काठमाडौं । मंगलबार भएको एक भेलाले अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन गरेको छ । भेलाले पुनर्गठित मोर्चाको केन्द्रीय संयोजकमा फुर्नाम्गेल मोक्तानलाई चयन गरेको छ । भेलाले सुरेश तामाङ र रंगवीर तामाङलाई मोर्चाको सहसंयोजकमा चयन गरेको छ । मीना तामाङ र प्रेम तामाङसहित पाँच जनाको केन्द्रीय सचिवालय बनाएको मोर्चाको भेलाले ३१ सदस्यीय केन्द्रीय कमिटि निर्माण गरेको हो । पुनर्गठित केन्द्रीय समितिका सदस्यहरुमा जुवानसिंह तामाङ, रवि तामाङ, विकास तामाङ, कान्छामान थिङ, मंगल तामाङ, टमेशकुमार तामाङ, सुकुमाया तामाङ, हरि घले तामाङ, श्याम तामाङ, जगतबहादुर तामाङ, ज्ञान बहादुर तामाङ, उमेश तामाङ, अमिट योञ्जन, रामकुमार तामाङ, पदम तामाङ, मानबहादुर तामाङ, कमल जिम्बा, मैले तामाङ, विराट तामाङ, पदम लामा लगायत रहेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य एसटीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता मोर्चाका तत्कालीन महासचिव सुरेश तामाङले गरेको थियो भने सञ्चालन तत्कालीन सचिव प्रेम तामाङले गरेका थिए । भेलामा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठको विशेष अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
मोर्चाले असोज ६ गते राष्ट्रिय भेला गर्ने निर्णय गर्दै इलाकास्तरसम्म संगठन निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । कूल जनसंख्याको करिक ७ प्रतिशत जनसंख्या रहेको तामाङ समुदायको मुक्तिकामी आन्दोलनको नेतृत्व गर्दै आएको यो मोर्चाले तामाङहरुको पहिचानसहितको तमाङसालिङ राज्यको ग्यारेण्टीसहितको जनताको संविधान निर्माणको लागि सशक्त आन्दोलनको आवश्यकतामाथि जोड दिंदै आएको छ ।




























