बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाले जिल्ला सम्मेलन नजिकँदै गर्दा संगठन निर्माण तथा जनपरिचालन अभियानलाई तिब्रता दिएको छ ।
यस अघि बसेको जिल्ला समितिको विस्तारित बैठकले पार्टीको जिल्ला सम्मेलन यहि १९ गते गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलनको मिति नजिकिदै गर्दा बिहीबार गुलरिया नगरपालिकाको वडा नम्बर ११ र १२ को संयुक्त वडा अधिवेशन भब्य रूपमा सम्पन्न भएको छ ।
अधिवेशनबाट वडा नम्बर ११ मा सात सदस्यीय तथा वडा नम्बर १२ मा ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ । वडा नम्बर ११ को सेक्रेटरीमा बल बहादुर घर्ती र १२ को सेक्रेटरीमा माँरूफ खाँ निर्वाचित भएका छन् ।
पार्टीको भैसाही गाउँ कमिटीका सेक्रेटरी राजकपुर थारूको सभापतित्वमा सम्पन्न वडा अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईन्चार्ज सङ्कुल, जिल्ला सेक्रेटरी लोकेश लगायतको विशेष आतिथ्यता रहेको थियो ।





























