निर्वाचन परिणामले क्रान्तिकारीहरुलाई दिएको सन्देश

प्रकाशित मिति : २०७४ पुस ३

- रामसिंह श्रीस

२०७४ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । परिणामले सत्तारुढ दल नेपाली कांग्रेसको नराम्रो पराजय भएको छ भने कथित वामगठबन्धनको करिव दुई तिहाई बहुमत आएको छ । थे्रस होल्डले गर्दा अब संसदमा दलको रुपमा ५ दलको मात्र प्रतिनिधित्व हुनेछ । निर्वाचनमा भाग लिएका थुपै्र राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुन सकेन । यो निर्वाचनको बहिष्कार गरेको राजनीतिक दलको पक्षमा पनि सशक्त जन लहर देखिएन । बम विस्फोट गराउने बाहेक जनताहरु सडकमा निस्केर बहिष्कार कार्यक्रमलाई अगाडि बढाएको देखिएन । यहाँ यिनै विषयहरुमा संक्षेपमा चर्चा गरिएको छ ।

यो मत परिणामबाट के कुरा प्रष्ट भयो भने जनताहरु नेपाली कांग्रेस देखि रुष्ट भएका रहेछन् । किनभने सत्तामा रहेर साम, दाम, दण्ड, भेद सबै कुरा अपनाउँदा पनि नेपाली कांग्रेसले निर्वाचनमा बहुमत ल्याउन सकेन । प्रत्यक्ष निर्वाचन तर्फे उसको हार अत्यन्तै लज्जास्पद भयो । नेकाको विकल्पमा जनताहरुले कथित वामगठबन्धन मुख्यत एमालेलाई राजेको निर्वाचन परिणामले देखायो । यस्तो हुनुमा कथित वामगठबन्धन एवं एमाले प्रति अझै जनतामा भ्रम रहेको कुरा नै हो । आम सर्वसाधरण जनतालाई कथित वामगठबन्धन(जसलाई कम्युनिष्ट पार्टीहरु पनि भनिन्छ)ले देश जनताको लागि केही गरी हाल्छन् की भन्ने झिनो आशा गरिरहेका छन् । त्यसैको आधारमा कथित वामगठबन्धन मुख्यत एमालेलाई जनताको मत गएको हो । एमालेले बढी सिट जित्नुको पछाडि अर्को कारण उनीहरुको संगठनात्मक अवस्था अरुको तुलनामा सुदृढ छ । त्यति मात्र होइन यो संसदीय चुनावमा पैसाले ठूलो भूमिका खेल्छ । एमालेले पनि त्यो कुरामा (पैसा खर्च गर्ने कुरा)मा कुनै कमि राखेको छैन । संसदीय चुनावमा व्यक्त मतलाई निश्पक्ष जनमत भन्न सकिदैन । किन की पैसा, डर, धाक, सत्ता, धाधली आदि कुराहरुले यथेस्ट प्रभाव पारेको हुन्छ । चुनावको बेलामा भोज भतेर गरेको, ठाउँठाउँमा पैसा कपडा वितरण गरेको जुन समाचारहरु प्रकाशित भए त्यसले त्यहि कुरा बताउँछ ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि यो निर्वाचनलाई उपयोग गर्ने नीति लिएको थियो र निर्वाचनमा उम्मेदवारहरु उठाएको थियो । देजमो नेपालले निर्वाचनमा संसदीय व्यवस्थाको भण्डाफोर र क्रान्तिको तयारी गर्ने कुरालाई मुख्य जोड दिएको थियो । देजमो नेपालले अहिलेको संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो, अहिलेको संविधान प्रतिक्रियावादी संविधान हो र अहिले नेपालको राज्य सत्ता दलाल, नोकरशाही र सामन्तवर्गको हातमा छ भन्ने कुरालाई जनताको बिचमा लैजाने प्रयास ग¥यो । यो संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएको हुनाले यो व्यवस्था अन्तरगत हुने चुनावबाट जुनसुकै दल वा व्यक्ति निर्वाचित भएर सरकारमा गएपनि आम श्रमिक जनताको आधाभूत समस्याहरु समाधान हुन सक्दैन, व्यक्ति र पार्टीको विकल्प खोज्ने भन्दा पनि व्यवस्थाको विकल्प नै खोज्नु पर्दछ र संसदीय व्यवस्था होइन जनवादी व्यवस्था प्राप्त गर्नको लागि क्रान्तिको तयारी गर्नु पर्दछ भन्ने अवधारणा देजमो नेपालले जनताको बीचमा लग्यो । उसले आफ्नो चुनावी घोषणापत्रमा अन्य पार्टीहरुले जस्तो विकाश र सम्वृद्धिको मात्र कुरा नगरेर विकाश निर्माणका साथै प्रतिक्रियावादी संसदीय व्यवस्थाको भण्डाफोर र नयाँ जनवादी क्रान्तिको लागि आधार तयार पार्ने कुरामा मुख्य जोड दिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पक्षमा उल्लेखिय जनमत आएन । त्यो अवस्थामा प्रतिक्रियावादी तथा संशोधनवादीहरुले नेपाली जनताले अव क्रान्ति र परिर्वतन होइन सुधार र विकाश चाहेका छन् भन्ने तर्फहरु पनि गर्न थालेका छन् । तर यो तर्क सहि होइन । यसको वास्तविक तथ्य र कारणहरु फरक छन् । क्रान्तिकारीहरुको लागि संसदीय व्यवस्था बेकम्मा भएपनि जनताको दृष्टिकोणमा त्यो हुन सकिरहेको छैन । आम शोषित, पीडित नेपाली जनताले अझैपनि संसदीय व्यवस्थाको चरित्रलाई बुझि सकेका छैनन् । प्रतिक्रियावादी र अवसरवादी शक्तिहरुले यो व्यवस्था, यो संविधान सहि छ खाली राम्रा पार्टी र व्यक्तिले चुनाव जितेर सरकारमा नपुगेका कारणले नेपाली जनताले यो दुख पाइरहेका हुन भन्ने जुन भ्रम छरिरहेका छन् त्यो भ्रममा अझै पनि नेपाली जनताहरु छन् । त्यसकारणले पनि क्रान्तिद्वारा यो प्रतिक्रियावादी व्यवस्थामा आमूल परिवर्तन चाहने शक्ति देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको पक्षमा उल्लेख मत आउन सकेन । यसको पक्षमा जे जति मतहरु आए त्यो क्रान्ति र परिवर्तनको पक्षमा आएको जनमत हो ।

