काठमाडौं । महोत्तरी बर्दिवासको हात्तिलेट गाउँमा शनिवार आयोजना गरिएको अखिल नेपाल आदिवासी जनजाति महासङ्घको २ नम्बर प्रदेशको प्रदेश समितिको एक भेलाले चार सदस्य पछि थप्ने गरी कूल १३ सदस्यीय प्रदेश समितिको निर्माण गरेको छ ।
सूर्यनारायण चौधरीको अध्यक्षतामा गठन भएको उक्त प्रदेश समितिमा सदस्यहरुमा तुल बहादुर बलम्पाकी, हरिभक्त लामा, अछमित चौधरी, देवानन्द चौधरी, ब्रह्मदेव चौधरी, प्रेम भुजेल, बाबुराम मगर, जयराम श्रेष्ठ रहनुभएको छ ।
भेलालाई क्रान्तिकारी माओवादीका पीबीएम् तथा अतिथि कृष्णदेव सिंहका साथै अर्का अतिथि तथा अखिल नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष कमल चौधरीले सम्बोधन गर्नु भएको थियो । भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य मोहन सिंह तामाङले शुभकामना मन्तव्य दिनुभएको थियो ।
यसैगरी सप्तरीको खड्क नगरपालिका वडा नम्बर ८ मा अखिल नेपाल आदिवासी जनजाति महासङ्घको वडा समिति गठन भएको छ । उक्त वडा समितिमा नन्दीलाल चौधरी संयोजक र विजुलीप्रसाद चौधरी र आशालाल चौधरी सदस्य रहनु भएको बताइएको छ ।






























