शनिबारका दिन नेकपा साठी–चालीसका देशी संसदका दुबै तहका माननीयहरूको संयुक्त ट्युसन कक्षा सञ्चालन भयो । ट्युसन कक्षा नयाँ बानेश्वरको संसदभबनमा चलेको हो । सो कक्षामा साठी–चालीस पाटीका पूर्ववत दलका गुटीय हेडसरहरू सर्वश्री माननीय उखानप्रसाद र माननीय सुप्रिमो तथा अघिल्लो संविधानसभालाई पेण्डुलम बनाउने कार्यमा महत्वपूर्ण सहयोग गरेका सभामुख मिस्टर लिम्बुवान महोदयहरूले माननीयहरूलाई ट्युसन पढाए । उखानप्रसाद र सुप्रिमोले सैद्धान्तिक र राजनीतिक विषय पढाए भने लिम्बुवान महोदयले नैतिक शिक्षाको विषय पढाए ।

माननीयहरू संसद भवनको हलमा तैनाथ थिए । विगतमा जारभतार जस्ता शत्रु शत्रु बनेर लडेका दुइटा पाटी चुनाउदेखि एउटै बनेपछि उनीहरू पहिलो पटक जमघट भएका थिए । आजको पढाई केकस्तो होला त भनेर सबैमा व्यग्र कुतुहलता जागेको थियो । एकार्कालाई के भनेर बोलाउने, मानसम्मान केकसरी गर्ने, को ठूलो र को सानो भन्नेमा दुबै गोठतिरका माननीयहरूमा अन्यौलता थियो । दुइटा गोठ एकैठाउँ मिलाएपछि माथि त बराबरी हैसियतमा दुइ हेडसर रहने भन्ने सहमति भैसकेको थियो तर तलकाको के कसरी मिल्ने हो क्यै थाहा थिएन । दबैतर्फका माननीयहरूमा आफै ठूलो हुँ भन्ने धङधङी कायमै थियो । यत्तिकैमा संयुक्त कलास सुरु भयो ।

माननीयहरूले प्रतिक्षा गरेर हलमा बसिरहेको बेला हेडसरहरू क्रमशः पालैपालो आआफ्ना गार्डहरूको जुलुसलाई बाहिर राखेर हलभित्र छिरे । सबै माननीयहरू कुर्चीबाट उठेर हेडसरहरूको स्वागतमा तरररर ताली ठटाए । जनयुद्ध लडेकाहरूले ताली ठटाउँदा उता जबजवाला माननीयहरू कतै आफैलाई पो ठटाउने हुन् कि भन्दै एकछिन झस्किए । जबजवालाहरूले ताली ठटाउँदा जनयुद्धवालाहरू एकछिन झस्किए । यी जबजवालाहरूले पुलिसकै हाकिमलाई चुनाउ जिताएर भित्रै छिरा’छन् कतै त्यहीँ भित्र पनि सुराकी गरेर पक्डाउने पो हुन् कि भन्दै आतङ्कित भए । दुबैतिरका झस्किएको अनुहार देखेपछि हेडसरहरूले ‘दाइ काले म पनि काले कालेकाले मिलेर खाउँ भाले’ भन्दै जबज र जनयुद्धको फ्युजन भएकाले कोही पनि कन्फ्युजन नहुन आदेश गरेपछि सबै सम्हालिए । त्यसपछि दुबैतर्फकाले फेरि एकैसाथ ताली ठटाए तररररर ।

माननीयहरूलाई सूर्यछाप गोठतिरका हेडसरले पढाउँदै भने ‘विगतमा हामीले जे जस्तो गरे पनि, जे जस्तो खाए पनि, देशलाई डुबाए पनि यसपटक चाहीँ त्यस्तो गर्न हुँदैन । सालासाली, भाइभतिजा, नाताकुटुम्ब बोकेर मेरो अफिसमा सरुवा बढुवा मिलाउन नआउनुहोला । म कसैको सोर्सफोर्स सुन्नेवाला छैन । अब विकासको काम गर्नु पर्छ । बरु ठेकेदार, उद्योगी, व्यापारीहरू ब्रिफकेस बोकेर सिधै मेरो क्वार्टरमा आउँदा हुन्च । अफिसमा म निस्पक्ष भएर देशको विकास, समृद्धि र उन्नतीको काम मात्रै गर्चु तपाइँहरू पनि त्यहि गर्नुहोला । बिगतमा हिंसाको बाटो समाएर भौँतारिएका लडाकाहरूले यहाँ लडाकु जोस झिकेर उपद्रो नमच्चाउनु होला । अट्ठाइस सालतिर हामीले पनि अलिअलि उपद्रोको अभ्यास गरेका हौँ अब त्यो काम नलाग्ने भएरै हामीले यो खानपिनको बाटो समाएका हौँ । अब यसैबाट समाजवाद ल्याउने हो । आए आउँछ नआए यत्रैसिती । तपाइँहरू पनि ‘घुम्दैफिर्दै रुम्जाटार’को बाटो समाइसकेको हुनाले विगतको धङधङी मेटाइहाल्नुहोला ।’

