ब्यारियर क्रसपछि मात्र खसे मुट्ठीमा भोट

प्रकाशित मिति : २०७४ पुस ३

- कुमार शाह

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल चुनाव उपयोगको नीति लिएर देशभरका जनता माझ पुग्यो । जनताले मोर्चा र यसका उम्मेदवार प्रतिनिधिहरुलाई स्वागत गरे । पहिलो पटक पुगेका प्रतिनिधिहरुले आफ्ना उद्देश्यहरु जनता माझ राखे । जनताले भनेका थिए– ‘समयले मिच्दै ल्यायो, पहिलो पटक आउनु भयो, प्रतिनिधिमूलक भोट तपाईं जनप्रतिनिधिहरु र मोर्चालाई ।’ सुरुको भेटघाट र स्वागतमै अभिव्यक्त भयो जनमत ।

कुराकानी चल्दै गए । पुराना दलका नेताहरुले जति भट्टयाए पनि राजनीतिक व्यवस्था फेरिएको अनुभूत छैन जनतामा । उनीहरु सहजै भन्थे– ‘हामीले खोजेको सिङ्गो व्यवस्थाको विकल्प हो, कुनै एउटा पार्टीको विकल्प वा केही नेताहरुको अनुहारमा फेरबदल होइन ।’ यसले २०५२ सालमा राजासहितको संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी गणतन्त्र स्थापनाको नारा झल्यास्स सम्झना गरायो । हुन पनि आज भन्दा २४÷२५ वर्ष पहिले अर्थात् २०५२ साल भन्दा पहिल्यै गाउँगाउँका घरका भित्ताहरुमा लेखिएको थियो– ‘संसदीय व्यवस्थाको भ्रममा नपरौं, नयाँ जनवादी क्राान्तिको तयारी गरौं !’ त्यसपछि २०५२ फाल्गुण महिनादेखि ‘महान् जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ विद्रोह सुरु गरिएको थियो । जनताको निष्कर्ष थियो– ‘युद्ध लडियो तर त्यो व्यवस्था आएन ।’

त्यसपछि विकास निर्माणका कुराहरु आए । विकास के के भयो भने हुन्छ ? जनता आफैले भने –‘प्रकृतिले नेपाल र नेपालीहरुलाई जे जे उपहार दिएका छन्, तिनैलाई सदुपयोग गरेर । नेपालका नदीनालाहरु, वनजङ्गल, खानीहरु, जडीबुटी, प्राकृतिक सौन्दर्यता, नेपाली स्थानीय सीप, कला र प्रविधि, नेपाली जनशक्तिका साथै नेपालको विशिष्टतामैत्री आधुनिक प्रविधिको उचित र सन्तुलित रुपमा प्रयोग र सदुपयोग भए नेपालको विकास हुन्छ ।’

के गर्नु पर्छ त्यसका लागि भनेर छलफल पनि चले । कृषिमैत्री उद्योगहरुको स्थापना, खानीसँग सम्बन्धित उद्योगहरुको स्थापना, वनजङ्गलमैत्री काष्ठ उद्योगहरुको सुरुआत, नदीहरुबाट विजुली उत्पादन, शिक्षामा आधुनिकीकरण र उद्योग, विकास तथा प्रविधिमैत्री स्कूल, क्याम्पस र पाठ्यक्रम तथा पाठ्यपुस्तकको निर्माण र अध्ययन अध्यापन, भौतिक पूर्वाधार निर्माण र जनताको अग्राधिकार अनि जनसहभागितामूलक विकासको थालनी भए देशमा विकास हुन्छ । यी सबै घोकेझैं दूरदराजका जनताका मुखमा कण्ठस्थ थिए ।

‘यी सबै विकास गर्न राजनीतिक क्रान्ति अझैं आवश्यक छ कि सकियो ?’ यसपछि भने अलमल छायो । एक कुनाबाट आवाज आयो– ‘सकियो नै भन्छन् ।’ कसले भन्छन् भनी सोध्दा जवाफ आयो– ‘माकेहरुले’ । छलफल चलिरह्यो । नेपालका सप्तकोशी, सप्त गण्डकी र सप्त कर्णाली जस्ता ठूल्ठूला जलाधारका सहायक नदीहरु ६ हजार भन्दा पनि बढि छन् । तर ती जलाधारहरुमध्ये सप्तकोशी र सप्तगण्डकी नेपाली काङ्ग्रेसले भारतसँग असमान सन्धिसम्झौता गरेर बेचेको छ । सप्तकर्णाली एमाओवादी हुँदा माओवादी केन्द्रले भारतलाई त्यस्तै असमान सन्धिसम्झौता गरी बेचेको छ । महाकाली नदी एमालेले त्यस्तै प्रकृतिको सम्झौता गरेर भारतलाई बेचेको छ । देशका सुन, तामा, फलाम, हिरा, कोइला, सिसा, सिमेन्ट आदि खानीहरु दलाल र विचौलियाहरुको नाममा दर्ता गरिएका छन् ।

विकासका लागि ती प्राकृतिक स्रोतसाधनहरु कसको हुनुपर्छ भनेर छलफल पनि भयो । त्यो देश र जनताका नाममा हुनुपर्छ । स्थानीय जनतालाई अग्रधिकार दिलाउनु पर्छ । यसका लागि राजनीतिक अब हुने सङ्घर्षलाई अझ व्यापक बनाउँदै राष्ट्रिय मुक्ति आन्दोलनको सङ्घर्षको स्तरमा उठाउनु पर्छ भन्ने कुराहरु भए । यसका साथै देशमा भएका स्रोतसाधनहरु अरुलाई बेच्ने र देशभित्र विकासे कायापलट गरिन्छ भन्नेहरुको काइते कुराहरुको पनि धज्जी उड्न पुग्यो । यति कुरा भएपछि राजनीतिक क्रान्ति अझैं पूरा नभइसकेको निष्कर्षमा पुगियो । त्यसका लागि मत÷विचारको संरक्षण र त्यसको नयाँ प्रक्रियाद्वारा विकास गरिनुपर्ने कुराहरु भए । तै पनि मुट्ठीमा आफ्ना मत खसाल्न जाने बाटाहरुमा तपसिलका अबरोधहरु खडा थिए ।

यी मध्ये पहिलो प्राविधिक अबरोध थियो ः गठबन्धनको दबदबा । गठबन्धनको बहुलट्ठीपन गाउँ÷शहरमा निकै चर्को थियो । दादागिरि, हप्कीदप्की र होहल्ला निकै थियो । दोस्रो अवरोध थियो ः भोजभतेर । हरेक ठाउँमा भोजभतेर चलेको थियो । राँगा, बोका, हाँस, कुखुरा काटेर नियमित भतेर चलाइएको थियो । तेस्रो अवरोध थियो ः होटेल र भट्टीहरु २४अ‍ै घण्टा खुला । भोटर, समर्थक र शुभचिन्तकहरुका लागि खुला गरिएका यी पसल र भट्टीहरुमा दिनैजसो मेला लागेको थियो । चौथो थियोः हातहातमा नगद पैसा ।

साम, दाम, दण्ड र भेदका यी सबै अबरोधहरु क्रस गरेर मात्र मुट्ठी चिन्हमा भोट खसेका थिए ।