सस्तोमा सुन दिन्छु भन्दै ठगी गर्ने ३ व्यक्ति पक्राउ

सस्तोमा सुन दिन्छु भन्दै ठगी गर्ने ३ व्यक्ति पक्राउ

काठमाडौं, २८ माघ । सस्तोमा सुन दिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनेर ठगी गरेको उजुरी परेपछि प्रहरीले दाङका ३२ वर्षका नरेन्द्र महरा, दार्चुलाका ३३ वर्षका इन्द्रसिंह धामी र २८ वर्षका भुपेन्द्र सिंह धामीलाई माघ २५ गते पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले २० लाख ५० हजार रुपैयाँ, आइफोन सिक्स मोवाइल र बा ११ च ७६४२ नम्बरको गाडी बरामद गरेको छ । प्रहरीले उनीहरुकै सूचनाको आधारमा रेड पाण्डाको छाला तस्करीमा संलग्न र चितवनका २४ वर्षका भरतविलास पराजुलीलाई पक्राउ गरेको छ ।

ठगी आरोपमा पक्राउ परेका नरेन्द्र महराको मोवाइलमा रेडपाण्डाको फोटो देखिएपछि अनुसन्धान गर्दै जाँदा पराजुली पक्राउ परेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । पराजुलीलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ भने अरुको महानगरी प्रहरी परिसरले नै अनुसन्धान गरिरहेको छ ।