महेन्द्रनगर, फागुन ३० । कञ्चनपुरको बनगाउँमा एक युवतीमाथि निर्घात कुटपिट गरिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीया सोनी चन्दलाई भीमदत्त नगरपालिका १० गड्डाचौकी बस्ने २७ वर्षीय राकेश चन्दले सोनीको घरमै आइ बुधबार बिहान उनीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । उनको आँखामा गम्भीर चोट लागेको छ ।
प्रहरीका अनुसार राकेश चन्दले हातका औलाले सोनीको आँखामा घोचेको र उनको अनुहारमा तातो उम्लिएको घिउ समेत फालेका छन् । हातका औलाले आँखा घोचेकाले उनका आँखाहरु सुन्निएका छन् । तातो घिउ अनुहारमा फालेकाले अनुहारको भाग समेत सुन्निएको छ ।
सोनीमाथि कुटपिट भए लगत्तै उपचारका लागि महेन्द्रनगरस्थित आँखा अस्पताल ल्याइएको थियो । आँखामा गम्भीर समस्या देखिएकाले अस्पतालले थप उपचारका लागि उनलाई गेटा आँखा अस्पताल पठाएको छ । अस्पतालका अनुसार उनको आँखामा गहिरो चोटका साथै आँखाबाट रगत बगिरहेको छ ।
कुटपिट गर्ने राकेश चन्द फरार रहेको र उनको खोजिकार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले जानकारी दिए । किन कुटपिट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । छिमेकीका अनुसार यसअघि पनि ती युवकले उनीमाथि कुटपिट गरेका थिए ।
कैलाली घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा किशोरीमाथि निर्घात कुटपिट भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा युवती माथि फेरि कुटपिट भएको छ ।