काठमाडौं, असार ७ । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १–० ले पराजित गरेको छ । स्पेनको जितका लागि डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे र त्यो नै निर्णायक गोल बन्यो ।
इरानले फेरि लगत्तै १० मिनेटपछि स्पेनको गोलपोष्टमा बल त छिरायो तर त्यस गोलले मान्यता पाउन भने सकेन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली त चुमाए तर रेफ्रीले त्यसलाई अफसाइड दियो ।
त्यसपछि खेलमा दुबै तर्फबाट गोल हनुसकेन र अन्तत स्पेनले १–० को नतिजा निकाल्दै आफ्नो खातामा महत्वपूर्ण तीन अंक थप्न सफल भयो । यो सँगै समूह ‘बी’ मा स्पेनको चार अंक भएको छ । यसअघि स्पेन र पोर्चुगलले ३–३ गोलको बराबरी खेलेर एक–एक अंक मात्र बाँडेका थिए ।
उता, समूह ‘बी’ कै बुधबार राति भएको खेलमा पोर्चुगलले मोरक्कोलाई जित्दै समान चार अंक बनाएको छ । सोही समूहबाट मोरक्कोलाई हराएको इरानको तीन अंक छ । लगातार दुई खेल हारेको मोरक्को भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
अब समूह ‘बी’बाट स्पेन र मोरक्को तथा पोर्चुगल र इरान भिड्नेछन् । विजेता नकआउट चरणमा पुग्ने छ । समूह ‘ए’ बाट भने विश्वकप आयोजक रुस इजिप्टलाई हराउँदै र उरुग्वे साउदी अरेबियालाई हराउँदै समान ६–६ अंकको साथ नकआउट चरणमा पुगिसकेकाे छ ।