वामपन्थी आन्दोलनबारे पैदा भएको भ्रम
सामान्यतया वामपन्थी आन्दोलन भन्नाले वामपन्थी सबैको साझा आन्दोलन वा वामपन्थी आन्दोलनको मूल प्रवाह भन्ने बुझिन्छ । तर जब दक्षिणपन्थीहरुले र प्रतिकृयावादीकरण भैसकेकाहरुले आफूलाई “वामपन्थी” भन्ने गर्दछन्, जब वामपन्थीहरुको जरो किलो उखेल्नका लागि वामपन्थी नामको दुरु पयोग हुन्छ, ती दुई परस्पर विरोधी शक्ति वा व्यक्तिहरुलाई चिनाउने पदावलीका अगाडि बिशेषण थप्नुपर्ने आवश्यकता महशुस हुने गर्दछ । सच्चा वामपन्थीका बिरुद्ध उभिएको नक्कली वामपन्थी यतिखेर नेपालको राजनीतिमा हावी देखिएको छ । यो प्रतिकृयावादी सत्ताको सञ्चालन नै त्यसैले गरिरहेको छ । वाम समर्थक जनतामा त्यसले ठूलो भ्रम पैदा गरिरहेको छ । यो भ्रमलाई चिर्नु, यसबारे पैदा भएको अस्पष्टतालाई स्पष्ट पार्नु एउटा महत्वपूर्ण विषय बन्न गएको छ ।
हुन त वामपन्थी र कम्युनिष्ट ठ्याक्कै एकअर्काका पर्यायवाची शब्द होइनन् । वामपन्थी भनेको विद्यमान प्रतिकृयावादी सत्ताको विरोध र अग्रगामी परिवर्तनको पक्षमा उभिने क्रान्तिकारी शक्ति हो । त्यस प्रकारको शक्ति कम्युनिष्ट नै हुनु पर्दछ भन्ने अनिवार्यता होइन । तर नेपालको सन्दर्भमा भने वामपन्थी र कम्युनिष्ट भनेका एकअर्काको पर्यायवाचीका रुपमा प्रस्तुत हुने गरेको छ । कम्युनिष्ट शक्तिभन्दा भिन्न अन्य क्रान्तिकारी शक्ति अस्तित्वमा देखा नपरेर पनि यो अवस्था आएको हुन सक्दछ । जे होस्, वामपन्थी आन्दोलनको विषयमा नेपालको विशिष्टतामा जुन स्थिति विद्यमान छ, त्यसैका आधारमा नै यहाँ चर्चा गर्ने प्रयास गरिएको छ.
वाम आन्दोलन र कथित वाम गठबन्धन
नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास छ । यसका दुई पक्ष छन् । पहिलो, कम्युनिष्ट पार्टीले नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा, नेपाली समाजको आमुल परिवर्तनका लागि, राष्ट्रियता, जनतन्त्र र जन जीविकाका लागि विगतमा जुन भूमिका खेलेको छ, त्यसबाट जनतामा यो पार्टी प्रति गहिरो समर्थन र विश्वास पनि छ । सामान्यतया, नेपाली जनताले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा लिएका छन् । नेपली समाजमा बहुमत मात्र होइन जनताको दुई तिहाई बहुमत नै कम्युनिष्ट वा वामहरुको समर्थनमा छन् भन्ने आम चर्चा छ । संसारभरि नै कम्युनिज्म विरोधी हावा र हुरी चलिरहेको अवस्थामा नेपालमा यो परिस्थिति कायम हुनु भनेको धेरै महत्वपूर्ण कुरा हो । यसको महत्वलाई नेपालका क्रान्तिकारीहरुले बुझेका छन् । साम्राज्यवादी र विस्तारवादीहरुले पनि यसको महत्वलाई राम्रैसँग बुझेका छन् । नेपालको राजनीतिमा साम्राज्यवादी र विशेषतः विस्तारवादीहरुको चलखेल र हस्तक्षेप जसरी बढिरहेको छ, त्यसले यो तथ्यको राम्रोसँग पुष्टि गर्दछ ।
