म्यादी प्रहरीको आन्दोलनमाथि प्रहरी दमन

प्रकाशित मिति : २०७४ पुस ३

दोलखा । आफूहरुको खाइपाई आउने रासन भत्तामा प्रहरीका हाकिमहरुले अनियमितता गरेको र महिला म्यादी प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै आन्दोलनरत म्यादी प्रहरीहरुमाथि प्रहरीले दमन गरेको छ ।

सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै म्यादी प्रहरीहरु आन्दोलित भएका हुन् ।

सदरमुकाम चरिकोटमा सोमबार आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएकी छिन् । उनको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ । म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।

खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक ६० काटे पनि जिप्रकाले म्यादीबाट भने ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरीहरुले बताएका छन् । जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ ।

आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता भएको भए पनि सहमति हुन नसकेको समाचार स्रोतले जनाएको छ ।