के नेमारले खेल्न सक्लान त यो पल्टको विश्वकप ?

के नेमारले खेल्न सक्लान त यो पल्टको विश्वकप ?

विश्व फुटबल जगतमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राजिलियन स्टार स्ट्राइकर नेमार आगामी जुन १४ देखि रसियामा हुने विश्वकप फुटबलसम्म मैदान र्फकने कसरतमा कडा रुपले लागेका छन् ।

पेरिस सेन्ट जर्मन (पीएसजी)बाट क्लब फुटबल खेल्ने उनी गएको फेबु्रअरीको अन्तिम समयदेखि चोटका कारण मैदानबाहिर छन् । मैदानबाहिर लामो समय रहेर पनि फ्रेन्च प्लेयर अफ द इयर अवार्ड जितेका उनी विश्वकपका लागि ब्राजिलको अन्तिम २३ जनाको टोलीमा पनि संलग्न छन् ।

उनी हरेक दिन कडा मेहनत गरी रहेका छन् ता कि विश्वकपसम्म पूर्ण रुपमा फिट हुने आशाका साथ उनको स्वास्थ्य प्रगति सोचेको भन्दा राम्रो भइरहेको ब्राजिल राष्ट्रिय टिमका फिजिकल ट्रेनरले बताएका छन् । उनले अलि अलि गर्दै नेमार फिट हुँदै गएको र यसमा सहज हुने गरी काम गरिरहेको बताएका छन् ।

स्वीट्जरल्याण्ड, कोस्टारिका, सर्बियासँगै विश्वकपको समूह ‘ई’मा रहेको ब्राजिलले पहिलो खेल १७ जुनमा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

गएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । यसपटक त्यो हारबाट बाहिर निस्किएर ऐतिहासिक उपाधि उचाल्न नेमार महत्वपूर्ण रहेका छन् । त्यसबेला क्वाटरफाइनलमा कोलम्बियालाई २–१ ले हराएको खेलमा नेमार घाइते भएका थिए ।