युट्युबको कार्यालयमा चल्यो गोली, गोली हान्ने महिलाद्वारा आत्महत्या

युट्युबको कार्यालयमा चल्यो गोली, गोली हान्ने महिलाद्वारा आत्महत्या

एजेन्सी, चैत २१ । उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।

एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् ।

युट्युबको सो मुख्यालयमा एकजना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको थियो । तर ती महिलाले प्रहरी आउनुभन्दा अगावै गोली हान्न थालेकी बताइएको छ ।

युट्युब मुख्यालयमा करिब एक हजार ७०० जना कर्मचारी कार्यरत छन् । कार्यालयभित्रै गोली चलेपछि उक्त कार्यालयका अधिकांश कर्मचारीहरुले हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किँदै गरेका दृश्यहरु स्थानीय टेलिभिजनहरूले देखाएका थिए ।

उक्त हमलामा दुई जना महिला र एक पुरुषलाई गोली लागेको छ । गोली लागेकामा एकजना ३६ वर्षीय पुरुष र ३२ वर्षकी महिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।

एकजना महिलाले गोली हानेको प्रहरीले बताएको छ । ती महिलाले अरुलाई हमला गरेपछि आफैँलाई पनि गोली हानेकी थिइन् । पछि ती गोली हान्ने संन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ ।

अमेरिकी प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको जानकारी दिएको छ । यस आक्रमण किन गरिएको थियो र ती महिलाको विगतको पृष्ठभूमि के थियो भन्ने बारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

यसैबीच प्राप्त पछिल्लो समाचार अनुसार त्यहाँ गोली चलाउने हमलाकारीको पनि मृत्यु भएको बताइएको छ । प्रहरीले गोली हान्ने महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

उनले अरुलाई गोली हानेपछि आफैलाई पनि हानेर आत्महत्या गरेकी थिइन् । गोली हान्ने महिलाको पनि सोही कार्यालयको परिसरमा मृत्यु भएको प्रहरीले बताएको छ । उनी कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएकी प्रहरीले जनाएको छ ।