स्वचालित इटालियन पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ

प्रकाशित मिति : २०७४ फाल्गुन २९

काठमाडौं, फागुन २९ । नेपाल–भारत सिमाबाट इटालियन पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराले नियमित चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटमा चढेर नेपाल प्रवेश गर्न लागेका भारत बिहार राज्यको पूर्वी चम्पारण भगवानप्रसाद–२ का १९ वर्षीय चन्दन कुमार र सुन्दरपुरका २० वर्षीय सञ्जय कुमार रायलाई पक्राउ गरेको हो ।

शसस्त्र प्रहरीले उनीहरुको साथबाट स्वचालित इटालियन पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र दुई राउन्ड गोली बरामद गरेको छ । बोर्डर आउट पोष्ट बेल्दारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विष्णुकुमार विसी नेतृत्वको टोलीले बाराको पचरौता नगरपालिका–४ स्थित गुलरिया टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट डीएल २ सीक्यू ४०५३ नम्बरको बोलेरो चढेर उनीहरु आएका थिए । नाइन–एमएम ब्रोनिङ्ग नामक इटालीयन स्वचालित पेस्तोल बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका प्रहरी उपरीक्षक बिनुप्रसाद पाठकले बताए । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि अस्थायी प्रहरी चौकी बेलदारीको जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ ।