काठमाडौं, फागुन २४ । जिम्बावेमा जारी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघिका दुबै खेलमा जित हात पार्दै समुह ‘बी’को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड एक खेल अगावै सुपरसिक्समा प्रवेश गर्ने लक्ष्यमा छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसंग १ सय १६ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल भने प्रतियोगीतको पहिलो जितको खोजीमा छ ।

सुपरसिक्सको यात्रा तय गर्न नेपाललाई स्कटल्याण्डबिरुद्ध जित्नै पर्ने दबाब छ । खेल बुलावाओस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा नेपाली समयानुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । स्कटल्याण्डपछि नेपालले अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्ने भएकाले सुपरसिक्सको लक्ष्य भेट्न आजको खेल महत्वपुर्ण रहेको हो ।

नेपाल रहेको समुह ‘बी’मा स्कटल्याण्ड र जिम्बावेले शत प्रतिशत नतिजा हात पारेका छन् । अन्य तीनै टोलीले तालिकामा अंक जोड्न सकेका छैनन् । स्कटल्याण्ड र नेपालबीच यसअघि ३ पटक प्रतिस्पर्धा भएको छ । ती प्रतिस्पर्धामा नेपालले आफु अनुकुलको नतिजा हात पार्न सकेको छैन । आजै समुह ‘बी’को हङकङ र अफ्गानिस्तान पनि आमने सामने हुनेछन् । त्यस्तै समुह ‘ए’ अन्र्तगत वेष्ट ईण्डिज र पपुवा न्यु गीनी तथा नेदरल्याण्ड्स र युएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर