म्याद नाघेको जुसमा नयाँ मिति राख्दै बिक्री गर्ने पक्राउ

म्याद नाघेको जुसमा नयाँ मिति राख्दै बिक्री गर्ने पक्राउ

वीरजन्ज, असार ७ । पर्सामा म्याद नाघेको पेय पदार्थ जुसमा नयाँ मिति हालेर बिक्री गर्न तयार पारिएको जुससहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–५ स्थित रेल्वे रोडमा रहेको कौशल श्रीवास्तवको घरलाई नै प्रिन्टिङ कारखाना र गोदाम बनाई म्याद सकिएको जुस संकलन गर्ने र नयाँ मिति हालेर बजारमा लाने गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

प्रहरीले बुधबार छापा मार्दा म्याद सकिसकेको जुस र विभिन्न कागपत्रहरुसहित दुई जनालाई पक्राउ गरेको छ । शौरभ सेल इन्टरनेसनलको नाममा रहेको कोरियामा उत्पादित डेल्लोस औरेन्ज ड्रिंक ५१ कार्टुनमा रहेको करिब ९ हजार पिस जुस बरामद गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । प्रहरीले गोदाममा छापा मार्ने क्रममा आन्तरिक राजस्व कार्यालयलगायतका विभिन्न कार्यालयको २०र२५ वटा स्ट्याम्पसमेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले गोदाममा बसेर म्याद सकिएको जुसमा नयाँ मिति टाँस्ने काम गर्ने लक्ष्मी (मुन्ना) साह कानु र चौकिदारी गर्ने ओमबहादुर कार्कीलाई पक्राउ गरेको छ । प्रहरीले गोदामबाट विद्युतीय चिमहरू बरामद गरेको छ । नयाँ मिति टाँसेर बजारमा पठाउन लागेको अवस्थामा सूचना पाएर प्रहरीले बरामद गर्न सफल भएको प्रहरी उपरीक्षक ढकालले बताए । प्रारम्भिक अनुसन्धानबाट म्याद सकिएको जुसलाई संकलन गरेर भण्डारण गर्ने र नयाँ मिति राखेर बजारमा लाने गरेको पाइएको उनको भनाइ छ । पक्राउ परेका दुईजना कामदार मात्रै हुन् वा मालिक नै हुन् भन्ने पनि अनुसन्धानपछि पत्ता लाग्ने प्रहरी उपरीक्षक ढकालले बताए ।