काठमाडौं, जेठ १८ । बिहीबार इंग्ल्याण्डको लर्डस मैदानमा विश्व–११ र वेष्ट इन्डिजबीच खेल भएको थियो । विश्व–११मा परेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले वेष्ट इन्डिज विरुद्धमा आफ्नो अन्तर्राष्ट्रिय टी–२० डेब्यू गर्दै १ ओभर बलिङ गर्दै १२ रन खर्चेका थिए ।
वेन्ड इन्डिजमा गतवर्ष आएको समुन्द्रिक आधीँले क्षति पुर्याएका रंगशालाको पुर्न निर्माणमा सहयोग पुर्याउने उदेश्यले आइसीसीले आयोजना गरेको च्यारिटी खेललाई टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएको थियो ।
सन्दीप १३ औं ओभरमा बलिङ गर्न आएका थिए । पहिलो बलमा दिनेश रामदिनले दोस्रोमा मोर्लिन सामुयल्सले र तस्रो बलमा रामदिनले १–१ रन जोडेका थिए । सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरे । यस्तै पाँचौं बलमा उनले ३ रन लिए भने अन्तिम बलमा रामदिनले कुनै रन लिन सकेनन् ।
लेगस्पिनरले भरिएको विश्व–११ को टोलीमा त्यसपछि भने सन्दीपले मौका पाएनन् । लेग स्पिनर कप्तान शाहिद अफ्रिदीले ४ ओभरमा ३४ रन खर्चदै १ विकेट लिए भने अर्का लेग स्पिनर रासिद खानले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो । उसका ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन जोडे ।
२०० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको विश्व एघारले १६.४ ओभरमा सबै विकेटको क्षतिमा १२७ रन मात्रै बनाउन सकेको थियो । विश्व एघारका लागि थिसारा परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए । त्यस्तै, शोहिब मालिकले १२ रन बनाउँदा अन्य खेलाडीले भने राम्रो स्कोर बनाउन सकेनन् । सन्दीपले नटआउट ४ रन बनाए ।