‘क्रान्तिकारी पत्रकारहरुले क्रान्तिका निम्ति कलम चलाउनुपर्छ’

‘क्रान्तिकारी पत्रकारहरुले क्रान्तिका निम्ति कलम चलाउनुपर्छ’

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ ३ नं. प्रदेशले आयोजना गरेको दुईदिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न गरेको छ । तालिमको समापन सत्रलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी ३ नं. प्रदेश इन्चार्ज रामसिंह श्रीसले क्रान्तिकारी पत्रकारहरुले क्रान्तिका निम्ति कलम चलाउनु पर्ने विचार व्यक्त गर्नुभएको छ ।

पार्टी कार्यालय बुद्धनगरमा आयोजित उक्त कार्यक्रममा उहाँले क्रान्तिकारी पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले नाम अनुसारकै काम गर्नुपर्ने आवश्यकता औल्याउँदै समाजका उपेक्षित, उत्पीडित, शोषित वर्ग, मजदुर किसान तथा सर्वहारा वर्गका अधिकारको पक्षमा कमल चलाउन प्रशिक्षार्थी पत्रकारहरुलाई आग्रह गर्नुभयोे ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले वर्गीय समाजमा सबै विषयजस्तै पत्रकारिता पनि वर्गीय हुने भन्दै क्रान्तिकारी पत्रकारहरुमा वर्गप्रेम, वर्गपक्षधरता, वर्गदृष्टिकोण र वर्गप्रतिको निष्ठाको खाँचो अझ बढेर गएको कुरा बताउनु भयो ।
मडियालाई वर्गसत्ताले हतियारको रुपमा प्रयोग गर्दै आएको चर्चा गर्दै अध्यक्ष राउतले मूलधारका भनिने ठूला लगानीका मिडियाहरु दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाको हतियार बनेर आमूल परिवर्तनका पक्षधर क्रान्तिकारी शक्तिहरुका विरुद्ध प्रयोग भइरहेको दावी गर्नुभयो र भन्नुभयो, “सर्वहारावर्ग तथा क्रान्तिकारी शक्तिको आफ्नै मिडिया नभईकन जनतामा सही विचार तथा सूचनाको सम्प्रेषण गर्न सकिन्न । वर्तमान सूचना भूमण्डलीकृत साम्राज्यवादको दुनियाँमा अत्याधुनिक सूचना प्रविधिले युक्त आफ्नै संचारमाध्यमको विकास नगरी सर्वहारावर्गले क्रान्तिको प्रक्रिया अगाडि बढाउन सक्दैन । सूचना प्रविधि क्रान्तिका अभिन्न अंग पनि हुन्, अस्त्र पनि हुन् ।”

अग्रज पत्रकार रामचन्द्र हुमागाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशिक्षकको तर्फबाट केदारनाथ गौतमले पत्रकारिताको आधारभूत ज्ञानविनै आफूलाई पत्रकार हुँ भन्नेहरुको कमी नरहेको चर्चा गर्दै दुईदिने पत्रकारिता तालिमको आधारमा चासो र जिज्ञासा राखेर निरन्तर अभ्यास गरे राम्रो पत्रकार बन्न सकिने धारणा राख्नुभयो ।

पत्रकार रनसुर महतराले संचालन गरेको उक्त समापन कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठले क्रान्तिकारी माओवादी सम्बद्ध व्यक्तिहरुले चलाएका मिडियाहरुको पनि एउटा नेटवर्क बनाएर जानुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य तथा ३ नं. प्रदेश पार्टीसचिव दिनेश शर्मा‘सागर’, पार्टी केस हरिकृष्ण गजुरेललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

दुई दिने आधारभूत पत्रकारिता तालिममा ३ नं. प्रदेशका मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, ललितपुर, काठमाडौं लगायतका जिल्लाहरुबाट तालिममा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । पत्रकारद्वय केदारनाथ गौतम र विधुर ढकालले प्रशिक्षकको रुपमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा आयोजक संगठन क्रान्तिकारी पत्रकार महासंघको ३ नं. प्रदेशले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र प्रशिक्षकहरुलाई धन्यवादसहितको आभार पत्र प्रदान गरेको थियो । क्रान्तिकारी पत्रकार महासंघले ७ वटै प्रदेशमा यस्तो प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ ।