काठमाडौं, चैत १ । आइसिसी विश्वकप कप छनौटको प्लेअफमा नेपालले बिहीबार पपुवा न्युगिनीको सामना गर्दैछ । आजको खेल जिते र अर्को प्लेअफमा आफू अनुकुल नतिजा आए नेपालले चार वर्षका लागि एकदिवसीय खेलका लागि अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।
त्यतिमात्र होइन, आजको खेलमा जीत निकाले नेपालले डिभिजन टुमा घटुवा हुने खतरालाई पनि टार्नेछ । सुपर सिक्समा पुग्न असफल राष्ट्रहरुबीच आज प्लेअफका खेलहरु हुन लागेका हुन् ।
आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई हराउँदा अर्को खेलमा नेदरल्याण्डले पनि हङकङलाई पराजित गरे नेपाललाई एकदिवसीय मान्यता प्राप्त हुनेछ ।
यसअघि समूह चरणमा भएका खेलहरुमा नेपालले मात्र एक खेलमा जित निकाल्दै चौँथो स्थानमा सिमित रहेको थियो । नेपालले अन्तिम खेलमा हङकङलाई पराजित गरेको थियो ।
उता, पपुवा न्युगिनी भने आफ्नो समूहमा एक खेल पनि जित्न सकेन । विश्व क्रिकेट लिगमा पपुवा न्युगिनीसँग भिड्दा नेपाल दुवै पटक पराजित बन्न पुगेको थियो । आजको खेल हरारे क्रिकेट मैदानमा दिउँसो हुनेछ ।