमा बसेको रअले ‘लिपुलेक जाऔं’ भन्ने टोपी लगाएको विद्यार्थीलाई सीमा पुलको बीचबाटै गिरफ्तार गरेर सीमा पारि लगी यातना दिएको थियो । अपशब्द बोल्दै अभद्र व्यवहार गरेको थियो । त्यसैले हामीले दुम्लिङ नपुगी यता केही कार्यक्रम नगर्ने भनेर राती ९.० बजेतिर हामी दार्चुला खलङ्गा पुग्यौं । दार्चुलाको पार्टीले खाने र बस्ने व्यवस्था मिलायो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय एकआपसमा सम्बन्धित भएपनि भावनात्मक सम्मोहनको मात्रा फरकफरक हुनाले हामीले पौने तीन करोड नेपालीको विषयलाई साझा बनाउनु जरुरी पर्छ । जसले गरे पनि राष्ट्रियताको आन्दोलनलाई सहयोग र समर्थन गर्नुपर्छ ।
भारत–चीन युद्धको बेला २०१८ सालदेखि मिचिएको जमीनको पर्दाफास बहुदल आएपछि मात्र भयो । आपूmलाई राष्ट्रियताको मसिहा ठान्ने पञ्चायतले देश र जनताका विरुद्धमा गरेका कामहरु कसरी लुकाएर राखेको रहेछ ? बाहिरबाहिर विस्तारवादको विरोध गर्नेले भित्रभित्र भारतसँग १९६५ को जीता गोप्य संझौता गरेको खुल्न आयो ।
कालापानी, लिम्पियाधुरा, लिपुलेकको सम्बन्धित राष्ट्रिय बहसमा ल्याउने ती सबै प्रेमसिंह धामी, मालेका राष्ट्रिवादी विद्यार्थीहरु अखिल क्रान्तिकारी, द्वारिकानाथ ढुङ्गेल, बुद्धिनारायण श्रेष्ठ सबैप्रति धन्यवाद दिनु पर्दछ । यहाँ एउटा भन्नै पर्ने कुरा के छ भने भारतले नाकाबन्दी लगाएको बेलामा योगेश भट्टराईको टिम गएको रहेछ कालापानीमा । भारत निकै उत्तेजित भइरहेको र नेपालीहरुलाई झन् बढी हेपेको बेलामा त्यहाँ पुग्दा सिमानामा तैनाथ एस.एस.वी. आई.टी.एफ. ले टाढै बाट हतियार लोड गरेर ताकेर तर्साएछ ।
हाम्रो गतिविधिबारे जानकारी लिन र अन्य सर सहयोग गर्न दार्चुलाका डि.एस.पीले हामीसँगै पठाइ दिएका १ जना हवल्दार र प्रहरी जवानले अहिलेसम्म कालापानीमा राष्ट्रियताको पक्षमा भए गरेका काम कार्यवाही आएका टीम र राष्ट्रिय जागरण र आन्दोलनका कार्यक्रमबारे जानकारी गराउँदै हामीसँग बाटैभरि गफ गर्ने क्रममा थाह भयो । योगेशको टोली ४ कि.मी. वरै राष्ट्रिय झण्डा गाडेर फर्किएछ उनीहरु फर्किएपछि भारतीय सीमा रक्षकले उनीहरुले नै सीमा त्यही हो भनेर झण्डा गाडेपछि हामीले के भयो र भनेर झण्डा भएकै ठाउँमा पक्की पिल्लर बनाएछ । प्रहरी जवानले त्यो कुरा जिल्लामा जानकारी गराएपछि झण्डा झिकेर ल्याउनु भन्ने प्रशासनको आदेशअनुसार झण्डा त झिकियो, तर पक्की पिल्लर त्यही छ ।
योगेशजी ताप्लेजुङबाट सांसद जित्नु भएको खोइ त समाधान ? भन्ने खालका प्रश्नहरु पनि उठे । यो कुरा थाह पाएका दार्चुलाका जनताले अब तिमीहरु गएर नेपालपट्टी कति सीमा सारेर आउने हौ भन्ने ब्यङग्य वाण बाटाभरि हानिरहे । त्यसको असली कुरा त्यस्तो रहेछ २८ गते हामीले दार्चुलाका प्र.जि.अ. जनार्दन गौतम र प्रहरी नायव उपरीक्षक जनकराज शाहीसँग जानकारी र अन्तरक्रिया ग¥यौं । “संविधान प्रदत्त हक अधिकारमा रहेर काम गर्नु हिंसात्मक काम कार्यवाही गर्नु भने हामीले सोच्नु पर्छ” भन्ने कुरा राख्नु भयो किन यसो भन्नु भयो थाह भएन । हाम्रो अभियान शान्तिपूर्ण नै हो भन्ने कुरा जानकारी गरायौं र हामी दुम्लिङको लागि प्रस्थान ग¥यौं ।
बिहान नास्ता गरेर करिब १० कि.मी. महाकाली करिडोरको ट्रयाक खोलेको, तर गाडी चलाउन स्वीकृत नभएको बाटोमा राताकाटे भन्ने ठाउँमा मानिसलाई ओरालेर ४०० मिटर जति ड्राइभरले मात्र साना जीप र ट्रयाक्टर लाने गर्दा रहेछन् । दार्चुलाका २ जना जिल्ला सदस्य जगत धामी र कल्याण सिंह कुँवरलाई गाडीमा राखेर हामीले लग्यौं । उहाँहरुले ओराल्ने ठीक ठाउँ पत्ता लगाउन सक्नु भएन ।