दोस्रो पक्ष, कम्युनिष्ट वा वाम आन्दोलनभित्रैका अवसरवादी र विश्वासघाती नेताहरुलाई प्रयोग गरेर क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई नै विचलनमा लैजाने, भ्रष्ट पार्ने, तोडफोड गर्ने आदि काममा देशभित्रका र विदेशी प्रतिक्रियावादी शक्तिहरुले सक्रिय भूमिका खेल्र्दै आएका छन् । उनीहरुलाई यस काममा कहिले आंशिक र कहिले ठूला सफलताहरु प्राप्त हुने गरेका छन् । क्रान्तिकारी आन्दोलन एउटा उचाईसम्म पुग्न सक्नु तर अन्तिममा धोका खाएर असफल हुनुको एउटा प्रमुख कारण पनि यही हो ।
गत असोजमा एमाले, माओवादी केन्द्र लगायतका दक्षिणपन्थी पार्टी र संगठनका बीचमा एकता भएर जुन गठबन्धन बन्यो, त्यसलाई अनौठो नाम दिइयो– “वामपन्थी गठबन्धन” । एमाले लामो समयदेखिको दक्षिणपन्थी पार्टी हो र माओवादी केन्द्र (माके) पछिल्लो चरणमा रुपान्तरित भएको दक्षिणपन्थी संगठन हो । दुईवटा दक्षिणपन्थी संगठन मिलेर बनेको गठबन्धन कसरी “वामपन्थी गठवन्धन” भयो ? यो कतैबाट हिसाब गर्दा पनि पुष्टि हुँदैन । आखिर यो पनि देशी, बिदेशी प्रतिक्रियावादी शक्तिहरुले अभ्यास गर्ने गरेको “वामपन्थीको प्रयोग गरेर वामपन्थीलाई समाप्त पार्ने” नीतिको नै निरन्तरता हो । यसमा वामपन्थी आन्दोलनका बिरुद्ध बामपन्थी नाम कै, “वाम गठबन्धन” नामको हतियार प्रयोग गरिएको छ । कथित वाम गठवन्धन अब योजनावद्ध रुपमा सच्चा वामपन्थीहरुलाई समाप्त पार्ने काममा अघि बढिरहेको देखिन्छ । केही दिनअघि मात्र बिराटनगरमा एउटा वामपन्थी युवा संगठनले खुला रुपमा आयोजना गरेको संगठनको आन्तरिक कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेपले यसको स्पष्ट संकेत गरेको छ । कथित वाम गठवन्धन सरकारका बिरोधीहरु माथि दमन गर्ने क्रियाकलाप बढ्दै गयो भने, यसले आफ्ना यस प्रकारका गतिविधिमा अझ विस्तार गर्दै गयो भने, यसलाई नियन्त्रण गर्न सकिएन भने यो गठबन्धन सरकारले सामाजिक फासिवाद लागु गर्ने कुरा निश्चित जस्तै देखिन्छ । “वाम गठवन्धन”को प्रतिक्रियावादी चरित्र अब विस्तारै सतहमा आउँदै गएको छ । यसप्रकार, नेपालका सच्चा वामपन्थीहरुले “वामपन्थी गठबन्धन” सरकारको बिरुद्ध संघर्षमा उत्रनु पर्ने आवश्यकता बन्न गएको छ
संक्रमणकालको अन्त्य भयो वा भएको छैन ?
नेपाली समाज लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको छ । यो संक्रमणकालको अन्त आफ्नो पक्षमा गराउनका लागि राजनीतिक शक्तिहरुका बीचमा प्रतिस्पर्धा पनि भयो । अन्तमा यो संघर्षमा प्रतिक्रियावादी पक्ष विजयी भएको जस्तो देखिएको छ । यसका निमित्त संशोधनवादी, प्रतिक्रियावादी, पश्चगामी, पुनरुत्थानवादी सबै शक्तिहरुका बीचमा एकता र समझदारी कायम भएको छ । यसमा साम्राज्यवादी र विस्तारवादी शक्तिहरु पनि सामेल भएका छन् । यो एकताको श्रृंखला संविधान सभाको विघटन र कथित दोस्रो संविधान सभाको निर्वाचनको बेलादेखि सुरु भएर नयाँ संविधान जारी गर्ने, निर्वाचन गराउने बेलासम्म कायम रहेको थियो । तीन चरणको निर्वाचन भै सकेपछि तिनीहरु सबै एकै स्वरमा चिच्याइरहेका छन् “नेपालमा लामो समयदेखि चल्दै आएको संक्रमण कालको अन्त भएको छ ।”
के साँच्चै संक्रमणकालको अन्त्य भएकै हो त ? नेपालमा पछिल्लो चरणमा जुन संक्रमणकाल पैदा भएको थियो, त्यो क्रान्ति र प्रतिक्रान्तिका बीचमा भएको संघर्षका रुपमा अभिव्यक्त भएको थियो । कुनै समयमा क्रान्तिकारी पंक्तिभित्रै रहेका केही समुहहरु र तिनको नेतृत्वको आत्मसमर्पण र प्रतिक्रान्तिकारी कित्तामा रुपान्तरण भएको छ । अन्तर्राष्ट्रिय रुपमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ र त्यसको असर नेपालको क्रान्तिकारी आन्दोलनमा समेत परेको छ । यी सबै कारणले कम्युनिष्ट वा वामपन्थी आन्दोलन केही कमजोर भएको छ र अस्थायी रुपमा क्रान्तिकारी शक्तिले धक्का खाएको र प्रतिक्रान्तिकारी शक्ति हावी भएको देखिएको छ । यो एउटा श्रृंखलाको अन्त्य भएको मात्र हो कि संक्रमणकाल कै अन्त्य भएको हो ? निश्चित रुपमा एउटा श्रृंखलाको अन्त्य भएर नयाँ श्रृंखला सुरु भएको छ । एउटा पश्चगामी संविधान बनेको छ र त्यसका आधारमा तीन तहको निर्वाचन पनि भै सकेको छ । यसबाट प्रतिक्रान्तिलको एउटा कोर्स पुरा भए जस्तो देखिन्छ । तर, यसले नेपाली समाजमा विद्यमान अन्तर्विरोधको समाधान गर्न सकेको छैन । नेपाली समाजका अन्तर्विरोध झन् चर्किंदै गएका छन् । क्रान्तिकारी शक्तिहरु तुलनात्मकरुपमा कमजोर जस्तो देखिए पनि सकृय रुपमा क्रियाशिल छन् । क्रान्तिकारी आन्दोलनको विकास यतिखेर मात्रात्मक रुपमा अघि बढिरहेको छ । मात्रात्मक हुँदै गुणात्मक विकास हुने हो । मानिसको इच्छाभन्दा स्वतन्त्र यसको विकास भै रहन्छ र नेपालमा त्यो विकास भई पनि रहेको छ । त्यसकारण, अब संक्रमणकालको अन्त्य सदा सदाका लागि भयो भन्ने प्रचार अबैज्ञानिक र असत्य हो ।
लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र ?
