यो दलालहरुको सरकार हो, प्रचण्डहरुले रोकेर क्रान्ति रोकिन्न : दिनेश शर्मा

यो दलालहरुको सरकार हो, प्रचण्डहरुले रोकेर क्रान्ति रोकिन्न : दिनेश शर्मा

काभ्रे । सहिद सप्ताहको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले संयुक्त रुपमा आयोजना गरेको जनयुद्धका सहिद, वेपत्ता योद्धा परिवार तथा घाइते योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पिविएम तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका केन्द्रीय संयोजक समेत रेहका नेता दिनेश शर्मा‘सागर’ले एमाले अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारलाई दलालहरुको सरकारको संज्ञा दिंदै जनताका समस्याहरु समाधान गर्नका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको विचार व्यक्त गर्नुभएको छ । क्रान्तिको तयारीमा रहेका पार्टीका नेता कार्यकर्तामाथि विनाकारण धरपकड गर्ने र दमन गर्ने गरेको भन्दै नेता सागरले प्रचण्डहरुले रोक्न खोजेर नयाँ जनवादी क्रान्ति नरोकिने चेतावानी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिको सैहियतबाट उहाँले तत्कालीन दशवर्षे जनयुद्धकालमा एमालेले माओवादीका नेता कार्यकर्ताका विरुद्ध सिआइडी सुराकी गरेर ठूलो क्षति पु¥याएको प्रसंग निकाल्दै एमालेमा विलय हुन पुगेका माओवादी केन्द्रका नेता कार्यकर्ताहरुलाई पनि क्रान्तिकारीहरुका विरुद्ध सिआइडी सुराकी नगर्न कडा चेतावानी दिनुभयो र भन्नुभयो, “म सबैलाई चेतावानी दिन चाहन्छु, तपाईहरु क्रान्तिकारी नेता कार्यकर्ताहरुका विरुद्ध नलाग्नुस्, अन्यथा दुःखका साथ भन्नुपर्छ तत्कालीन रुकुमका एमाले नेता यदु गौतकको जस्तै हुनेछ ।”

निकै भावुक र आक्रोशित मुद्रामा प्रस्तुत भएका नेता सागरले क्रान्तिलाई सडकको पेटीमा मिल्काएर जबजको खोस्टो ओड्न पुगेका प्रचण्डले क्रान्ति र बलिदानमाथि सबैभन्दा ठूलो गद्दारी गरेको दावी गर्नुभयो । प्रचण्डकै पूवाग्रही दृष्टिकोण र लापरवाहीका कारण जनयुद्धकालमा यानप्रसाद गौतम‘आलोक’ प्रहरी कारबाहीमा मारिएको दावी गर्दै आलोकलाई सहिद घोषणा गर्न प्रचण्ड कहिल्यै तयार नभएको भन्दै आलोकप्रति प्रचण्डले घोर अपमान गरेको टिप्पणी गर्नुभयो ।

क्रान्तिको प्रक्रिया अगाडि बढाउन छरिएर रहेका सबै क्रान्तिकारीहरु एउटै झण्डामुनि गोलबन्द हुने प्रक्रिया जारी रहेको बताउँदै नेता सागरले सहिद तथा वेपत्ता योद्धाहरुका क्रान्तिका अधुरा सपना पूरा गर्ने प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपाका नेता बाबुराम गजमेरले क्रान्तिका लागि भौतिक सुख सुविधा त्याग्दै फेरि पनि बलिदानीपूर्ण संघर्षमा होमिन क्रान्तिकारीहरु तयार रहनुपर्ने भन्दै क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर मात्र सहिदहरुप्रति सच्चा सम्मान हुने विचार व्यक्त गर्नुभयो ।

क्रान्तिकारी माओवादीका केस तथा काभ्रे सेक्रेटरी सोनाम तामाङले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन नेकपाका काभ्रे इन्चार्ज शरद रसाइलीले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपाका नेता हिमक, माणिक लामा, क्रान्तिकारी माओवादीका केस हरिकृष्ण गजुरेल र सहिद परिवारको तर्फबाट कृष्णप्रसाद गौतमले बोल्नुभएको थियो ।

कोभ्रेको चौरी देउरालीमा भएको कार्यक्रमका प्रमुख अतिथि नेता सागरलगायत अतिथिहरुले सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धालाई क्रान्तिकारी माओवादी र नेकपाका तर्फबाट सम्मान पत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।