स्पेन । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा सम्पन्न दोस्रो लेगको खेलमा बार्सिलोनाले इङलिस क्लब चेल्सीलाई ३–० ले हरायो ।

बार्सिलोनालाई बिजयी गराउन लियोनल मेस्सीले २ तथा ओस्मान डेम्बेलेले एक गोल गरे । मेस्सीले खेलको ३ र ६३ औं मिनेट र डेम्बेलेले २० औं मिनेटमा गोल गरेका थिए । 

चेल्सीको मैदानमा भएको पहिलो लेगमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । नतिजापछि पाँचपटकको च्याम्पियन्स लिग विजेता चेल्सी प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । योसँगै मेस्सीले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या १०० पुर्याएका छन् ।

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले टर्कीको बेसिक्तासलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । बेसिक्तासको मैदानमा भएको दोस्रो लेगको खेलमा बायर्न म्युनिखले ३–१ को नतिजा निकालेको हो । म्युनिखका लागि थियागो अल्कान्तारा,सान्द्रो वाग्नरले एक–एक गोल गर्दा बेसिक्तासका गोखान गोनुलले एक आत्माघाति गोल उपहार दिएका थिए । बेसिक्तासका लागि ५९ औं मिनेटमा डी सौजाले १ गोल फर्काएका थिए ।

घरेलु मैदानमा भएको पहिलो लेगमा ५–० ले फराकिलो जित निकालेको बायर्न म्युनिख गएरातिको जिपछि समग्रमा ८–१ को नतिजाका साथ अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर