काठमाडौं, जेठ २३ । देश गणतन्त्र भएको दशवर्ष पुगिसकेको छ । यो संसदीय आवधिक निर्वाचनका हिसाबले दुईवटा निर्वाचन र दुईवटा संसदीय सरकारको कार्यकाल हो । तथापि देशमा भएको सङ्क्रमणकालको अन्त्य हुन गणतन्त्र घोषणापछि पनि दशवर्ष लाग्यो । यो अवधि आशङ्का, अन्यौलता र दिशाहीनताको अबधि रहन गयो । आधा दर्जनभन्दा बढि सङ्क्रमणकालीन सरकारहरु यही समयावधिमा बन्दै र भत्कदै गरे ।
अहिले देशमा संसदीय निर्वाचन सम्पन्न भई ‘वामपन्थी’ हरुको एकमना सरकार बन्न पुगेको छ । यसलाई इतिहासकै सर्वाधिक शक्तिशाली सरकार करार गरिएको छ । यसका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्तिशाली प्रधानमन्त्रीको उपमा दिइएको छ । उनी र उनको सरकारले ल्याएको नीति तथा कार्यक्रम र त्यस लगत्तैको बजेटमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सार्वजनिक गरेको छ ।
देशमा रहेको अभाव र गरीबीका कारण यो सरकारको नारामा जनताले साच्ची नै समृद्धिको आशा गरेका छन् पनि र नेपाली सुखी हुनुपर्ने परिकल्पना पनि साँचेका छन् । आखिर केले बन्छ त समृद्ध नेपाल र केले बनाउँछ त सुखी नेपाली ? राज्य सञ्चालनका सही नीति, असल शासन, प्रतिवद्ध नेताहरु, विदेशी शक्तिको निर्देशन र हैकमको अन्त्य, आत्मनिर्भर अर्थतन्त्र, मेहनती जनता, स्वदेशमा रोजगार, देश निर्माणमा युवा, प्राकृतिक संशाधनकोे भरपूर उपयोग, दीगो विकासका रणनीति, शासक र जनताबीचमा असीम विश्वास आदि कुराले देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउँछन् । त्यो सुख गणतन्त्र भन्ने व्यवस्थाले दिन्छ कि त भन्ने बुझाइ जनताको देखिन्छ ।
तर बितेका दशवर्ष र अहिले भर्खरै पनि हेर्दा ती कुराहरु केवल भन्न र देखाउनका लागि मात्र हुन् भन्ने कुरा साबित हुँदे गएका छन् । देशमा चलेको जनयुद्धले सामन्तवादको जराहरु उखेलेर फ्याकिँदियो । र, बिना जराको संसदीय राजतन्त्र ढल्न पुग्यो । अनि घोषणा गरियो संसदीय गणतन्त्र ।
तर दशवर्षसम्म जीवनको आहुति दिएर सामन्तवादी राजतन्त्रका जरा हल्लाइदिएको जनमुक्ति सेनालाई संसदीय गणतन्त्रका बाधकका रुपमा कलङ्कित गरियो । अनि बिघटन गरियो । देशको असी प्रतिशत भूभागमा शासन गर्दाका बखत गरिएका निर्णयहरु, जो सामन्तवाद अन्त्यका लागि साधक थिए, ती सबै खारेज गरिए । वृहत् शान्ति सम्झौताका बखत गरिएका लिखित सहमतिहरु एकपछि अर्को उल्ट्याउँदै लगिए । अहिले पछिल्लो चरणमा आएर सत्य निरुपण तथा मेलमिलाप आयोगलाई निकम्मा बनाएर आफूखुशी सडकसडकमा कानूनको व्याख्या गरिने गरिएको छ ।
वास्तविक गणतन्त्र स्थापनाका लागि झोला र डोकोमा रेडियो बोकेर प्रचार गर्नेहरु पाखा लगाइएका छन् । शाही शासनका विरुद्ध बन्दुक बोक्नेहरु नेल पहिरिएर अझैं पनि हिरासत र जेलमा ‘ज्यानमाराको आरोपमा’ सास्ती बेहोरिरहेका छन् । पहिलो संविधान सभा, जो मात्र केही अलि बढि समावेशी र समानुपातिक थियो, को उति बेलै घाँटी निमोठिएको छ ।
गणतन्त्र स्थापनाका लागि नेतृत्व गरेको माओवादी पार्टीको ठूलो हिस्सालाई सुधारवादी प्रतिक्रियावादी कित्तामा बिलय गरिएको छ । र, देशमा स्थापित गणतन्त्रको संरक्षकत्व विदेशीको हातमा सुम्पिएको छ । देशमा समृद्धि ल्याउने डङ्का पिट्ने दुईतिहाइ मत पाएको वाम भनिएको सरकार उनै विदेशी संरक्षकका अगाडि नाङ्गै मूलबाटोमा लम्पसार परेको छ ।
२०७२ सालमा भूकम्प गई सिङ्गो देशमा कोलाहल मच्चिइरहेका बेला नाकाबन्दी गरेर नेपाली जनजीवन निकै अस्तव्यस्त बनाउने अमानवीय र संवेदनाहीन भारतीय प्रम मोदीलाई जनस्तरमा नागरिक अभिनन्दन गर्न लगाइएको छ । सारा असमान सन्धिसम्झौताहरु आँखा चिम्लिएर अनुमोदन गरिएको छ । देशभित्र सामाजिक फासीवादको अभ्यास गरिंदै छ र सिङ्गो देशलाई सिक्किमीकरणको दिशामा अघि बढाइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले एउटा थोत्रो पानी जहाज डेन्टिङ्पेन्ङि गरी कलकत्ताको बन्दरगाहमा खडा गरिदिने भनेपछि त्यस वापत् नेपालका ६ हजार नदीनालाको सबै पानी डोलाएर भारत पठाइदिने बाचा गरिएको छ । निर्वाचनका बखत वृद्धभत्ता ५हजार बनाइदिन्छु भनेका ओलीद्वारा उल्टै भत्ता कटाइएको छ, स्वास्थ्य बिमाको नाममा । शिक्षामा पचास प्रतिशतले बजेट कटौती गरेर देशको भविष्य अन्धकारमा धकेलिएको छ ।
जनतामाझ गरेका ससाना बाचा पनि पूरा गरेका छैनन् एकमना सरकारका हर्ताकर्ता प्रम ओलीले । सरकारको सानो आकार बनाउँछु भनेर हाँक दिंदै आएका उनले सबैभन्दा ठूलो आकारको सरकार बनाउँदै छन् । तुइनका ठाउँमा झोलुङ्गे पुल बनाउने उनका प्रतिबद्धता हावादारी साबित भएका छन् । कुनै पनि हालतमा बनाउँदिन भनेको उपप्रधानमन्त्रीको पद दर्जनौंलाई हातहातमा बाँड्दै हिंडेका छन् । साना कुरामा यति झुठ बोल्ने ओलीले गरेका ठूल्ठूला वाचा कति हावादारी हुनसक्लान् ? जनता हाँस्न थालेका छन् ।
गणतन्त्रका दशवर्षहरुमा देशमा भएको सबैभन्दा ठूलो उपलब्धी बहुमतको सरकार गठनलाई मान्ने हो भने सिङ्गो देशलाई यसरी सिक्किमीकरणको बाटोतिर डो¥याइँदै छ । बहुमतको नाममा हुनसक्ने देश र जनता विरोधी हर्कत विरुद्ध बेलैमा जनता जागृत हुन जरुरी छ ।