यसरी जागृत गराइँदैछ ‘राजा’मोह

प्रकाशित मिति : २०७५ जेष्ठ २५

- कुमार शाह

देशमा अहिले राज्यसत्ताका प्रमुखहरुका मुखबाट राजाको पुनस्र्थापनाको कुरा फेरि उठाउन थालिएको छ । आमजनतामा राजा र राजतन्त्रका कुरा बहसमा छैनन्, तथापि सत्तासीन बुज्रुकहरुबाट नै ती कुराहरु सार्वजनिक हुुने गरेका छन् । प्रधानमन्त्री ओलीले विनाप्रसँग राजाले अस्तित्वमा आउने हर्कत नगरे हुन्छ भनिरहने गरेका छन् । देशका गृहमन्त्री रामबहादुर थापाले राजावादी गतिविधि बढ्दै गएको भनी समाचार दिने गरिरहेका छन् । तर सत्ताधारीहरु नै यो कुरा बताउन आँट गरिरहेका छैनन् कि राजाका गतिविधि स्वदेश या विदेशमा कहाँ बढिरहेका छन् । कसले पुनस्र्थापना गर्न खोज्दै छ राजा ? वा, त्यस्तोखाले पश्चगामी हर्कत वा प्रतिगमनका विरुद्ध सरकारले के गर्ने सोचिरहेको छ ?

राज्यका हर्ताकर्ताहरुको मुखारविन्दबाट आइरहेको राजा पुनस्र्थापनाको गन्ध नियोजित छ या स्वाभाविक ? यसको जवाफ जनताले चाहिरहेका छन् । ‘आकाशमा चील आयो’ भनेर कराउने अनि जब जनताले आकाशतिर हेर्छन् तब आँगनबाट कुखुराको भाले मुखमा च्यापेर दौडिने स्यालको कथा झैं त छैन राजा पुनस्र्थापनाको हौवा ?

अर्कोतिर जनताले राजा र राजतन्त्र भन्दा यही नाम मात्रको भए पनि गणतन्त्र संस्थागत भएको हेर्न चाहिरहेका छन् । तर देशका हर्ताकर्ता नै नालायक सिद्धहुँदै जान थालेकाले यो वा त्यो नाममा राजा फेरि ल्याउन खोजेका त होइनन् भन्ने आशङ्का उब्जिन थालेको छ । भनिन्छ, कागले आफ्नो नाम आफै काढ्छ । राज्यका प्रमुखहरुले राजा पुनस्र्थापनाका कुरा जनतामा छरिदिएपछि प्रतिक्रिया के कस्ता आउँछन् भनेर सार्वजनिक रुपमा मत सर्वेक्षणका लागि यो ‘इस्यु’ बाहिर ल्याएका त होइनन् । होइन भने आफैले एकमना सत्ताको बागडोर सम्हालिरहेका छन्, अनि आफैले राजा पुनस्र्थापना हुन खोज्दै छ भनी सार्वजनिक गरिरहेका छन्, किन ?

ओलीको लचकता

प्रधानमन्त्री ओलीको राजनीतिक व्यवहार निकै बिराला चालको छ । हिंडेको पनि देखिने तर दाउँ खेल्दै र खेद्दै । उनले माक्र्सवादी विचार, भावना र अग्रगमनका कुरा भन्दा पनि धर्मशास्त्र र विगत इतिहासका कुरा बढि गर्छन् । आगतका कुरालाई मोदीको परिकल्पनाका कुरासँग बढि जोड्न लैजान्छन् ।

राष्ट्रपति कार्यकारी बनाउने कुरामा ओली एक नम्बर विरोधी पनि छन् । र, चाहन्छन् राष्ट्रपति आलङ्कारिक र नाम मात्रको होस् । त्यसो भएमा राष्ट्रपति पदमा जो आसिन भए पनि त भयो भन्ने जनभावनाको विकास होस् भन्ने उनी चाहन्छन् । यो खेल राजा पुनस्र्थापनाको रणनीतिक खेलसँग धेरै नजिक छ । थप उनी ‘भारत वर्ष’का कुरा पनि निकै उठाउने गर्छन् । यसले दुईवटा कुराको प्रष्ट सङ्केत गर्छ ः एउटा हो, राजा पुनस्र्थापना र अर्को हो, हिन्दुत्वको संरक्षण । यी दुई कुरा मोदीको हिन्दुइज्म र राजाको पुनस्र्थापनासँग ठ्याक्क मेल खान पुग्छन् र ती कुराहरु कहिं कतैबाट निर्देशित भएको व्यवहारमा समेत् प्रष्ट देखिन्छ ।

