चिनियाँ राष्ट्रपति अनुकुलता मिलाएर नेपाल आउने

चिनियाँ राष्ट्रपति अनुकुलता मिलाएर नेपाल आउने

काठमाडौं, असार ६ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । ओलीले शिष्टाचार भेटवार्ताका क्रममा राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत गरेका छन् ।

६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका नेपालका प्रम ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नेपाल भ्रमणको निमन्त्रणापत्र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच भएको भेटवार्ताका अवसरमा हस्तान्तरण गरेका हुन् ।

प्रम ओलीले दिएको राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै राष्ट्रपति सीले सकेसम्म छिट्टै र उपयुक्त समयमा नेपाल भ्रमणको तारतम्य मिलाउने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिनिधिमण्डलस्तरीय ४५ मिनेट भएको भेटवार्ता बाहेक राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै बसाइ पनि भएको छ । प्रम ओलीले नेपालको सार्वभौमसत्तामा आँच आउने कुनै पनि काम गर्ने छैन भनी संसदलाई गरेको संवोधनको प्रतिउत्तरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएका छन् ।

असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको भनी राष्ट्रपति सीले स्मरण पनि गरेका छन् । प्रधानमन्त्री ओलीले पनि सोही कुरा दोहर्याउँदै असल छिमेकीका रुपमा चीनको साथ र सहयोग रहिरहने र आर्थिक विकास तथा समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

चीनस्थित नेपाली दूतावासमा गरिए संझौताहरु

ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवम् सम्झौतामा चिनियाँ पक्ष र नेपाली पक्षबीच हस्ताक्षर भएको छ ।

छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीहरुका बीच बेइजिङस्थित नेपाली दूतावासमा बुधवार आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

सिमेन्ट उद्योग, सिँचाइ, फलफूल तथा जलविद्युत् आयोजनामा चिनियाँ चासो बढी देखिएको छ । सबै सम्झौता र सहमति पनि यी कुराहरुमा भएका छन् ।