गोपनियताको ख्याल नराख्दा विवादित बनेको ‘रोजी’ को छायाँकन अझै अनिश्चित

गोपनियताको ख्याल नराख्दा विवादित बनेको ‘रोजी’ को छायाँकन अझै अनिश्चित

काठमाडौं, असार ७ । केही दिनयता विवादित भएर बन्द भएको ‘रोजी’ चलचित्रको छायाँकन अहिले दिन दुई गुणा रात चौगुणा भने झैं गरी अनिश्चित बन्दै गइरहेको छ ।

रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर निर्माण थालिएको चलचित्रको छायाँकन निर्माण संस्था र रोजी परिवारबीच भएको विवादका कारण केही दिन पहिले सुटिङ रोकिएको थियो । केहि दिन पहिले चलचित्र बिकाश बोर्डले उक्त विवादलाई समाधान गर्न भनेर निर्माण युनिट, रोजीको परिवार र ज्याँपू समुदायलाई एक ठाउँमा राखेर मिलाउन खोजेपनि उक्त प्रयास असफल भयो ।

बुधबार पनि चलचित्र विकास बोर्डमा भएको त्रिपक्षिय वार्तामा रोजी परिवारले चलचित्रको शीर्षक नै परिवर्तन गर्नु पर्ने लगायतका केही अडान राखेपछि एक महिना पछि गर्ने भन्दै वार्ता रोकिएको विकाश बोर्डले जनाएको छ । रोजी परिवारले उक्त चलचित्रको मूर्हुत भएको समाचार विभिन्न मिडियामा आएदेखिनै निर्माणको विषयमा आपत्ति जनाउँदै आएका छन् । पछि चलचित्र विकास बोर्डमा नै रोजी परिवारले छायाँकन रोक्न निवेदन पेश गरेपछि विकास बोर्डले छायाँकन रोकेको थियो ।

चलचित्र रोजीका निर्माता निर्देशक निरक पौडेलले चलचित्रको छायाँकन रोक्न नहुने बताएका छन् । ‘छायाँकन रोकिदा लाखौँको नोक्सानी भएको छ,’ निर्देशक पौडेलले भने ‘यसको पुर्ती कस्ले गर्छ ।’

रोजीका परिवारले भने चलचित्रको नाम परिवर्तन गरेर छायाँकन गर्न सकिने बताएको छ । यो विषयलाई सरसरति हेर्दा चलचित्र निर्माण पक्षले व्यक्तिगत गोपनियताको ख्याल नराख्दा यो परिस्थिति भोग्नु परेको देखिन्छ । गोपीकृष्ण मुभिज प्रा.लिको ब्यानरमा निर्माण भईरहेको चलचित्र ‘रोजी’ प्रदीप खड्का, पारमिता राज्य लक्ष्मी राणा, मिरुना मगर, कर्मा, बरुण लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।