थापाको एकोहोरो रटाइ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजावादीहरु सल्बलाइरहेका भनिरहेका छन् । गृहमन्त्री थापा आफू सत्तासिन रहेको र आफूले निर्देशन दिने संस्था बलियो र कामकाजी बनाउनु भन्दा पनि सञ्चारमन्त्री झैं हल्ला र प्रचार गर्न अघि सरेका छन् । खासखास भनाइ र प्रमाणहरु पनि दिन सक्दैनन् राजाका बढ्दो गतिविधिका बारेमा । यो देशभित्र भएको छ वा विदेशमा ? तर उनी बेलाबखत चिच्याइरहन्छन्– गणतन्त्र सिध्याइँदै छ, राजा ल्याइँदै छ । जनता प्रश्न गरिरहेका छन्– त्यसोभए देशका शक्तिशाली गृहमन्त्री क्यान्सरग्रस्त बिरामी जस्तै दिन गनेर कुर्सीमा किन छटपटाइरहेका छन् ? तिमी शक्तिमा छौ, सकिन्छ राजा पुनस्र्थापना गर्नबाट रोक । सकिंदैन भने किन बसिराख्ने कुर्सीमा बिलौना गर्दै ? साच्ची नै राजा पुनस्र्थापना हुँदैं छन् भने मतियार बनेर किन बसिराख्ने ? जनताका बीचमा आऊ । तर कुर्सीमा बसेर नभट्टयाऊ ।

मोदीको संरक्षकत्व

देशमा वाम सरकार बन्यो, त्यो पनि एकमना वा दुईतिहाइ बहुमतको । राज्यका हर्ताकर्ताहरु छानिए, सरकार गठन भयो । तर ती सबै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीतिक चाल र दाउँपेचमा ।
नेपालमा वाम गठबन्धन कसले निर्माण गरिदियो ? चुनावमा कसले पैसाको खोलो बगाइदियो ? कसले बधाइ दियो र सरकार निर्माण गरिदियो ? भर्खरै बोल्न सिकेको एउटा बालकको पनि जवाफ छ– ‘मोदीले’ । मोदीले यसो किन गरे त ? चीनसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्न ।

केपी ओलीको पहिलो सरकार गिराएपछि भुटानको दोक्लाममा चीनले भारतलाई चखाएको सैन्य स्वाद मोदीका लागि ननिकै नूनिलो भयो । ओली र उनको नेतृत्वको सरकार ढालिनु एउटा निमित्त कारण मात्र थियो । तर वास्तविक कूटयुद्ध भने चीन र भारत बीचमा नै थियो । नेपालमा सिल्करोड ल्याउने भन्ने चीन र सिल्क रोड रोक्ने भन्ने भारत । तर चीन र भारतबीच कूटयुद्धको अल्पविराम नेपालमा मोदीले वाम सरकार गठन गरिदिएपछि हुन गएको छ । वाम सरकार नेपालमा गठन भएपछि चीन भारतसँग झस्कने कुरामा कमी आएको छ ।

चीनसँगको कुटनीतिक सम्बन्ध सुधारका लागि यी सबै त्याग मोदीले गरे । नेपालमा वाम सरकार बनाइदिए वापत् भारत र पश्चिमा राष्ट्रहरुमा मोदीको ठूलो विरोध भयो पनि । उनले नेपाल मामलाका भारतीय जानकार अशोक मेहतालाई बीबीसी नेपाली सेवामा अन्तवार्ता दिन लगाए । अन्तरवार्ता मार्फत् मेहताले भारतका मोदी आलोचकहरु र पश्चिमा राष्ट्रहरुलाई प्रष्ट पार्न प्रयास गरे कि नेपालमा भनिएको ‘वाम गठबन्धन कम्युनिष्ट नभएर नवराष्ट्रवादीहरु’को हो ।

प्रचण्डको दिल्ली सम्झौता

शान्ति सम्झौतामा आउँदा बखत तात्कालीन माओवादीका अध्यक्ष प्रचण्डको दिल्लीसँगको गोप्य सम्झौता निकै खतरनाक र रहस्यमयी रहँदै आएको छ । आजका दिनसम्म आइपुग्दा प्रचण्ड दिल्लीको डिजाइनमा यात्रारत छन् ।

यो यात्रामा उनी निकै रहस्यमयी रहँदै आएका छन् । उनी जे बोल्छन्, बोलेको क्षणभरमा कुनै शक्तिले फोनमा त्यसो नगर्न भनेपछि तुरन्त कुरा फेर्छन् । कहाँ जाने के गर्ने भन्ने कुरा उनको सामान्य योजनामा हुँदैन । उनी क्षणभरमा काङ्ग्रेससँग एकताका कुरा गर्छन् र क्षणभरमा नै फेरि एमालेमा बिलय हुन पुग्छन् । कार्यकर्तालाई भनिदिन्छन् ‘चमत्कार भइछाड्यो’ ।

