काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सहिद सप्ताहको सुरुको दिन अर्थात् १४ फागुनमा देशैभर विभिन्न कार्यक्रम गरी बलिदान दिवस मनाएको छ । अधिकांश जिल्लामा जनयुद्धमा आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान् सहिदहरुको फोटा तथा सालिकमा फूलमाला, अवीर र खादा लगाएर र सहिदहरुको योगदानको बारेमा चर्चा गरी मनाइएको छ भने कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धाहरुलाई सम्मान पत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
काभ्रेमा क्रान्तिकारी माओवादी र नेकपाको संयुक्त आयोजनामा वृहत् सहिद, वेपत्ता योद्धा परिवार र घाइते योद्धा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । जनयुद्धका महान सहिदहरु तिर्थ गौतम, यानप्रसाद गौतम, बद्री तिवारी, प्रदिप गौतम, सुभद्रा चौलागाईं, पुण्य प्रसाद गौतम, बिन्दा चौलागाईं, राम चन्द्र चौलागाईं, रिना रसाइली, सुरेन्द्र रसाइलीलगायतको फोटोमा माल्यार्पणसँगै सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धाहरुलाई सम्मान पत्र प्रदान गरी र दोसल्ला ओढाएर सम्मान गरियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका पिविएम तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा, नेकपाका नेता बाबुराम जगमेरलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
चितवनबाट प्राप्त समाचार अनुसार सहिद सप्ताहमो अवसरमा पहिलो दिन सोमबार जनयुद्धका महान सहिदहरु अनिष कुँवर, उत्तरकुमार गुरुङ र ज्ञानेन्द्र खरेलका परिवारसँग भेटघाट गरिएको छ । देजमोका केस तथा चितवन अध्यक्ष अशोक शर्माका अनुसार सहिद परिवारसँगको भेटघाटमा सहिद परिवारले सहिदको बलिदानलाई नभूल्न र सहिदले देखाएको बर्गसंघर्षको बाटोमा निरन्तर आगाडि बढ्न सुझाव दिएका छन् ।
नेपालगञ्जबाट प्राप्त समाचार अनुसार बाँकेको खजुरा–६ सिमलघारीमा जनयुद्धका महान सहिदहरु दिल बहादुर रम्तेल, वासु वाग्ले, राबृक्ष यादव, कृष्णसेन इच्छुकलगायत जिल्लाका सहिदहरुको फोटामा फुलमाला अबिरसहित दुई मिनेट मौन धारण गरी सहिदहरुलाई स्मरण गरियो । सहिद परिवारहरुलाई दोसल्ला ओढाइ सम्मान गरियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका केस तथा बाँके–बर्दिया इन्चार्ज सङ्कुल, जिल्ला सचिव अर्जुन लगायतले मन्तव्य राख्नुभएको थियो ।
कपिलवस्तुमा क्रान्तिकारी माओवादी जिल्ला पार्टीको आयोजनामा बलिदान दिवस कार्यक्रम सम्पन्न गरियो । पार्टी जिल्ला सचिव आकाशको अध्यक्षतामा भएको कार्यक्रमलाई पार्टी केस तथा जिल्ला इन्चार्ज समिर केसीले बोल्नु भएको थियो । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो ।
नवलपरासीबाट प्राप्त समाचार अनुसार नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासीले जनयुद्धका शहिदहरुको स्मृतिमा बलिदान दिवस मनाएको छ । सोमवार बर्दघाटमा एक कार्यक्रम गरी बलिदान दिवस मनाएको हो । कार्यक्रममा क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य केबी गुरुङले सहिदहरुले देखाएको बाटोमा हिडे मात्र सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुएको छ । जिल्ला पार्टी सेक्रेटरी संकल्पको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य समरले गर्नुभएको थियो भने कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरु विवेक र चोलाले समेत बोल्नुभएको थियो ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार अन्य जिल्लाहरुका पनि विभिन्न कार्यक्रम गरी बलिदान दिवस मनाइएको छ । पार्टीद्वारा वितरित सम्मान पत्र सहिद, वेपत्ता योद्धा परिवार तथा घाइते योद्धाहरुलाई प्रदान गरी सम्मान गरिएको छ । यो क्रम २१ फागुनसम्म निरन्तर चल्ने पार्टी कार्यालय सचिव कगेन्द्रले जानकारी दिनुभयो ।