‘सिंहदरबारको अधिकार थाहा छैन, भ्रष्टाचार चाहिं पक्कै पुगेको छ गाउँ गाउँमा’

‘सिंहदरबारको अधिकार थाहा छैन, भ्रष्टाचार चाहिं पक्कै पुगेको छ गाउँ गाउँमा’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि सिंहदरबारमा हुने भ्रष्टाचार संस्थागत रुपमा गाउँ गाउँमा पुगेको दावी गर्नुभएको छ । मोर्चाले शुक्रबार काठमाडौंमा गरेको “नेपालको वर्तमान राजनीतिक स्थिति र अग्रगामी निकासको प्रश्न” विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले भन्नुभयो, “तीनै तहको निर्वाचन सम्पन्न भएपछिका गतिविधिहरुलाई हेर्ने हो भने अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अझ विकराल बनेर गएका छन् । संसदवादी पार्टीका नेताहरुले चुनावअघि स्थायित्व र समृद्धिको मात्र होइन, सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउने नारा लगाएका थिए, सिंहदरबारको अधिकार चाहिं थाहा छैन, भ्रष्टाचार भने पक्कै पुगेको छ अहिले गाउँ गाउँमा ।”

“नेपाली भूमि मिचिदा चुँसम्म नबोल्ने संसदवादी दलका नेताहरु कुटनीतिक मर्यादा उलंघन गरेर नबोलाइकन आफै आएकी भारतीय विदेशमन्त्रीलाई लाइन लागेर भेट्न गए । र, उनीहरुले अँध्यारो कोठाभित्र घण्टौं वनअनवन साउती गरेर राष्ट्रघाती वाचा गरेका छन् । अब बन्ने सरकारले अझ ठूलो राष्ट्रघात गर्ने यी पूर्वसंकेतहरु हुन् ।” उहाँले भन्नुभयो, “प्रधानमन्त्री नहुँदै प्रधानमन्त्रीको हैसियतमा बधाई दिनु र त्यही हाउभाउमा ओलीले स्वराजसँग भेटघाट र साउती गर्नुले उनी दिल्लीको नयाँ एजेण्ट बन्न तयार भइसकेको प्रष्ट हुन्छ । उनको खोक्रो, ढोगी र नक्कली राष्ट्रवादको मुकुण्डो मोदीले उतारिदिएपछि उनको भ्रमबाट जनता मुक्त हुँदै गएका छन् ।”

संसदवादी दलका नेताहरुले बाँडेको स्थायित्व र समृद्धिको नारा पनि राष्ट्रियताको जस्तै खाक्रो, ढोगी, नक्कली र झुठको पुलिन्दाभन्दा केही होइन भन्ने कुरा उनीहरुकै क्रियाकलापले पुष्टि गर्दै लगेको भन्दै अध्यक्ष गजुरेलले त्यसका लागि बृद्धभत्तादेखि प्रदेश राजधानीको तानातानसम्मको उनीहरुबीचको खिचातानीलाई हेरे पुग्ने तर्क गर्नुभयो ।

मोर्चाका सचिव परि थापाको अध्यक्षता र कार्यालय सदस्य पवनमान श्रेष्ठको संचालनमा भएको उक्त अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष गजुरेलले मुलुकको सिंगो राजनीतिक स्थिति देश र जनताको हितविपरीत अगाडि बढिरहेको विश्लेषण गर्दै विगतमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी तथा जनजाति आन्दोलनले परिकल्पना गरेको जनवादी राज्यव्यवस्था स्थापना नगरेसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको समाधान नहुने दावी गर्नुभयो । त्यसका लागि सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध भएर नयाँ जनवादी क्रान्तिको थालनी गर्ने प्रक्रिया प्रारम्भ भइसकेको प्रसंग निकाल्दै अध्यक्ष गजुरेलले देशभक्त र जनगणतान्त्रिक शक्तिहरुलाई एकताबद्ध गर्न क्रान्तिकारी माओवादी पार्टीले पहल लिइरहेको बताउनु भयो ।

कार्यक्रममा उहाँले नेकपा (विप्लव) र नेकपा (ऋषि कट्टेल)सँग राष्ट्रियता, जनतन्त्र र जनजीविका विषयका कार्यगत एकता गरेर जाने सहमति बनिसकेको र फाल्गुन १ गतेको जनयुद्ध दिवस भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा संयुक्त रुपमा मनाउने निर्णय गरिएको पनि जानकारी दिनुभयो ।