के साच्चै नै चमत्कार भएको भए भगवानले गराइदिएका हुन् त यी सबै कुरा ? एउटा माक्र्सवादी र भौतिकवादीका लागि छन् भगवान ? यथार्थमा यो चमत्कार दिल्लीले गरिदिएको हो । मोदी हिन्दूवादी हुन् । नेपालमा धर्मनिरपेक्ष राज्यसत्ता स्थापना भएको उनलाई मन परेको छैन । उनी हिन्दू राज्य र राजा ब्युँताउन चाहन्छन्, त्यो पनि नेपाली शासकहरुको हातबाट । दिल्ली सम्झौता बखत प्रचण्डले गरेका बाचामा माओवादी पार्टी पूरै सिध्याएर २०५२ भन्दा अघिको अवस्थामा पु¥याउने वाचा गरेका थिए । हेक्का रहोस्, त्यो बेला नेपाल सम्वैधानिक राजतन्त्रको अवस्थामा थियो ।

कर्मकाण्डी व्यवहार

नेपालका वामपन्थीहरुको कर्मकाण्डी व्यवहार छ । उनीहरु भौतिकवादी कम छन् । हिन्दूधर्मको आचरण र जीवनशैली र संस्कारसंस्कृतिमा मनोवैज्ञानिक तथा सांस्कृतिक प्रभाव यति बलशाली छ कि वाम कम्युनिष्ट भन्नेहरु पनि यसमा टुपीदेखि पैतलासम्म चुर्लुम्म डुबेका छन् ।
यो कर्मकाण्डी जीवन व्यवहारले राजा र राजतन्त्रको मनो विज्ञानलाई सिधै टेवा पु¥याइरहेको छ ।

चीन–भारतको सम्बन्धमा सुधार

पछिल्लो चरणमा चीनभारत सम्बन्धमा सुधार आएको छ । तथापि चीन र भारत एकअर्कामा निकै सतर्क र सशङ्कित छन् । नेपालको रणनीतिक भूराजनीतिक अवस्थितिका कारणले यी दुई देश आफ्नो पक्षधर शक्तिको उदय र पकड भएको देख्न चाहन्छन् ।
बाहिरी रुपमा झट्ट हेर्दा संसदमा रहेकाहरुमध्ये वाम भनिने एमाले–माओवादी केन्द्रले बनाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चीनको पक्षधरजस्तो (हाँसोलाग्दो कुरा त यो गठबन्धन र एकता चीनले बनाइदिएको पनि भने कतिपयले) र काङ्ग्रेस र मधेशवादी दलहरु भारत पक्षधरजस्तो देखिने अवस्था पनि छ ।

तर वाम भनिनेहरु मोदीको सेवामा हाजिरहुन मधुमालतीको कथामा जस्तै ‘स्फटिकको खम्बा’बाट चमचमाउँदै निस्किएको घोंडोको अवतारको रुपमा देखा परेपछि चीन त्यति विश्वस्त देखिदैन । यसले राजतन्त्र वा संवैधानिक राजतन्त्रको बेला आफूसँगको भएको नेपालको सम्बन्धलाई आदर्श मान्दछ । उता मोदी नेपालमा राजा पुनस्र्थापना गर्ने दाउँमा छन् र अहिलेका सत्तासिन पार्टीहरुलाई भनिरहेका छन्– ‘तिमीहरु संरक्षकविहीन भएका छौ’ ।

चीन र भारतको यो कूट र मनोवैज्ञानिक लडाइँको उचाइमा नेपालका राजनीतिक दलहरुको कस्तो खालको कुटनीतिक र राजनीतिक उपस्थिति दुवै छिमेकी देशका लागि उपयुक्त होला भन्ने निष्कर्षमा पुग्नै सकेका छैनन् । यस्तो अवस्थामा ‘जेजे गर्न दिल्ली भन्छ, उही उही स्वाहा’ गर्ने नेपालका राजनीतिक दलहरुको हबिगत देखिन्छ । बरु मोदीले चीनसँगको सम्बन्ध सुधार गरेर नेपाललाई आफ्नो छायाँमुनि पारिसकेका छन् ।

श्रीपेच सार्वजनिकीकरणको नाटक

यी माथिका वैचारिक, राजनीतिक, कूटनीतिक तथा मनोवैज्ञानिक भावभूमिमा नेपालको ‘ऐतिहासिक वाम सरकार’ले राजमुकुट वा श्रीपेच गर्वका साथ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आम जनमानसमा राजतन्त्र पुनस्र्थापनाको भौतिक प्रेरणका रुपमा श्रीपेच प्रदर्शनीको ‘महायज्ञ’मा कहिं नभएको ऐतिहासिक वाम सरकार ज्यान छाडेर लागि परिरहेको छ ।
यसले तयार गर्ने मनोवैज्ञानिक वातावरण राजा पुनस्र्थापनाका लागि निकै बलियो बन्ने देखिन्छ । जनतालाई ‘बेला न कुबेलाको बिहे’ जस्तो लागे पनि यो प्रक्रियालाई सिलसिलाबद्ध रुपमा अघि बढाइएको छ ।

यसलाई बिडम्वनाका रुपमा लिनु पर्छ कि माथि उल्लेखित कुराहरु वाम भनिएको सरकारबाट राजा पुनस्र्थापनाका लागि सिलसिलेवार रुपमा आधार तयार पार्नका लागि अघि सारिएका छन् ।