नेपालमा जारी भएको संविधानले यतिखेर लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थालाई संस्थागत गरेको घोषणा गरिएको छ । यसलाई एकथरि मानिसहरुले “नेपालमा विगतमा भएका क्रान्तिकारी आन्दोलनको माग पुरा भएकोे” भन्ने प्रचार धुमधामका साथ गरिरहेका छन् । यो भनाई कति सत्य र कति असत्य हो ? नेपाली जनताको ठूलो हिस्सा अहिले पनि यस विषयमा अलमलमा परेको देखिन्छ । यस विषयमा नेपाली समाजमा ठूलो अन्योल छ । यसबारे स्पष्टताको निकै ठूलो खाँचो छ ।
०४७ सालमा जुन संविधान बनेको थियो, त्यसका निर्माता मुख्यतः एमाले र नेपाली कांग्रेस नै थिए । आफैले बनाएको संविधानप्रति स्वभाविक रुपमा यी दुवै पार्टीको नेतृत्व देखि तल्लो पंक्तिसम्म सन्तुष्ट नै देखिन्थे । ती पार्टीमा यसको विरोधको स्वर कतै पनि सुनिएको थिएन । अर्थात् एमाले र नेपाली कांग्रेसले राजतन्त्रात्मक संसदीय व्यवस्थालाई मानिसकेका थिए, त्यसैको पक्षमा उभिएका थिए । तर त्यो संविधानलाई तत्कालिन नेकपा (माओवादी)ले स्वीकारेको थिएन । यो पार्टीले राजतन्त्र र संसदीय व्यवस्था दुवैको अन्त्य गरी नेपालमा नयाँ जनवादी व्यवस्थाको स्थापनाका लागि ०५२ साल फागुन १ गते जनयुद्धको प्रारम्भ गरेको थियो । ०५२ साल फागुन १ गते जनयुद्धको उद्घोष गर्दाखेरीको पर्चा, पोष्टर र सम्पूर्ण दस्तावेजहरुबाट के स्पष्ट छ भने माओवादी जनयुद्धको माग लोकतान्त्रिक गणतन्त्र कदापि थिएन, नयाँ जनवादी गणतन्त्र यसको लक्ष रहेको स्पष्ट रुपमा घोषणा गरिएको थियो । त्यसैगरी तत्कालिन नेकपा (एकता केन्द्र–मसाल)ले पनि राजतन्त्रका बिरुद्ध संघर्ष गर्दै आएको थियो ।
यस प्रकार, के प्रष्ट छ भने नेका र एमालेका लागि लोकतान्त्रिक गणतन्त्र सोचेको भन्दा ठुलो उपलब्धि थियो र संसदीय व्यवस्था त उनीहरुको महान आदर्श नै भैगयो । तर, तत्कालिन नेकपा (माओवादी)बाट आएकाहरुले “जनयुद्धको माग नै यही थियो” भन्ने दुस्प्रचार गर्दै यो पश्चगामी संविधानलाई उत्कृष्ट मान्नु चाहिँ आन्दोलनप्रतिको ठूलो विश्वासघात हो । यो उनीहरु प्रतिक्रियावादी कित्तामा समाहित भएको राम्रो प्रमाण हो ।
अब वामपन्थी आन्दोलनको दिशा के हुनु पर्दछ ? यो यतिखेरका लागि अहम् राजनीतिक महत्वको सवाल हो । माथि उल्लेख भै सकेको छ कि यतिखेर नेपालमा प्रतिक्रियावादी शक्तिको अस्थायी जित भएको छ । तर, सच्चा कम्युनिष्ट र वामपन्थी शक्तिले आत्मसमर्पण गरेका छैनन् र गर्ने पनि छैनन् । उनीहरु आफ्नो लक्षमा झन् दृढ भएर अघि बढिरहेका छन् । अबको संघर्ष जनगणतन्त्रको प्राप्तिका लागि हुनेछ । क्रान्तिकारीहरुको रोजाई जनगणतन्त्र हो भने प्रतिक्रियावादीहरुको रोजाई संसदीय लोकतान्त्रिक गणतन्त्र हो । नेपाली समाजको आमूल परिवर्तनका लागि जनगणतन्त्रको स्थापना गर्नु नै यतिखेर नेपालका कम्युनिष्ट र वामपन्थी आन्दोलनको सही कार्यभार हो । जनगणतन्त्रको मागलाई केन्द्रमा राखेर अघि बढिरहेको सच्चा कम्युनिष्ट र वामपन्थी शक्ति नै वास्तवमा क्रान्तिकारी वैकल्पिक शक्ति हो ।
०७४ फाल्गुण १३ गते