महाकाली राजमार्ग पहिरोले अवरुद्ध

महाकाली राजमार्ग पहिरोले अवरुद्ध

बैतडी, जेठ १८ । गएराति परेको पानीले डिलासैनी–६ को बागाँबगरमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भई यातायार ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको अनुसार सो क्षेत्रमा अहिले एक्साभेटर प्रयोग गरेर पहिरो पन्छ्याउने काम भईरहेको छ ।

यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको पाटन नगरपालिका–५ ओदाली र कद्वारमा आठ घर जोखिममा परेका छन् । वर्षाले जमिन भासिएपछि घर जोखिममा परेको स्थानीयवासी लोकेन्द्र चन्दले बताए । वर्षाले ६० रोपनी बढी जग्गासमेत बगरमा परिणत गरेको छ भने गाउँले मिलेर पशु चौपाया बचाउन सफल भएको उनले बताए ।

घर र जमिन भासिए पनि मानवीय क्षति भने भएको छैन । तर किसानले खेतमा लगाएको मकै, भटमास तथा तरकारी फलफूल नष्ट भएको स्थानीयवासी हिरा पाण्डेयले बताए ।

कालोपत्रे हुँदै गरेको पाटन पञ्चेश्वर सडकमा व्यवस्थित तरिकाले काम नहुँदा सडकको तलपट्टिका घर तथा जमिनमा बेलाबेलामा क्षति पुग्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । पाटन–५ कै तल्लीस्याडीका विभिन्न ठाउँमा पनि पहिरो गएको स्थानीयवासी प्रकाश ठगुन्नाले जानकारी दिए ।