गोलेघेरे गोठतिरका हेडसरले माननीयहरूलाई पढाउँदै भने ‘मने हाम्रा परमप्रिय आदरणीय गुरु कामरेड मदनले आविष्कार गरेको जबज र हामीले आविष्कार गरेको सुप्रिमोपथको कहिँ न कहिँ फ्युजन भएकाले हामी अहिले एउटै ज्युज्यान भएका हौँ । उहाँहरूले पनि अट्ठाइस सालतिर हिंसा गरेको हामीले पनि दसबर्स हिंसा गरेको, उहाँहरूले पनि माओ त्यागेको हामीले पनि त्यागेको, उहाँहरूले जबज ल्याएको हाम्ले पनि एक्काइसौँ शताब्दी ल्याएको, उहाँले पनि महाकाली प्रभुलाई बुझाउन सहमति गरेको हाम्ले पनि कर्णाली बुझाउन सहमति गरेको त्यसैले हाम्रा बीचमा विगतदेखि नै सहमति मिल्दै आएको हुनाले अब उप्रान्त पाटी पनि एउटै बनाउने सहमति गरेका हौँ । हामी दुवै पाटीका नेताहरूले अहिले एउटै थालमा खाना खाइसकेका छौँ र सहिद, बेपत्ता घाइते, अपाङ्ग, योद्धाहरूका टाउकामा आची गरिसकेका छौँ । हामी दुवै एउटै खाटमा सुतेर हनिमुन मनाइसकेका छौँ, ककटेल खाएका छौँ, हाम्रा आन्द्राभुँडी जोडिइसकेको छ । केही दिनमै पाटी एउटै हुन्छ । अब हाम्रा दुःखका दिन गए सुखका दिन आए । कसैले कसैलाई अर्घेलो देख्नु पर्दैन ।’

यसरी सैद्धान्तिक र राजनीतिक पाठ पढाइसकेपछि मिस्टर लिम्बुवानले माननीयहरूलाई संसदभित्र छिरेपछि कसरी बस्ने, कसरी बोल्ने, कसरी खाने प्युने, दिशा पिसाव कसरी कता फर्केर गर्ने, टेबुल कसरी ठटाउने, उँघ्ने, निदाउने, घुर्ने, हाच्छ्युँ गर्ने, हाइ काड्ने, सुर्ती चुरोट कहाँ कसरी खाने, मोवाइल कसरी कतिवेला चलाउने, सेल्फी कसरी खिच्ने, नारा कस्तो वेला लाउने, कता फर्केर लाउने, विभिन्न मुलुकबाट रैतीहरूलाई आएका राहत सामग्री के कसरी आपूmहरूले लैजाने, विरोधी पाटीका माननीयलाई कसरी सम्बोधन गर्ने, उनीहरू बोल्दा आपूmले समर्थन या विरोध के कसरी गर्ने, हाँजीर कसरी लाउने, रातो पासपोर्ट केकसरी बेच्ने, कुर्ची भाँच्नु परे कताबाट कसरी भाँच्ने, कस्लाई हिर्काउने आदि इत्यादि बारेको नैतिक शिक्षा पढाए । त्यसपछि ट्युसन कक्षा सकियो ।

अन्त्यमा सबै माननीयहरू हलबाट निस्किएर चियापान स्टलतिर लागे । रातो, सेतो, हरियो पहेँलो, कालो रङमा बनाइएका चियापान गरे । एकार्कामा अङ्गालो हालेर सेल्फी खिचाखिच गरे । जनयुद्धका बेला एउटाले आतङ्कारी र अर्काले सुराकी भनेकोमा पछुताउ गर्दै साँक्कसुँक्क, घाँक्कघुँक्क गरे र एकापसमा सिगान पुछापुछ गरे, गला मिलाए । अब उप्रान्त सँगैसँगै खाने–पिउने, सुत्ने–उठ्ने, हाँस्ने–बोल्ने, डुल्ने–घुम्ने, ककटेल मनाउने र आआफ्ना बर्थडेमा केक काटेर जस्न हुस्न मनाउने सहमती गरे ।
२० फागुन २०७४
 

प्रतिक्रिया

सम्बन्धित खवर