
एजेन्सी । विश्व प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनले सन् १९२१ मा एक इटालियन महिला वैज्ञानिकलाई लेखेको पत्र इजरायलको जेरुसेलममा भएको एउटा लिलामीमा बिक्री भएको छ ।
आइन्सटाइनले आफूसँग भेट गर्न नमानेकी महिलालाई लेखेको उक्त पत्र ६ हजार एक सय डलरमा लिलामीमा बिक्री भएको बिबिसीले जनाएको छ । नोबेल पुरस्कार विजेता वैज्ञानिक आइन्सटाइनले एक २२ वर्षीया रसासयनशास्त्रकी विद्यार्थी एलिसाबेट्टा पिक्किनीलाई उक्त पत्र लेखेका थिए ।

पिक्किनी आइन्सटाइनको बहिनी माजा बस्ने फ्लोरेन्सस्थित घरको एक तलामाथि बस्ने गर्थिन् । ‘आइन्सटाइन पिक्किनीलाई भेट्न एकदमै उत्सुक थिए तर त्यत्ति प्रख्यात व्यक्तिसँग भेट्न पिक्किनीले लाज मानिन्,’ पत्र लिलामी गर्ने संस्था विनर अक्सन हाउसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
आइन्सटाइनले आफ्नो मातृ भाषा जर्मनमा लेखेको उक्त पत्रमा माया प्रेम झल्काउने खालको सांकेतिक भाषाको प्रयोग गरिएको छ । उक्त पत्रसहित आइन्सटाइनका अन्य कैयौं पत्र पनि लिलामीमा बेचिएको छ । जसमा सन् १९२८ मा आइन्सटाइनले ‘थर्ड स्टेज अफ द थेओरी अफ रिलेटिभिटी’ को विचार लेखेको पत्र पनि रहेको बताइएको छ । उक्त पत्र एक लाख तीन हजार डलमा बिक्री भएको बिबिसीले उल्लेख गरेको छ ।