नेपाली आम शोषित पिडित जनतामा यो प्रतिक्रियावादी व्यवस्था र संविधान प्रति जुन प्रकारको भ्रम छ त्यसलाई चिर्ने काम क्रान्तिकारीहरुको हो । प्रतिक्रियावादी शक्तिहरुले एउटा प्रतिक्रियावादी शक्तिहरुको विकल्पमा अर्को प्रतिक्रियावादी शक्ति निर्माण गर्न प्रयत्न गरिरहेका छन् । त्यो प्रयत्नलाई क्रान्तिकारीहरुले असफल वनाउन सक्नु पर्दछ र प्रतिक्रियावादी शक्तिहरुको विकल्पमा क्रान्तिकारी शक्ति निर्माण गर्नु पर्दछ । तर यो काम अत्यन्तै कठिन र जटिल छ । त्यसकारण कति पनि विचलित नभइकन जनतालाई क्रान्तिकारी चेतना दिन वैचारिक, राजनीतिक र संगठनात्मक काममा क्रान्तिकारीहरु दृढतापूर्वक लाग्नु आजको आवश्यकता हो । यसको लागि क्रान्तिकारी धैर्यताको र निरन्तर क्रियाशीलताको आवश्यकता हुन्छ । यसको लागि निम्न पुँजिवादी प्रवृत्तिको विरुद्ध दृढतापूर्वक संघर्ष गर्न जरुरी छ । किनभने निम्न पुँजिवादी अधैर्यताले दुइवटा गलत दिशातिर लैजाने सम्भावना हुन्छ । एउटा दक्षिणपन्थी अवसरवादी दिशातिर लैजाने खतरा हुन्छ र यो खतरा भनेको अब केही हुन्न सुधारवादी बाटोमा जानुपर्दछ भन्ने दृष्टिकोण उत्पन्न गराउँछ र त्यसले अन्ततः प्रतिक्रियावादीको ठाउँमा पु¥याउँछ । अर्को खतरा भनेको आम शोषित पीडित जनतालाई क्रान्तिकारी चेतनाले तयार पार्न क्रान्तिको तयारी गर्न मेहनत गर्ने भन्दा पनि तुरुन्तै क्रान्तिको लागि होमिने उग्रवामपन्थी गल्ती तिर लैजान्छ । आम शोषित पीडित जनतालाई क्रान्तिकारी चेतले शुसजित गर्ने काम भनेको अत्यन्तै कठिन काम हो त्यसकारण क्रान्तिकारीहरु आफ्नो कमि कमजोरीहरुलाई सच्याउँदै क्रान्तिको तयारीमा निरन्तर लाग्नु पर्दछ । यही नै क्रान्तिकारीहरुको लागि एक मात्र विकल्प हो ।

देजमो नेपाले चुनावमा भाग लिदा बहुमत ल्याउने सरकारमा जाने भनेको छैन । उसले त चुनावको माध्यमबाट जनतालाई क्रान्तिको आवश्यकताको वोध गराउने, प्रतिक्रियावादी र अवसरवादीहरुले छरेको भ्रमहरुको भण्डाफोर गर्ने र क्रान्तिको तयारी गर्ने उद्देश्यका साथ चुनावमा भाग लिएको थियो । त्यसकारण यसको पक्षमा जे जति जनमत आएका छ त्यसलाई संगठित गर्दै कतिपनि विचलित नभइकन क्रान्तिको तयारीमा लाग्नु पर्दछ । क्रान्तिको तयारीमा लाग्नु भनेको पहिलो काम आम शोषित पीडित जनतालाई क्रान्तिकारी चेतनाले सुसजित पार्नु र लड्नको लागि तयार पार्नु नै हो । त्यो काममा क्रान्तिकारीहरु आजै देखि गम्भीरतापूर्वक लाग्न जरुरी छ ।