हाम्रो ड्राइभर युवा र साहसी थिए तीनले गाडीलाई चढाइमा उकाले उकालोको अन्तिम विन्दुमा पुग्नै लाग्दा गाडीले तानेन र व्याक भयो । व्याक पनि कन्ट्रोल गरेर करीब १० मिटर तल झारे र भित्तापट्टी लान खोजेको चारै चक्का बटारिएर गाडी मोडियो । पछाडिको भाग महाकालीको डिलमा पुग्यो । गाडी खस्न १ फिट जति बाँकी हुँदा ब्रेक लाग्यो र हामी बाच्यौं । नत्र २०० मीटर महाकालीमा खसेर हाम्रो एक चिहान हुने थियो । भाग्य भनौ भने भौतिकवादी परियो, नेपाल आमाको सेवा गर्ने अभैm मौका रहेछ र बाँचियो । गाडी त्यहीबाट फर्काइदियौं र हामी ११ जना नेपालको झण्डा र युवा विद्यार्थीको झण्डा फहराउदै अगाडी बढ्यौं ।
महाकाली पारी धार्चुला तिरैतिर (छालै छाल) गाडीको बाटो सरर गाडी हिंडिरहेको छ । पारिबाट तीन घण्टामै दुम्लिङ पुगिन्छ । यतावारि भीर पहरा र कन्दराको बाटो झण्डा फहराउँदै नेपाल आमाको प्राकृतिक छटाले भरिपूर्ण हरियाली, छाँगा, छहरा, झरना, खोला (गाड) चिलाउने, उत्तीस र लाली गुराँसको हरियाली वनको अवलोकन गर्दै अगाडि बढ्यौं । बाटामा पानी आयो ।
बड्गाउँमा हामी एउटा घरमा ओत लाग्यौं । हाम्रो अभियानबाट प्रभावित भएर हामी खाना बनाउँछौं खाएर जानोस् भनेर त्यो घरका विद्यार्थीभाइले भने । हामीलाई घरभित्रै बोलाएर राम्रोसँग बस्ने व्यवस्था मिलाएर बिहान खाजा मात्र खाएर हिँडेका गाडीको लफडाले ढिलो भइसकेको र भोक लगिसकेको थियो । हामीले एउटा होटलमा खाना बनाइदिन प्रहरीको सहयोगमा खबर पठाएका थियौं । हामीले खाना त होइन भाइ, अलिकति खाजा बनाइदिनु भयो भने खान्छौं भन्यौं ।
भाइले परिवारलाई भनेर दुई घान गहुँ र भटमास भुटेर ल्याइदिए । करीब २.० बजेको हुँदो हो भोकमा त्यो खाजा अमृतसमान भयो । हामी ३.० बजे हुती पुग्यौं । टावरको समस्याले कुरा बुझिएन छ, खाना बनेको रहेन छ । चाउचाउ बनाउन लगाएर खायौं । त्यो बिहानको छाक पूरा भयो । हामी स्थानीयवासीलाई तीन घण्टा लाग्ने सुनसेरा जहाँ व्यास गाउँपालिका दार्चुलाको झण्डै २५% भूगोल ओगटेको रहेछ, त्यसको केन्द्र गाउँपालिकाको कार्यालय रहेछ । हामीलाई पाँच घण्टा लाग्यो । राती आठ बजे पुग्यौं ।
चैत्रको २८ गते जाडोले पूरै शरीर लुग–लुग काँपिरहेको थियो । सद्यामको होटल भनिने ठाउँमा सुनसेरा प्रहरी चौकीलाई खबर गरेर खाना बनाउन लगाइएको थियो । त्यो दुर्गम ठाउँमा सुनसेरा १४–१५ जना (तीन प्रहरी सहित) सबैलाई सुत्ने ओढ्ने ओछ्याउने कपडा पुग्ने रहेछ । त्यहाँ खाना खाएर सुत्यौं । दुम्लिङसम्म बाटो देखाउन हिँड्नु भएका जिल्ला सदस्य उमेर, स्वास्थ्य र अन्य प्राविधिक कारण अगाडि जान नसक्ने भनेर विदा हुनु भयो कल्याण सिंह कुंवर । हामी ६ बजे बिहानै अगाडि बढ्यौं । करीब १ घण्टा हिँडेपछि गल्फ–४ रमाइलो घर नास्ता पसलमा चिया र बिस्कुट खायौं ।
बीचमा राप्ला र तुषारपानी दुई खोला रहेछन् । अहिले त काठे पुल हालिएको वर्षा याममा निकै डरलाग्दो बाढी आउने र पुल बगाउने रहेछ । राप्ला खोलामा तार टागिएको रहेछ । वर्षा याममा त्यही तारको मद्दतले स्थानीयले खोला तर्ने रहेछन् । हामीसंगै हिडेका प्रहरीलाई साङनाडीमा खाना बनाउन अगाडि पठायौं । बिहान ११.० बजे हामी साङनाडी पुग्यौं । केही समय पर्खेर खाना पाकेपछि खाना खाएर हामी दुम्लिङ लाग्यौं । हामी ३.० बजे दुम्लिङ पुग्यौं ।
राष्ट्रिय झण्डा सीमा जागरण र विद्यार्थीका नारा लेखिएका राता भेष्ट लगाएको हाम्रो टोली देखेर सबै गाउँलेमा उत्सुकता पैदा भयो । हामीले छलफल ग¥यौं दुम्लिङमा कृषि र सिलाइ–बुनाइ तालिम चलेको रहेछ । घरको कम्तिमा एक जनाका दरले गाउँका प्राय सबै जुटेका रहेछन् । स्थानीयले गाउँका सबै यही मिलन केन्द्रमा जुटेका छन् यही कार्यक्रम गर्नोस् भने । हामीले तम्बाकु, कोट र दोपखेसम्म जाने कुरा ग¥यौं ।