पाटन दरबार क्षेत्रलाई पनि सवारी निषेधित बनाउने तयारी

प्रकाशित मिति : २०७४ फाल्गुन ३०

काठमाडौं, फागुन ३० । ललितपुरको पाटन दरबार क्षेत्रमा सवारी साधन निषेध गर्ने तयारी भएको छ । ठमेल पशुपतिनाथ र असनपछि पाटन दरबार क्षेत्रलाई सवारीसाधन निषेधित क्षेत्रका रुपमा परिवर्तन गर्न लागिएको हो ।

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र महत्वपूर्ण सम्पदा क्षेत्र भएकाले यस क्षेत्रमा सवारीसाधन लैजान नदिने व्यवस्था गर्न छलफल अघि बढाएको प्रशाशकीय अधिकृत हरिप्रसाद दाहालले जानकारी दिए ।

यो क्षेत्र पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छ । ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा क्षेत्रमा जाने पर्यटकलाई बढ्दो सवारी चापले समस्या परेकाले स्थानीयसँग छलफल थालिएको ट्राफिक प्रहरी निरीक्षम सितारम हाछेथुले बताए ।

‘मेयरसाहबले नै यसमा चासो राख्नु भएको छ । हामीले के गर्न सकिन्छ भनेर हेर्दैछौं,’ हाछेथुले भने, ‘दरबार क्षेत्र आउने पर्यटकलाई सहज वातावरण बनाइदिन पनि सवारी निषेध गर्न जरुरी देखिएको छ ।’ उनले पर्यटकलाई धुँवा, हर्न र कोलाहलबाट मुक्त गर्न पनि यस्तो तयारी गरिएको बताए । सम्पदाको संरक्षण र सम्बर्द्धनमा पनि यसले सहयोग गर्ने उनको विश्वास छ ।

पाटन, मंगलबजार आसपासका क्षेत्रमा सवारी आवागमन रोकेर वाकिङ स्ट्रिट बनाउन महानगरपालिकाले पहलकदमी लिएको छ । तर, कहिलेबाट, कुन–कुन क्षेत्रमा कस्ता सवारीलाई निषेध गर्ने भन्ने अन्तिम निर्णय भएको छैन । वैशाख १ गतेदेखि पाटनलाई वाकिङ स्ट्रिट बनाउनेबारे छलफल अघि बढेको छ । सवारीको व्यवस्थापनका पाटोहरुलाई हेरेर मात्रै यसबारे अन्तिम निर्णय लिइने निरीक्षक हाछेथुले बताए ।