डिभिजन–२ को उपाधि चुम्न नेपालले पायो २ सय ७८ रनको लक्ष्य

डिभिजन–२ को उपाधि चुम्न नेपालले पायो २ सय ७८ रनको लक्ष्य

काठमाडौं, फागुन ३ । विश्व क्रिकेट लिग डिभिजन दुईको फाइनल खेलमा नेपालले २ सय ७८ रनको लक्ष्य पाएको छ । नामिबियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ७७ रन जोडेको छ ।

यूएईका ओपनर अस्फाक अहमदले शतकीय पारी खेलेपछि यूएईले सो स्कोर बनाएको हो । अस्फाकले १ सय २३ बलको सामना गर्दै १ सय १४ रन बनाएका थिए । सो क्रममा उनले १० चौका र ३ छक्का प्रहार गरे ।

यस्तै अर्का ओपनर तथा कप्तान रोहन मुस्तफाले ५१ रनको पारी खेले । ७४ बलको सामना गर्दै उनले ७ चौका प्रहार गरे । रमिज सेहजादले ४१ तथा साइमन अनवरले ४० रन जोडे ।

यसअघिका नेपालका बलरहरु उत्कृष्ट लयमा भएपनि यूएईविरुद्धको फाइनलमा भने उनीहरुको प्रदर्शन औषत रह्यो । बसन्त रेग्मी, सोमपाल कामी र सन्दीप लामिछानेले नेपाललाई १ विकेट दिलाए ।

आजको खेलमा नेपालले युइईलाई हराएमा च्याम्पियन मात्र बन्ने छैन, मार्च ४ तारिखबाट जिम्वावेमा हुने विश्वकप छनोटमा कठिन टिमसँग खेल्नुपर्ने हुन्छ । नेपालले यो खेलमा जित हासिल गरेमा विश्वकप छनोटको समूह ए बाट खेल्नेछ । जहाँ, वेष्ट इण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स र पपुवा न्यूगिनी रहेको छ भने पराजित भएर उपविजेतामा सीमित भए नेपालले समूह बी बाट खेल्नुपर्नेछ । समूह बी मा घरेलु टोली जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

विश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह चरणमा सबै टिमले एक अर्कासँग १÷१ खेल खेल्नेछन् ।

त्यसपछि दुवै समूहबाट उत्कृष्ट तीनमा स्थान बनाउने टिम सुपर ६ चरण खेल्न छनौट हुनेछ । समूह चरणमा पाएको अंकसमेत सुपर ६ चरणमा जोडिनेछ । सुपर ६ चरणपछि फाइनल पुग्ने उत्कृष्ट २ टिम विश्वकप २०१९ खेल्न छनौट हुनेछ ।